स्वास्थ्य मन्त्रालय : सभा, जुलुस र भिडभाड नगर्न आग्रह(विज्ञप्तिसहित)

स्वास्थ्य मन्त्रालय : सभा, जुलुस र भिडभाड नगर्न आग्रह(विज्ञप्तिसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ८, २०७७

 काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सभा, जुलुस र भीडभाड नगर्न सबैमा आग्रह गरेको छ । छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि त्यसको असर नेपालमा पनि पर्न सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको हो । 

 मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २०७७ चैत्र ८ गते आइतबार विज्ञप्ति जारी गर्दै भारतमा कोरोना भाइरस सङ्क्रमण बढ्दो क्रममा रहेकाले नेपालमा पनि सङ्क्रमण बढ्न सक्ने भन्दै सचेत हुन आग्रह गर्नुभएको हो । सङ्क्रमित बढ्न सक्ने भएकाले सभा, गोष्ठी, जुलुस, र्‍याली, भेला, जमघट, सेमिनार, बैठक तथा भीडभाड हुने व्यावसायिक कार्यहरु नगर्न विज्ञप्तिमा उल्लेख छ । भौतिक दूरी कायम राख्न, मास्कको अनिवार्य प्रयोग गर्न, साबुनपानीले राम्रोसँग हात धुन, स्यानिटाइजरको प्रयोगलगायत मापदण्डको अनिवार्यरुपमा पालना गर्न मन्त्रालयले विज्ञप्तिमार्फत सबैमा अनुरोध गरेको छ । 

भारतमा पछिल्लो समय एकै दिन ४३ हजारभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । नेपालमा विगत २४ घण्टामा ७७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ७५ हजार ९०६ पुगेको छ । हालसम्म कोरोनाबाट तीन हजार १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जारी प्रेस विज्ञप्ति