भारतीय क्राइम चेकको गाडीमा गाँजा तस्करी

भारतीय क्राइम चेकको गाडीमा गाँजा तस्करी

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ९, २०७६

मकवानपुर । भारतीय क्राइम चेक अर्गनाइजेसनको कारमा गाँजासहित एक भारतीय र दुई नेपाली पक्राउ परेका छन्। क्राइम चेक अर्गनाइजेसनका सचिवको लोगो र भारतीय झन्डासहितको कारमा गाँजासहित उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरिएको हो।

प्रहरीले ४८ किलो आठ सय ग्राम गाँजासहित कारचालक बिहार जिल्ला बैशाली ग्राम हसिकैवल–५ का ३२ वर्षीय अमरजित सिंहलाई नियन्त्रणमा लिएको जनाइएको छ। विशेष सूचनाका आधारमा कार रोकेर जाँच गर्दा कारको सिटमुनि फल्स बटम बनाई आठ पोकामा गाँजा फेला परेको मकवानपुरका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए। उनका अनुसार प्रदेश ३ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले शुक्रबार दिउँसो हेटौंडा उपमहानगरपालिका–९ तीनताप्केबाट सिंह र कारलाई नियन्त्रणमा लिइएको थियो।

‘एम्बुलेन्स, ग्याँस तथा तेल टयांकर र सवारीसाधनमा लागूऔषध तस्कर पहिला पनि भएका थिए,’ उनले भने, ‘भारतीय क्राइम ब्रान्चका उच्चपदस्थ अधिकारीको लोगो प्रयोग गरेर लागूऔषध तस्करको घटना भने जिल्लामै पहिलो हो।’ कारचालक सिंहले तीनपटक भारतमा ओसारपसार गरेको पत्रकार सम्मेलनमै स्वीकार गरे। पूर्व–पश्चिम राजमार्गअन्तरगत मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको कारमा गाँजासहित पक्राउ परेका सिंहमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। तस्कारीमा प्रयोग गरिएको कार प्रहरी कार्यालयमा राखिएको छ। आजको नागरिक दैनिकमा खबर छ ।