डा‍.निराकार मान श्रेष्ठ: डाक्टरदेखि पहिलाे स्वास्थ्य सचिवसम्म

डा‍.निराकार मान श्रेष्ठ: डाक्टरदेखि  पहिलाे स्वास्थ्य सचिवसम्म

आशिष पौडेल  |  अन्तर्मन्थन  |  चैत्र १४, २०७७

डा.निराकार मान एउटा पहाडको सम्पन्न परिवारमा जन्मेका कारण मात्र सफल हुनुभएको होइन । सफल हुनका लागि निश्चित केही आधार चाहिन्छ भन्ने सँग आफ्नै प्रकारको तर्क होला, तर सफल हुनका लागि सबैभन्दा महत्त्वपूर्ण चिज भनेको व्यक्तिको इच्छा शक्ति हो जो डा.निराकार मान श्रेष्ठमा देखिन्छ । 

सबै सम्पन्न परिवारमा जन्मिएका ठुला र सफल हुन्छन् भन्ने पनि छैन र गरिब परिवारमा जन्मँदैमा उ असफल हुन्छ भन्ने पनि छैन । आफ्नो परिवेश, वातावरण र धरातलीय यथार्थलाई पहिचान गरेर अगाडि बढ्ने हो भने मान्छे पक्कै पनि सफल हुन्छ भन्ने कुराको ज्वलन्त उदाहरण हो डा.निराकार मान श्रेष्ठ । 

एउटा सफल डाक्टर सफल प्रशासक समेत बन्न सक्छ भन्ने कुराको पनि दृष्टान्त पनि हो उहाँ । एउटा क्षेत्रमा सफल भएको मानिस अर्को क्षेत्रमा समेत सफल हुन सक्छ यदि  यसका लागि निरन्तर इमानदार प्रयास गरेमा भन्ने कुराको पाठ पनि हो यो आलेख । 

पारिवारिक अवस्था 

उहाँको बुवा व्यापारी हुनुहुन्थ्यो । उहाँहरूको कपडाको ठुलै दोकान थियो । आमा भने गृहिणी ।  उहाँको बुवाको धनकुटा, धरान तथा तेह्रथुम सबैतिर घर थियो । उहाँको बुवालाई सबैले 'शंकरमान साहु' भनेर सम्बोधन गर्थे । पछि पछि अध्यात्म तिर लागेपछि भने उहाँलाई 'महात्मा शंकरमान' पनि  भन्न थालियो । उहाँ धार्मिक प्रवचन समेत दिनु हुन्थ्यो । साधु सन्तलाई खाना खुवाउनेदेखि पाटी पौवा बनाउने सामाजिक काम समेत गर्नुहुन्थ्यो उहाँको बुवाले । 

उहाँको बुवाको आर्थिक अवस्थालाई हेरेर भन्ने हे भने उहाँको परिवार सम्पन्न नै हो । 

जन्म र बाल्यकाल

उहाँको जन्म २००४ सालमा भएको हो । तेह्रथुमको म्याङ्गलुङ्ग बजारमा । उहाँको आठ दाजुभाइ तथा नौ दिदी बहिनी ।  उहाँलाई फुटबल, भलिबल, हाइजम्प तथा लमजम्पमा रुचि थियो । गुच्चा खोपी पनि नखेलेको भने होइन । 

प्रारम्भिक शिक्षा

उहाँको प्रारम्भिक शिक्षा म्याङ्गलुङ्गस्थित सिंहवाहिनी हाई स्कुलबाट भएको हो । त्यसबेला पनि बस्नलाई सामान्य डेस्क बेन्च थिए । एउटा कक्षामा सामान्यतया बिस, पच्चीस जना विद्यार्थी  हुन्थे । महिलाहरू भने झन्डै पाँच, छ को सङ्ख्यामा । 

उहाँ पढ्नमा तीक्ष्ण विद्यार्थी हुनुहुन्थ्यो । कक्षामा सधैँ पहिलो । बस्ने पनि पहिलो बेन्चमा नै । उहाँ निम्न माध्यमिक तहसम्मको पढाई सिंहवाहिनी हाई स्कुलमा नै भएको हो । माध्यमिक शिक्षा भने सिंहवाहिनीमा पूरा भएन । उहाँ नौ कक्षासम्म पढ्नु भयो त्यहाँ । 

