हामी चुकेको ठाउँ र चिन्न नसकेको वातावरणीय वैभव

हामी चुकेको ठाउँ र  चिन्न नसकेको वातावरणीय वैभव

कैलाशकुमार सिवाकोटी  |  ज्ञानविज्ञान  |  चैत्र १८, २०७७

 जति मानिस विकसित हुँदैन, विज्ञानले विकासको बाटो समात्दैछ । विडम्बना विकास कम विनास बढी निम्त्याइरहेको छ । प्रकृतिलाई बचाउँने नाममा सिध्याउने क्रियाकलापहरू निरन्तर जारी छन् । यसको प्रत्यक्ष मार वातावरण/पर्यावरणमाथि परिरहेको छ । वातावरणको हक मानिसले प्रकृति अनुकूल बाँच्न पाउने अधिकार हो । अहिले वातावरण घरेलु सरोकारको  विषय मात्र नभई अन्तर्राष्ट्रिय चासोको विषय बन्न पुगेको छ । वर्तमान सम्यताको युगमा वातावरणको अवस्था दिनानुदिन खस्किरहेको छ । वैज्ञानिक तथा भौतिक विकास, आधुनिक प्रविधिको विकास, बढ्दो सहरीकरण आदि कारणबाट वनविनास र पानी, धुँवा, ध्वनि, वायु प्रदूषणले वातावरण विनासको तीब्र गतिमा अगाडि बढेको छ ।

मानव जाति र प्रकृतिबिच सन्तुलन, तादात्म्यता र पर्यावरणीय चक्र खलबलिन गएको छ । जनसङ्ख्याा वृद्धि, वातावरणप्रतिको लापरबाही, अशिक्षा आदि कारण स्वच्छ पानी वा कलकल पानी बग्नु पर्ने नदीनाला, तालतलैया र सार्वजनिक स्थाल फोहोर सजाउँने स्थानमा रूपान्तरित हुन पुगेका छन् । खाद्यान्न र आवासका लागि जङ्गल फडानीले निरन्तरता पाइरहेकाे छ । पानीका मुहानहरू सङ्कटमा पर्दै गइरहेका छन् । यसको अप्रत्यक्ष असर उर्जा सङ्कटमा परेको छ । विकसित मुलुकका ठुला–ठुला उद्योगधन्दा, कलकारखानाले उत्पादन गर्ने सल्फर डाइअक्साइड, नाइट्रोजन अक्साइड, कार्वन मनोअक्साइड, हाइड्रो कार्वनजस्ता वस्तु सोझै प्रवाहित हुँदा त्यसको प्रतिकूल प्रभावले पृथ्वीमा अम्ल वर्षा, हरित गृहमा असर पर्नुका साथै सूर्यबाट आउँने हानिकारक किरणलाई रोक्ने सुरक्षा तह पातलिँदै गई जलवायुको विषमता देखापरेको छ । ओजन तह पातलिएको कारण विश्वव्यापी तापक्रम वृद्धि हुँदा हिम नदीहरू पग्लिदै गई पानीका मुहानहरू सुक्ने, मरुभूमिकरण एवम् समुद्र सतह वृद्धि भई कतिपय देशहरू नै डुबाउको स्थितिमा पुग्न लागेका छन् । 

वातावरणको ऐतिहासिक पक्ष निकै पुरानो छ । वास्तवमा भन्ने हो भने कृषिकृत मानवभन्दा पहिलका अर्थात शिकारी र खाद्यान्न सङ्ग्रह गर्ने मानिसहरू व्यवहारिक वातावरणवादी थिए । उनीहरू समृद्धशाली वातावरणमा बासस्थान गर्दथे । उनीहरूको प्रकृतिकसँग अन्योन्याश्रित सम्बन्ध रहेको थियो । उनीहरूलाई आजभोलिका वातावरणविद्भन्दा बढी बोटविरुवा र जनावरहरूबारे जानकारी राख्दथे । (कोइराला तीर्थ, वियोण्ड बेजिङ कमिटीद्वारा आयोजित कार्यक्रममा 'महिला र वातावरण' विषयक प्रस्तुत कार्यपत्रबाट उधृत) पृथ्वीमा विद्यमान पदार्थहरूलाई मावीय प्रयत्नबाट निर्माण वा विनास गर्न सकिन्नँ । शक्ति वा उर्जाको आधारमा पदार्थको रूपमा परिवर्तन गर्न सकिन्छ । यो केवल मानिसको आनन्द वा सुखभोगको लागि प्रयोग हुँदै आएको छ । पृथ्वीमा प्राकृतिक रूपमा पाइने प्रत्येक पदार्थ सीमित छ । वन–जङ्गल, खनिज, हावा, पानी, माटोजस्ता मानिस र पृथ्वीलाई जिवित राख्ने आधारहरूको पनि निश्चित सीमा छ ।

