महानगरले जफत गरेका सस्तो सामान फिर्ता, महँगो लिलामी

महानगरले जफत गरेका सस्तो सामान फिर्ता, महँगो लिलामी

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ९, २०७६

काठमाडाैं । सिन्धुपाल्चोककी कान्छीमाया तामाङले काठमाडौंमा ठेलामा तरकारी व्यापार गरेको एक वर्ष भयो । १५ हजारमा ठेला किनेर सुरु गरेको व्यवसायले उनी चारजनाको परिवार पालिरहेकी थिइन् । तर, फुटपाथमा राखेको भन्दै महनगरले उनको ठेला जफत गरिदियो । ठेला खोसिएपछि तामाङको रोजगारी नै गुम्यो । उनी ठेला फिर्ता माग्न गइन् । तर, नगरप्रहरीले उनको तरकारी फिर्ता ग-यो, ठेला गरेन ।

‘परिवार पाल्ने बाटो नै यही हो,’ तामाङ नगरप्रहरीसँग गुनासो पोखिरहेकी थिइन्, ‘दिनभरि बेचेको कमाइले बिहान–बेलुकाको छाक टथ्र्यो । अब के गर्नू ?’महोत्तरीका रामजनम साहले पनि आठ वर्षदेखि साइकलमा फलफूल बेचेर गुजारा चलाइरहेका थिए । दैनिक सरदर दुई हजार कमाउँथे उनी । एक महिनाअघि फलफूल बेच्दै कलंकी पुगेका वेला उनको साइकल महानगरले खोसिदियो । उनले साइकल फिर्ता पाएनन् । नगर कार्यपालिकाको बैठकले एक वर्षअघि नै ठेला, साइकलजस्ता सामान लिलामी गर्ने निर्णय गरिसकेकाले फिर्ता दिन नमिल्ने नगरप्रहरीले उनलाई बताए । 

एक वर्षदेखि काठमाडौं महानगरले फुटपाथ व्यवस्थापनका लागि भन्दै सडकछेउमा व्यवसाय चलाउने व्यापारीका सामान जफत गर्न थालेको छ । नगरप्रहरीले जफत गरेका सस्ता सामान फिर्ता दिन्छ, तर साइकल, ठेलाजस्ता महँगा सामान लिलामी गर्ने गरेको छ । लिलामीबाट प्राप्त रकम महानगरको राजस्व कोषमा जम्मा हुने नगरप्रहरीको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।