त्यसपछि भने उहाँ जानु भो धरानको पब्लिक हाई स्कूल । धरानमा पनि उहाँको घर भएकोले उहाँलाई धरान जान अप्ठेरो भएन । दश कक्षाको पढाई भने पब्लिक हाई स्कूल धरानमा भयो ।तर एसएलसी दिन भने धनकुटा जानुभयो । धनकुटामा समेत उहाँको घर थियो । धनकुटाको गोकुण्डेश्वर हाई स्कुलबाट दिनुभएको हो एसएलसी भने । 

उहाँको ब्याचमा तीस जना जति थिए होलान् एसएलसी दिने । उहाँको सेकेन्ड डिभिजनमा उत्तीर्ण हुनुभयो । फस्ट डिभिजनलाई केही नम्बर भने पुगेन उहाँको । त्यसको कारण रहेछ उहाँले ऐच्छिक गणित नलिनु । जसका कारण नम्बर केही कम भयो । 

काठमाडौँ यात्रा 

एसएलसी सकाएपछि उच्च शिक्षाका लागि उहाँ काठमाडौँ आउनुभयो । त्रिभुवन राजपथ हुँदै गाडीमा उहाँ काठमाडौँ आउनु भएको हो । सम्पन्न भए पनि यस अघि उहाँ काठमाडौँ आउनु भएको थिएन । त्यसबेला काठमाडौँ आउँदाको गाडी भाडा भने उहाँलाई याद छैन । काठमाडौँमा पहिलो पटक कहाँ झरियो पनि त्यति हेक्का रहेनछ, उहाँ भन्नुहुन्छ ।  

उहाँहरू चार जना साथी काठमाडौँ आउनु भएको त्यसबेला सँगै । कुमार फुदुङ जो पछि आर्मीको मेजर जनरलबाट अवकाश प्राप्त गर्नुभयो, अर्को साथी हुनुहुन्थ्यो, पूर्ण प्रसाद ढकाल जो ब्रिगेडिएर जनरलबाट पछि अवकाश प्राप्त हुनुभयो, अनि अर्का हुनुहुन्थ्यो धनकुटाका शिव नारायण श्रेष्ठ । 

नेपालमा साइक्याट्री अन्तर्गतको एडिक्सन साइक्याट्री अर्थात् लागू औषध सम्बन्धमा सुपर स्पेशलाइजेशन गर्ने उहाँ नै पहिलो व्यक्ति हो । उहाँले यो डिएबी कोर्स लन्डन विश्वविद्यालयबाट गर्नु भएको हो । पछि सन् १९९३ मा उहाँको विशिष्ट श्रेणीमा बढुवा भयो स्वास्थ्य मन्त्रालयमा । उहाँ मन्त्रालयमा केही समय बस्नुभयो । अनि उहाँ स्वास्थ्य सचिव बन्नुभयो । यो भनेको नेपालको इतिहासमा नै स्वास्थ्य कर्मचारी (चिकित्सक) बाट स्वास्थ्य सचिव भएको पहिलो घटना हो । 

उहाँहरू एउटै कोठामा बस्नुहुन्थ्यो । कोठाको चार कुनामा चार वटा खाट थियो । कोठा थियो ठमेलमा । भाडा थियो चालिस रुपैयाँ । एक जनाको भागमा दश रुपैयाँ प्रति महिना । पछि भने त्यही घरमा सबै जना अलग अलग कोठामा बस्न थाल्नुभयो । छुट्टै कोठाको भाडा भने पन्ध्र रुपैयाँ थियो । उहाँहरू पढ्नु पर्ने विद्यार्थी तर घरबेटीले चाँडै नै बत्ती निभाइदिन्थे । बिहान पनि बत्ती नभएका कारण सबेरै पढ्न नपाइने । त्यसैले उहाँ भने कुपी बालेर पढ्नुहुन्थ्यो । 

काठमाडौँको त्यो बेलाको चिसोमा पनि उहाँ भने दैनिक नुहाउनु हुन्थ्यो । तुसारो परेर धाराको पानी नै जम्थ्यो । अनि मैनबत्ती बालेर धारो तताउनु पर्थ्यौ उहाँ भन्नुहुन्छ । उहाँ चार बजे नै उठेर नुहाइ सक्नुहुन्थ्यो । किनकि घरबेटीहरू पाँच बजे पानी थाप्न आउँथे । धारा बाहिरै थियो । अनि उनीहरू आएपछि नुहाउन अप्ठेरो हुने हुनाले त्यसो गरेको हो, उहाँ भन्नुहुन्छ । बाथरुम पनि बाहिरै थियो । 

