जैविक विषादी प्रयोगतर्फ उन्मुख हुँदै पाँचखालका किसान

जैविक विषादी प्रयोगतर्फ उन्मुख हुँदै पाँचखालका किसान

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १२, २०७७

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाका करिब एक हजार अगुवा कृषकले एकीकृत शत्रुजीव व्यवस्थापन प्रविधि ९आइपिएम० कृषक पाठशालामा अध्ययन गरेका छन् । 

उनीहरुले विभिन्न चरणमा १८ महिने २२ थरिका एकीकृत शत्रुजीव व्यवस्थापन प्रविधि ९आइपिएम० कृषक पाठशालामा अध्ययन गरेका हुन् । समय र मौसमको तालिका मिलाएर पढाउनुको एउटै उद्देश्य हो, उनीहरुलाई तरकारी तथा अन्य बालीमा रासायनिक विषादी न्यूनीकरण गर्दै जैविक विषादी प्रयोगतर्फ लैजानु । 

तरकारी तथा अन्य बालीमा विषादी प्रयोग न्यूनीकरण गर्न पाँचखाल नगरपालिकाकै सामुदायिक तथा निजी माध्यमिक विद्यालयका विद्यार्थीलाई समेत यो वर्ष सचेतना कार्यक्रम गरिएको छ । विद्यालय तहदेखि नै विषादीको प्रयोग तथा यसको असरबारे जानकारी गराउँदा निकट भविष्यमा विषादी न्यूनीकरणमा ठूलो मद्दत पुग्ने अपेक्षासहित सचेतना कार्यक्रम सञ्चालन गरिएको हो । पाँचखालमा सामुदायिक १३ र निजी सात माध्यमिक विद्यालय छन् ।

लभग्रीन नेपाल नामक संस्थाले मावि तहका विद्यार्थीलाई कक्षामै गएर अनधिकृत विषादी प्रयोग गर्दा मानव स्वास्थ्य, कृषि पर्यावरण प्रणाली तथा वातावरणमा पर्ने असरबारे भिडियो, अडियो तथा अन्य प्रस्तुतिबाट सचेतना गराएको हो । 

“विद्यालय तहदेखि नै विषादीबारे सचेत गराउँदा निकट भविष्यमै विषादी न्यूनीकरणमा मद्दत पुग्ने उद्देश्यले अभियान सञ्चालन ग¥यौँ”, लभग्रीनका कार्यकारी निर्देशक नारायण ज्ञवालीले भन्नुभयो । उहाँका अनुसार विषादी न्यूनीकरण अभियानमा कृषकको जागरुकता पाइएको छ ।

पाँचखाल नगरपालिका–१ चापागाउँका ३३ अगुवा कृषकलाई प्राङ्गारिक मल निर्माणबारे दिइएको तालीम बुधबार सकियो । यसअघि उनीहरुलाई हसेरा कृषि अनुसन्धान तथा तालीम केन्द्रमा प्राङ्गारिक कृषिसम्बन्धी पुनर्ताजगी तालीमसमेत दिइएको थियो । 

पाँचखाल क्षेत्र तथा भारतको केरला राज्यमा केही वर्षअघिसम्म अनधिकृत विषादी प्रयोगबाट परेको असर तथा हाल न्यूनीकरणपछिको अवस्थाबारे भिडियो, अडियो र डकुमेन्ट्रीमार्फत विद्यार्थीलाई जानकारी गराइएको थियो । पाँचखालमा आइपिएम, पशु व्यवस्थापन तथा स्वस्थ दूध उत्पादनजस्ता कृषक उपयोगी तालीम लभग्रीनले दिँदै आएको छ ।

संस्थाले वातावरणमैत्री एकीकृत दिगो विकास परियोजनाअन्तर्गत पाँचखाल क्षेत्रका कृषकलाई तरकारीमा विषादी तथा रासायनिक मल न्यूनीकरण गरी कृषकलाई प्राङ्गारिक कृषि उत्पादनतर्फ लैजान विगत दुई वर्षदेखि निरन्तर प्रयासरत छन् । 

पाँचखाल नपा–७ का शिवराज श्रेष्ठ रासायनिक विषादीको विकल्पमा आफैँ जैविक विषादी बनाएर बालीमा हाल्ने गर्नुभएको छ । “जैविक विषादी र मल बनाउन घरमा गाईवस्तु थपेको छु”, उहाँले भन्नुभयो । पाँचखाल नपा–६ का कृषक सीताराम दुलाल र केदार ढुङ्गानाको पनि बालीमा जैविक विषादी प्रयोग गर्ने तौरतरिका एउटै छ । 

“स्थानीयस्तरमा उपलब्ध जडीबुटीबाट जैविक विषादी तयार गरेर बालीमा प्रयोग गर्दा स्वस्थकर र उत्पादन लागत कम हुने गरेको छ”, ढुङ्गानाले भन्नुभयो । उहाँ आफैँ आफ्नो खेतबारीको माटो परीक्षणसमेत गर्नुहुन्छ ।