अच्युत अधिकारी : लालबन्दी नगर वाङ्मय परिषद्काे अध्यक्ष

अच्युत अधिकारी : लालबन्दी नगर वाङ्मय परिषद्काे अध्यक्ष

लोकसंवाद संवाददाता  |  साहित्य  |  चैत्र १५, २०७७

 लालबन्दी । लालबन्दी नगरपालिका, नगर वाङ्मय सभाले लालबन्दी नगर वाङ्मय परिषद् गठन गरेको छ । लालबन्दी नगर वाङ्मय परिषद ऐन, २०७७ को परिच्छेद–३ को दफा ७ ९३० बमोजिम नगरपालिकाले परिषद् गठन गरेको हो । नवगठित वाङ्मय परिषद्को अध्यक्षमा लेखक तथा गोलसिमल मासिकका प्रधान सम्पादक अच्युत अधिकारी चयन हुनु भएको छ ।   

वाङ्मय परिषद्को उपाध्यक्षमा राजेश्वरी काफ्ले, सचिवमा सुमन घिमिरे अग्रिम, कोषाध्यक्षमा विवश पौडेल चयन हुनु भएको  हो । सदस्यहरूमा निर्मल बराल, मकरबहादुर सार्की, टीकाराम श्रेष्ठ, सुमित्रा आचार्य, रीता कोइराला, कर्णबहादुर चौहान, सूर्यप्रसाद बराल, अम्बिका पौडेल र रामदरेश महतो चुनिनु भएको छ ।

सभाले परिषदको सल्लाहकार समितिसमेत गठन गरेको छ । सल्लाहकार समितिमा पुष्कर घिमिरे ‘पथिक’, बलराम पोखरेल, विप्रहरि दाहाल, गोविन्द अधिकारी, वासुदेव अधिकारी, सन्तोष दाहाल ‘स्नेह’ देवीबन्धु थापा छन् ।

लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्काले नगरभित्रका भाषा, साहित्य, कला, सङ्गीत, संस्कृति, धर्म र दर्शनको विकासलाई व्यवस्थित तरिकाले अगाडि बढाउन नेपालको संविधान, २०७२ को धारा २२६ को उपधारा १ सँग सम्बन्धित अनुसूची–८ को बुँदा नं। २२ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद–३ दफा–११ उपदफा– २ ९क० १ र ५ अनुसार ऐन बनाई कार्य प्रक्रिया प्रारम्भ गरेको बताए ।

लालबन्दी नगर वाङ्मय परिषद्का अध्यक्ष अधिकारी तथा निर्वाचित कार्य समिति सदस्यहरूलगायत भेलामा उपस्थित सम्पूर्ण साहित्यकारहरूलाई सम्बोधन गर्दै नगर प्रमुख खड्काले भाषा, साहित्य, कला, सङ्गीत, संस्कृतिको संरक्षणमा निर्वाचित समितिलाई दत्तचित्त भएर लाग्न आग्रहसमेत गरे ।

भाषा, साहित्य, सङ्गीत, कला, संस्कृतिको संरक्षण, सम्बद्र्धन र विकासबाट मात्र नगर समृद्धितर्फ लाग्ने कुरा साहित्यकार तथा नगर उपप्रमुख शान्ति लामाले बताउँदै नजिकिएको पर्व फागूलाई व्यक्तिगत स्वास्थ्य मापदण्डभित्र रहेर मनाउन सल्लाह दिएकी छन् । वाङ्मय परिषद्का नव निर्वाचित अध्यक्ष अच्युत अधिकारीले नगरको भाषा तथा साहित्यको समृद्धिमा आफूहरू एक ढिक्का भएर लाग्ने बताए ।

लालबन्दी नगरपालिकाका कर्मचारी तथा साहित्यकार कोमलहरि गौतमको सहजीकरणमा भएको उक्त कार्यक्रममा लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्का र उप–प्रमुख शान्ति लामालगायत सिङ्गो नगरपालिकाले यसरी ऐन नै बनाएर भाषा र साहित्यको संरक्षणमा लागेको देख्दा आफूहरू अत्यन्त हर्षित भएको कुरा भेलामा उपस्थित साहित्यकारहरूले बताए । कार्यक्रममा सर्लाही साहित्य समाजकी अध्यक्ष मिना देवकोटा र सचिव उत्तम दाहाल तथा नेपाली लेखक सङ्घका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य जीवन आचार्य ‘निश्चल’को पनि उपस्थिति रहेको थियो ।