उहाँलाई त्यसबेला घरबाट महिनाको एक सय पचास रुपैयाँ खर्च आउथ्यो । तर, अहिलेको जस्तो बैङ्कको सुविधा हुने कुरै भएन । बैङ्क ड्राफ्ट गरेर पैसा पठाउनु पर्थ्यो । ड्राफ्ट हुलाक मार्फत आउँथ्यो । त्यसैले ढिलो हुन्थ्यो । अनि मेसमा तथा घरबेटीलाई भाडा दिन कहिले काहीँ ढिलो हुँदा घरबेटी कराएको पनि सम्झना छ उहाँलाई । 

पब्लिक साईन्स कलेज

काठमाडौँ आएपछि उहाँ पब्लिक साईन्स कलेजमा आइएस्सीमा भर्ना हुनुभयो । एउटा कक्षामा पचास साठी जना जति विद्यार्थी हुन्थे त्यसबेला । दुई वटा सेक्सन थियो । गणित र बायोलोजिका । गणित पढ्नेमा भने तीन जना जति महिलाहरू पनि थिए । बायोलोजीमा भने सात आठ जना । 

हालको अमृत साईन्स कलेज अर्थात् अस्कल नै त्यसबेलाका पब्लिक साईन्स कलेज हो । एउटा वैज्ञानिक सम्मेलनमा भाग लिन जाने क्रममा हवाई दुर्घटनामा पब्लिक साईन्स कलेजका प्रिन्सिपल अमृत प्रसाद प्रधानको निधन भएपछि उहाँको नाममा उक्त कलेजको नामकरण गरी अमृत साईन्स कलेज बनाइएको हो । 

उहाँले सन् १९६३ मा आइएस्सी पढ्न प्रारम्भ गर्नु भएको हो । त्यसबेला कोर्स दुई वर्षको हुन्थ्यो । उहाँले सन् १९६५ मा आइएस्सी सकाउनुभयो । अनि कोलम्बो प्लान अन्तर्गत उहाँ एमबिबिएस पढ्न भारत तर्फ लाग्नु भयो । 

एमबिबिएस 

उहाँ एमबिबिएस गर्न भारतको लखनउ युनिभर्सिटी अन्तर्गत किङ्ग जर्ज मेडिकल कलेजमा जानुभयो । हरेक डिर्पाटमेण्टको अलग अलग बिल्डिङ थियो । कलेजको भव्यताको कल्पनै गर्न सकिँदैन उहाँ भन्नुहुन्छ । 

एक वर्षमा पचास जना भन्दा बढीको कोटा हुँदैनथ्यो, उहाँ भन्नुहुन्छ । एमबिबिएसको कोर्स साँढे चार वर्षको थियो । अनि इन्टर्नसीप एक वर्ष । जम्मा साँढे पाँच वर्षमा एमबिबिएस सकिन्थ्यो, उहाँ भन्नुहुन्छ । 

पढ्न विदेशी विद्यार्थीहरू धेरै नै आउँथे त्यतिखेर किङ्ग जर्जमा । मलेसिया, श्रीलङ्कादेखि अफ्रिकासम्मबाट विद्यार्थी आउँथे । पढाइ एकदमै अब्बल थियो । नेपालीलाई विदेशी विद्यार्थीको दर्जा प्राप्त थियो । र, विदेशी विद्यार्थीको मेस अलग्गै थियो । तर, नेपाली र हिन्दी भाषा मिल्ने अनि बुझिने पनि भएकोले भारतीयसँग भने राम्रो मेल रहन्थ्यो, उहाँ भन्नुहुन्छ । 

पहिलो वर्षमा अध्ययनका लागि एक जनालाई एउटा लास (शव) दिइन्थ्यो । लास हेर्दा घिन लाग्ने, डर लाग्ने हुन्थ्यो भने पन्जा लगाएर लास छुने गरिन्थ्यो उहाँ भन्नुहुन्छ । अनि पछि खाने बेलामा तीन पटक जति हात धोए पनि गनाउँथ्यो, उहाँ भन्नुहुन्छ । तर, बिस्तारै बानी पर्दै गयो । र, दोस्रो वर्षमा भने कसले छिटो र राम्रोसँग लासको चिरफार गर्ने भन्ने प्रतियोगिता जस्तै हुन्थ्यो ।अनि बिचमा लन्च खाने कार्यक्रम पनि हुन्थ्यो । पछि भने लन्च खान आउँदा उहाँ पन्जा त खोल्नुहुन्थ्यो तर हात भने धुनुहुन्थेन, त्यत्तिको पचाइसकिएको थियो, उहाँ भन्नुहुन्छ । 

