उद्योग मन्त्रालयको प्रस्ताव : ५ करोडभन्दा कम विदेशी लगानी ल्याउन नदिने

उद्योग मन्त्रालयको प्रस्ताव : ५ करोडभन्दा कम विदेशी लगानी ल्याउन नदिने

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ९, २०७६

काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विदेशी लगानीको न्यूनतम सीमा ५ करोड रुपैयाँ राख्न प्रस्ताव गरेको छ । अहिलेको ५० लाखको सीमा न्यून भएको भन्दै मन्त्रालयले बढाएर ५ करोड रुपैयाँ (५ लाख डलर) तोक्ने भन्दै त्यसमा अर्थ मन्त्रालयको सहमति मागेको हो । अर्थले सहमति जनाएसँगै त्यसलाई मन्त्रिपरिषद्मा लगेर पारित गराउने उद्योग मन्त्रालयका एक उच्च अधिकारीले बताए । 

थोरै लगानी सीमाले स–साना उद्योग व्यवसायमा समेत विदेशी लगानी आएको भन्दै त्यसलाई बढाउने तयारी गरिएको हो । हालै आएको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले विदेशी लगानीको न्यूनतम सीमा नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोक्ने व्यवस्था गरेको छ । मन्त्रालयले सोही व्यवस्थाअनुसार न्यूनतम सीमा ५ करोड तोक्ने तयारी थालेको हो । 

यसअघि उद्योग विभागले विदेशी लगानीको न्यूनतम सीमा ७ करोड रुपैयाँ राख्न मन्त्रालयसमक्ष प्रस्ताव गरेको थियो । विभागले उद्योगी–व्यवसायी, विदेशी लगानीकर्तालगायत सरोकारवालासँग छलफल गरेर न्यूनतम सीमा ७ देखि १० करोड तोक्न सक्ने भन्दै मन्त्रालयलाई प्रस्ताव पठाएको थियो । त्यसलाई घटाएर उद्योग मन्त्रालयले ५ करोड बनाएको हो । ंआजको नयाँ पत्रिकामा खबर छ ।