एमाले नेता नेपाल र रावल ६ महिनाका लागि सदस्यताबाट निलम्बित ( पत्र र प्रतिक्रियासहित)

एमाले नेता नेपाल र रावल ६ महिनाका लागि सदस्यताबाट निलम्बित ( पत्र र  प्रतिक्रियासहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १६, २०७७

काठमाडौँ  नेकपा (एमाले) ले पार्टीका दुई नेतालाई ६ महिनाका लागि निलम्बन गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको हित विपरीतको गतिविधि गरेको तथा पार्टीले सोधेको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावललाई पार्टी सदस्यताबाट निलम्बन गर्नुभएको हो । 

वरिष्ठ नेता माधवकुमार नेपालाई सदस्यताबाट निलम्बन  गरिएकाे पत्र

वरिष्ठ नेता नेपाल र रावललाई सच्चिनका लागि समय दिइएको र आफ्ना क्रियाकलापमा सुधार गरेर पार्टीको पक्षमा लाग्न आग्रह गरिएको छ । अध्यक्ष ओलीले नेता नेपाललाई सम्बोधन गर्दै लेख्नुभएको छ, 'तपाईँले पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला तथा पार्टीका कुभलो चिताउनेहरूसँग निरन्तर बैठक, भेटघाट गर्ने र उनीहरूको पक्षपोषण गर्ने कार्य निरन्तर गरिरहनु भई उक्त कार्यलाई निरन्तरता दिने स्वीकारोक्ति सहित अहङ्कार र आत्म केन्द्रित कुरा उल्लेख गरी स्पष्टीकरणको जवाफ दिएको देखियो ।'  

पार्टी विरोधी, फाटोवादी र गुटगत क्रियाकलाप नेकपा (एमाले)कै नाममा गरिएको र त्यसलाई आगामी दिनमा निरन्तरता दिइरहनेतर्फ अग्रसरता देखिएको, पार्टीका लागि एकताका लागि भन्दै भ्रम फिँजाएर कार्यकर्ता फसाउने र आफ्ना गलत उद्देश्य तथा मनसायका निम्ति दुरुपयोग गर्ने सम्भावना देखिएको निलम्बन पत्रमा उल्लेख छ । 

नेता  भीम रावललाई पार्टी सदस्यताबाट निलम्बन गरिएकाे पत्र 

'पार्टी विरोधी गतिविधि बन्द गर्न र सही बाटोमा फर्किने मौका दिन एकै पटक कडा कारबाही गर्नुभन्दा हाललाई दशौँ महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टी सदस्यबाटै पार्टीको विधान २०४९९संशोधन २०७१ समेत० को धारा ४९ ख बमोजिम हाललाई ६ महिनाका लागि निलम्बन गरिएको' स्पष्ट पारिएको छ । 

यस्तै नेता रावललाई स्पष्टीकरणमा सोधिएअनुसार ‘आफ्नो भूलत्रुटीको स्वीकारोक्ति नगरेको, कुनै आत्म समीक्षा नगरेको, आत्मालोचना गर्ने कुनै प्रवृत्ति नदेखिएको, अहङ्कार आत्म केन्द्रित र स्वार्थी प्रवृत्ति प्रस्ट रुपमा देखियो’ भन्ने निलम्बन पत्रमा उल्लेख छ । यस्तै ‘आफ्नो स्वार्थको लागि देश जनता र पार्टीको हितलाई जस्तोसुकै क्षति पुर्‍याउन तयार भएको आपराधिक मनोवृत्ति प्रस्ट रुपमा थप पुष्टि भएको यही चैत ८ गते पेस गरिएको स्पष्टीकरणको जवाफमा’ देखिएको उल्लेख छ । केही दिनअघि बसेको एमाले केन्द्रीय कमिटीको बैठकले पार्टीभित्र आवश्यक निर्णय गर्ने अधिकार अध्यक्षलाई दिएको थियो ।

६ महिनाका लागि निलम्बन पश्चात् एमाले नेता माधव नेपालको प्रतिक्रिया