कोरोना कहर : उद्योग दर्ता हुने क्रम बढ्दै

कोरोना कहर : उद्योग दर्ता हुने क्रम बढ्दै

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ११, २०७७

कैलाली । कोरोना भाइरस सङ्क्रमण भाइरसको असरबीच कैलालीमा उद्योग दर्ता हुने क्रम बढेको छ । पछिल्लो आठ महिनायता जिल्लामा उद्योग दर्ता हुने क्रम बढेको घरेलु तथा सना उद्योग कार्यालयले जनाएको छ । चालु आवकोे आठ महिनामा मात्रै जिल्लामा दुई हजार ४२७ नयाँ उद्योग दर्ता भइसकेका छन् ।

आव २०७५/७६ मा एक हजार २३४ र गत आव २०७६/७७ मा एक हजार ११४ उद्योग दर्ता भएकामा चालु वर्षको आठ महिनामा नयाँ उद्योग दर्ता भएका हुन् । नयाँ दर्ता हुने उद्योगमा उत्पादनका २६७, कृषिका एक हजार ५९५, सेवाका ५६३ र पर्यटनका दुई छन् । 

कार्यालयका प्रमुख नवराज भट्टले भन्नुभयो, “कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण स्वदेश फर्किनेहरू बढेका र देशभित्रै पनि बेरोजगारी बढ्दै गएसँगै उद्यमशीलता गर्नुपर्छ भन्ने भावनाको विकास हुँदा उद्योग दर्ता हुने क्रम पनि बढेको देखिन्छ ।”    

यसबाहेक महिलाको नाममा दर्ता हुने प्राइभेट फार्मसम्बन्धी उद्योग दर्तामा छुट दिइने र बैंक ब्याजमा समेत सहुलियत दिइने सरकारको नीति रहेकाले महिलाका नाममा बढी उद्योग दर्ता हुने गरेको पनि देखिएको भट्टले बताउनुभयो ।

कार्यालयले सरोकारवाला निकायका प्रतिनिधिको सहभागितामा मङ्गलबार गरेको दोस्रो चौमासिक अवधिसम्मको समीक्षा र सुझाव सङ्कलन गोष्ठीका सहभागीले रोजगारी सिर्जना हुने खालका आयमूलक र सीपमूलक तालीमका योजना ल्याउन र यस्ता तालीम नतिजामुखी बनाउन सुझाव दिनुभयो । चालु वर्षको गत आठ महिनामा कार्यालयले ९३ लाख ९८ हजार ६०० राजश्व सङ्कलन गरेको छ ।