कर्मचारीलाई काम गर्न नदिए कारबाही हुने

कर्मचारीलाई काम गर्न नदिए कारबाही हुने

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ९, २०७६

काठमाडौं । समायोजन भएर खटिएका कर्मचारीलाई हाजिर नगराउने र जिम्मेवारी नदिए प्रशासकीय प्रमुख वा अधिकारी आफैं कारबाहीमा पर्ने भएका छन्। कर्मचारी समायोजनपछि विभिन्न निकायमा समायोजन भएर गएका कर्मचारीलाई हाजिर नगराएको र जिम्मेवारी नदिएको भन्दै कर्मचारी फर्कने क्रम सुरु भएपछि सरकारले त्यसरी हाजिर नगराउने र जिम्मेवारी नदिने कर्मचारीमाथि नै कारबाही गर्ने भएको हो।

कर्मचारी समायोजन निर्देशन तथा समन्वय समितिको बैठकले समायोजन भएर जाने कर्मचारीलाई हाजिर नगराउने र जिम्मेवारी नदिने कर्मचारीलाई कारबाही हुने भन्दै यथाशिघ्र हाजिर गराई जिम्मेवारी दिन आग्रह गरेको हो।

‘सम्बन्धित निकायको प्रशासकीय प्रमुख वा अधिकारीले कर्मचारी समायोजन ऐन २०७५ बमोजिम वा स्थानीय तहमा समायोजन हुन जाने कर्मचारीलाई हाजिर गराई जिम्मेवारी दिनुपर्नेछ भन्ने व्यवस्था रहेको छ,’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘सोही दफाको उपदफा ८ तथा ७ बमोजिम हाजिर नगराउने र जिम्मेवारी नदिने अधिकारीलाई प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ भन्ने व्यवस्था रहेको छ। अतः समायोजन भएका कर्मचारीलाई हाजिर गराउन हुन अनुरोध छ।’ आजको नागरिक दैनिकमा खबर छ ।