श्रीलंकामा शृंखलाबद्ध विस्फोट, २०७ को मृत्यु

श्रीलंकामा शृंखलाबद्ध विस्फोट, २०७ को मृत्यु

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ९, २०७६

काठमाडाैं । श्रीलंकामा भएको शृंखलाबद्ध बम विस्फोटमा परी कम्तीमा दुई सय सातजनाको ज्यान गएको छ भने चार सय ५० भन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ । होटेल र चर्चलाई लक्षित गरी आइतबार आठ स्थानमा बम आक्रमण गरिएको छ । राजधानी कोलम्बोमा मात्रै ६ स्थानमा विस्फोट भएको छ । मारिनेमध्ये करिब ३० जना विदेशी छन् । 

राजधानीका चारवटा होटेलमा विस्फोट गराइएको छ । सांग्रिला, किंग्सबरी, सिनामन ग्रान्ड र देहीवाला चिडियाखानानजिकैको एक होटेल आक्रमणको निशानामा परेका छन् । त्यस्तै, नेगोम्बो, बात्तिकालोआ र कोलम्बोको कोच्चिकाडे जिल्लास्थित चर्चमा पनि विस्फोट भएको छ । चर्चमा विस्फोट हुँदा इसाई धर्मावलम्बीहरू इस्टर पर्वको अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी थिए ।

आक्रमणको जिम्मा कसैले लिएको छैन । त्यसैले आक्रमण कसले गराएको हो, स्पष्ट हुन सकेको छैन । आक्रमणमा संलग्न रहेको आशंकामा प्रहरीले सातजनालाई पक्राउ गरेको छ । विस्फोटपछि कोलम्बोमा अर्को सूचना नआउँदासम्मका लागि कफ्र्यु लगाइएको छ । सरकारले दुई दिन विद्यालय बन्द रहने बताएको छ । सन् २००९ मा तत्कालीन विद्रोही तमिल टाइगरको पराजयपछि श्रीलंकामा पहिलोपटक यति ठूलो रक्तपातपूर्ण हिंसा भएको हो । याे समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।