नेपालमा भने कुनै पनि मेडिकल कलेज थिएन त्यसबेला । मेडिकल कलेज त परको कुरा साईन्स पनि कतै पढ्न नपाइने कारणले उहाँ काठमाडौँ आउनु भएको थियो । सन् १९७१ को अन्तमा उहाँ एमबिबिएस तथा इन्टर्नसीप समेत सकाएर डाक्टर  निराकार मान श्रेष्ठ बनेर नेपाल फर्कनुभयो । 

नेपाल फर्किएपछि 

उहाँ कोलम्बो प्लान अन्तर्गत पढ्न गएकोले सरकारसँग पाँच वर्षको सम्झौता थियो । फर्केर आएपछि सरकारलाई खबर गरे पनि सरकारले भने तुरुन्त खटाएन, उहाँ भन्नुहुन्छ । केही समय स्वयंसेवा गर्नुपर्छ भन्ने मात्र आयो सरकारकातर्फबाट । 

उहाँले रेजिडेन्ट हाउस फिजिसियन भएर केही समय पाटन अस्पतालमा जोन डिकिशन भन्ने फिजिसियनको अन्तर्गत रहेर काम गर्नुभयो, जो त्यस बेला सानेपामा थियो । त्यसबेला सबै गरेर उहाँको तलब चार सय बिस थियो । यो नै उहाँको जीवनको पहिलो कमाई थियो । पहिलो कमाइले के गरियो भन्ने ठ्याक्कै यकिन छैन उहाँलाई । संयुक्त परिवार र दाइको बसाइ यतै थापाथलीमा भएको हुनाले दाइलाई दिए जस्तो लाग्छ उहाँ भन्नुहुन्छ । 

त्यसपछि उहाँले अहेब स्कुल महाराजगन्जमा पढाउन थाल्नु भयो । पछि उक्त अहेव स्कुललाई पदोन्नति गर्दै चिकित्सा शास्त्र अध्ययन संस्थान बनायो सरकारले । पछि उहाँलाई एकै पटक त्यहाँका डिन मोइन शाहले उपप्राध्यापकको रुपमा काम गर्न आग्रह गर्नुभयो । त्यस बेला त्यहाँ कोही पनि जानै मान्दैनथे । उहाँ पनि जानुभएन । त्यसपछि उहाँलाई सरकारले धनकुटा अस्पतालमा पठायो । त्यहाँ उहाँले दुई वर्ष काम गर्नुभयो । 

अनवरत जागिर

पछि उहाँ दाङ जानुभयो । त्यहाँ पनि दुई वर्ष नै काम गर्नुभयो । अनि उहाँको पालो आयो भक्तपुर अस्पताल जाने । भक्तपुर आएको एक वर्ष नबित्दै उहाँको सरुवा भयो अछामको मङ्गलसेन अस्पतालमा । काठमाडौँ बाहिर काम गरेको पाँच वर्ष भइसकेकोले उहाँ जान मान्नुभएन र जानुभएन मङ्गलसेन चाहिँ । 

अनि उहाँले नयाँ जागिर  सुरु गर्नुभयो परिवार नियोजन सङ्घमा सिनियर मेडिकल अफिसरका रुपमा । दुई वर्ष काम गरिसकेपछि उहाँको बढुवा भयो सेकेन्ड क्लास अफिसरका रुपमा । अनि उहाँ जोमसोम जानुभयो । जोमसोम केही समय बसेपछि उहाँको सरुवा टेकु अस्पतालमा भयो । त्यो बिचमा उहाँको सेवा अवधि करिब बाह्र वर्ष भैसकेको थियो । 

अनि डब्लुएचओको स्पेसल फेलोसिपमा उहाँ पढ्न जानुभयो साइक्याट्रीमा अल इन्डिया मेडिकल कलेजमा । त्यो समय अवधि भनेको सन् १९८२ देखि १९८५ को हो । उताबाट फर्केपछि उहाँको सेवा सुरु भयो मानसिक अस्पतालमा । सिनियर मेडिकल अफिसरका रुपमा । अनि सिनियर कन्सल्टेन्ट साइक्याट्रीस्टको पद खाली भएकोले उहाँ उक्त पदमा जानुभयो । 

