बैंग्लोरको रोमाञ्चक जित, चेन्नई एक रनले पराजित

बैंग्लोरको रोमाञ्चक जित, चेन्नई एक रनले पराजित
चेन्नई सुपर किंग्स विरुद्धको खेल जितेपछि खुसी मनाउँदै रोयल च्यालेन्जर्स बैंग्लोरका खेलाडी । तस्बिर : आइपिएलटिट्वान्टी डट कम ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख ९, २०७६

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत आइतबार राति सम्पन्न दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंग्लौरले चेन्नई सुपर किंग्सविरुद्ध १ रनको रोमाञ्जक जित निकालेको छ । 

अन्तिम बलमा चेन्नईलाई जितका लागि दुई रन आवश्यक भएको अवस्थामा सार्दुल ठाकुर रनआउट भएपछि बैंग्लोरले खेल जितेको हो । ठाकुरलाई पार्थिव पटेलले रनआउट गरेका थिए । 

१६२ रनको लक्ष्य पछ्याएको चेन्नईले कप्तान महेन्द्रसिंह धोनीले अभिजित ८४ रनको मद्दतमा ८ विकेट गुमाएर १६० रन बनाएको थियो । ४८ बल खेलको धोनीले आफ्नो पारीमा ५ चौका र ७ छक्का प्रहार गरेका थिए । 

डेल स्टेनले पहिलो ओभरमै दुई विकेट लिएपछि चेन्नईको ब्याटिङ धरमराएको थियो । उनले पहिलो ओभरको पाँचो बलमा सेन वाटसन र छैठौं बलमा सुरेश रैनाको विकेट लिएका थिए । 

चौथो ओभरको अन्तिम बलमा उमेश यादवको बलमा फाप डु प्लेसिस आउट भए । उनी आउट हुँदा चेन्नईले तीन विकेट गुमाएर १७ रन मात्रै जोडेको थियो । छैठौं ओभरको पाँचौं बलमा उमेश यादवले केदार जाधवको विकेट लिए । त्यतिखेर चेन्नईले २८ रन बनाएको थियो । 

त्यसपछि ब्याटिङ गर्न आएका कप्तान धोनीले इनिङ अघि बढाए । उनले रायडु र रविन्द्र जडेजासँग सामान्य साझेदारी पनि गरे । तर, अन्तिमसम्म कोही पनि टिक्न सकेनन् । रायडु २९ र जडेजा ११ रनको व्यक्तिगत स्कोरमा आउट भए । 

अन्तिम ओभरमा चेन्नईलाई जितका लागि २६ रन आवश्यक थियो । स्ट्राइकमा थिए, धोनी । बल उमेश यादवको हातमा थियो । धोनीले पहिलो बलमा चौका प्रहार गरे । दोस्रो र तेस्रो बलमा दुई छक्का प्रहार गरे । चौथो बलमा धोनीले दुई रन लिए । पाँचौ बललाई पुनः धोनीले बाउन्डीबाहिर पठाए । 

अन्तिम बलमा चेन्नईलाई खेल जित्न दुई रन आवश्यक भएको अवस्थामा पहिलो रन लिन खोज्दा ठाकुर रनआउट भए । 

त्यसअघि टस हारेर ब्याटिङ गर्न आएको बैंग्लोरले निर्धारित ओभरमा ७ विकेट गुमाएर १६१ रन जोडेको थियो । टिमका लागि प्रारम्भिक ब्याट्सम्यान पार्थिव पटेलले सर्वाधिक ५३ रन जोडे । यस्तै, मोइन अलीले २६, एबी डिभिलियर्सले २५, अक्षदीप नाथले २४ र मार्कस स्टोनिसले १४ रनको योगदान दिए । 

दीपक चहर, रविन्द्र जडेजा र ड्वेन ब्राभोले समान दुई तथा इमरान ताहिरले एक विकेट लिए ।