त्यति बेलासम्म उहाँको सेवा परिवर्तन भएर साइक्याट्रीमा परिवर्तन भइसकेको थियो । पछि बढुवा भएर प्रमुख मानसिक रोग विशेषज्ञ तथा निर्देशक हुँदै उहाँले अठार वर्ष मानसिक अस्पताल लगनखेलमा काम गर्नुभएको छ । 

नेपालमा साइक्याट्री अन्तर्गतको एडिक्सन साइक्याट्री अर्थात् लागू औषध सम्बन्धमा सुपर स्पेशलाइजेशन गर्ने उहाँ नै पहिलो व्यक्ति हो । उहाँले यो डिएबी कोर्स लन्डन विश्वविद्यालयबाट गर्नु भएको हो । पछि सन् १९९३ मा उहाँको विशिष्ट श्रेणीमा बढुवा भयो स्वास्थ्य मन्त्रालयमा । उहाँ मन्त्रालयमा केही समय बस्नुभयो । अनि उहाँ स्वास्थ्य सचिव बन्नुभयो । यो भनेको नेपालको इतिहासमा नै स्वास्थ्य कर्मचारी (चिकित्सक) बाट स्वास्थ्य सचिव भएको पहिलो घटना हो । 

उहाँले सन् १९९८ मा पाकिस्तानका कलेज अफ फिजिसियन्स एन्ड सर्जन्सबाट एफसीपीएसको डिग्री समेत प्राप्त गर्नुभएको छ । 

विवाह 

उहाँको विवाह २०२९ सालमा भएको हो । उहाँ पनि लखनउमै पढ्नु हुन्थ्यो । तर, दुई वर्ष जुनियर । प्रेम सम्बन्ध त्यहीँ भएको हो । त्यही प्रेमलाई उहाँले विवाहमा परिणत गर्नु भएको हो । उहाँको पत्नी पनि डाक्टर ने हुनुहुन्छ । 

उहाँका तीन सन्तान । दुई छोरी तथा एक छोरा । सबै डाक्टर । एक प्रकारले भन्नुपर्दा उहाँको परिवारमा सबै डाक्टर । डाक्टरको डाक्टर परिवार भन्दा पनि फरक पर्दैन उहाँको परिवारलाई ।  एउटा छोरी अस्ट्रेलियामा इण्डोक्राइनोलोजिष्ट हुनुहुन्छ । अर्को छोरी चितवन मेडिकल कलेजमा एशोसियट प्रोफेसर । छोरा भने ड्रमाटोलोजिस्ट । 

प्रकाशन 

उहाँका हालसम्म एघारवटा पुस्तक प्रकाशित छन् । पत्रपत्रिकामा समेत उहाँका थुप्रै लेख रचना प्रकाशित भएका छन् । जर्नल अफ अमेरिकन मेडिकल एसोसिएसन तथा ब्रिटिस जर्नल अफ एडिक्सनमा समेत उहाँको लेखहरू प्रकाशित भएका छन् । 

सङ्घसंस्थामा संलग्नता 

नेपाल चिकित्सक परिषद्को रजिस्ट्रार र कार्यकारिणी सदस्य, चिकित्सक सङ्घको वरिष्ठ उपाध्यक्ष, नेपाल चिकित्सक सङ्घको जर्नल जेएनएमएको प्रमुख सम्पादक साथै आसरा सुधार केन्द्रको सल्लाहकार हुनुहुन्छ । 

सम्मान तथा पदक 

नेपाल सरकार, सामान्य प्रशासन मन्त्रालय, आन्तरिक राजश्व विभाग, चिकित्सक सङ्घ, साइक्याट्रिक एसोसिएसन नेपाल आदि संस्थाबाट विविध सम्मान प्राप्त गर्नुभएको छ । पदकका हकमा भने गो.द.वा.तेस्रो, जनपद सेवा पदक, दीर्घ सेवा पदक, दुर्गम सेवा पदक लगायतका पदक प्राप्त गर्नुभएको छ । 

अन्त्यमा

कुनै पनि उद्देश्य प्राप्तिका लागि निरन्तर लागिरहनु जरुरी छ । तर, उद्देश्य प्राप्तिका लागि चाहिने आधार के हुन र यो कहाँबाट कसरी प्राप्त गर्न सकिन्छ भन्ने कुराको योजना बनाएर अघि बढेमा अवश्य सफल होइन्छ भन्ने कुराको सन्देश दिन्छ डा.निराकार मान श्रेष्ठको यो जीवन कथाले ।