कारण हामीमात्र होइनौँ, धनी, सभ्य, विकसित, औधोगिक, लोकतान्त्रिक भनिएका मुलुकहरूको भागमा जिम्मेवारीको हिस्सा ठुलो छ । यति भनिरहँदा जबसम्म हामी हाम्रो विगतको वैभवलाई भत्काउँछौँ, त्यसको प्रतिफल हामीले चाख्नै पर्छ, जो अहिले स्वादसँग चाखिरहेका छौँ । अरूसँग जोडिनु हुँदैन, गतिला र असल कुरा ग्रहण गर्नुहुँदैन भनेको होइन, मात्र यति हो हिजो हाम्रा पुर्खा किन ऋषिमुनि भए, हामी किन सिसीमुनि भयौँ भन्ने जिज्ञासमा घोत्लियौँ र व्यवहा बदलौँ भन्नेमात्र हो । 

स्वच्छ वातावरण, दीगो विकासको नाममा अन्तर्राष्ट्रिय महासन्धि, राष्ट्रिय कानुनको कुनै खडेरी छैन । दर्जनौ घोषणापत्र, महासन्धि बनेका छन् । सबै पश्चिमकै जस्तो गरी अध्ययन पनि भइरहेको छ । लाग्छ, हाम्रो केही थिएन, हामी तन्नम नै हौँ ! भएका पनि चिनेनौँ, बुझेनौँ, असभ्य र पाखेपनमा लगेर जोड्यौँ । यो अवस्था किन आयो ? हामीले हाम्रो वैभवलाई किन चिन्न सकेनौ, आफ्नै सन्तानको गोडमेल, मलजल, संरक्षणबाट किन भाग्यौँ ? सायद यी र यस्ता प्रश्नले हामीलाई लखेटिरहने छ । भावी पुस्ताको प्रश्नले पनि हामीलाई छोड्नै छैन । 

के थियो त हाम्रो वैभव ?  

पूर्विय दर्शनमा वेदलगायतका विभिन्न ग्रन्थहरूमा वातावरणसम्बन्धी विषयलाई प्राथमिकतका साथ चर्चा गरिएको पाइन्छ । सूर्य, चन्द्र, वायु, आकाश, इन्द्र (बादल) लगायतका आदि प्राकृतिक तत्वहरूलाई देवताको रूपमा उल्लेख गरिएको छ । हिमाल, पहाड, नदी, समुद्र आदिलाई पवित्रस्थल ठानी आज पनि पुजिँदै आएको अवस्था छ । अहिले पनि दिवंगत व्यक्तिको मुखमा मुक्तिको कामनासहित नदीको जल अर्पण गरिन्छ । हिन्दू मतले मानिसको शरीरलाई पञ्च तत्व (पृथ्वी, आकास, जल, वायुु र सूर्य) को मिलन मान्दछ । यसै आधारमा मानिसका अङ्गप्रत्यङ्ग निर्माण वा विकसित भएका हुन्छन् । मानिसको मृत्युपछि शरीररूपी पञ्च तत्व वातावारणमा विलिन हुने विश्वास गरिन्छ । प्रकृतिको हरियालीले वातावरणलाई स्वच्छ र स्वस्थ्य बनाउछ । जैविक विविधताको संरक्षण गर्दछ । यसको फाइदाको भागिदार मानव समुदाय बन्दछ । बोटविरुवा रोप्नु .(विशेषतः वरपिपल, तुलसी आदिको विरुवा रोप्नु, मलजल गर्नु, पुजा गर्नुपछाडि रहेको उद्देश्य स्वच्छ वातावरणलाई जन्म दिनु हो । केही उदाहरण हेरौँः 

(क) तुलसी : साउन महिनाको हरिशयनी एकादशीमा प्रायःको घरमा तुलसीको विरुवा रापी जल चढाइन्छ । यसलाई विष्णुको रूपमा पुजा गरिए पनि वातावरण स्वच्छ तुल्याउन महत्त्वपूर्ण भूमिका हुन्छ । यसअलवा रुघाखोकी, ज्वरो आदिको औषधी पनि मानिन्छ । 

(ख) पिपल: पिपललाई धार्मिक रूपमा पुजाआजाको विशेषता एकातिर छ । अर्कोतिर अक्सिजन प्रवाह गर्ने हुनाले यसको सिधा सम्बन्ध मानिसको स्वास्थ्य र वातावरणसँग छ । 

(ग) कुशः  सामान्यतया श्राद्धको लागि पवित्र कार्यमा प्रयोग गरिन्छ । ग्रहण लागेको बेलामा फैलने विकीरणलाई रोक्न वा त्यसको प्रभाव न्यून गर्न अस्वस्थ खानेकुराको साथमा कुश राखिन्छ । चट्टानबाट जोगिन पनि घरको छत÷छानामा यसलाई राखिने गरिन्छ । 

विभिन्न चाँडपर्वहरूमा जनावर, पंक्षी आदिको पुजाआजा गरिन्छ । नागपञ्चमीमा नाग, तिहारमा काग, कुकुर, गाईगोरुलाई पुजिन्छ, खान दिइन्छ । यसको कारण हो, वातावरण संरक्षण, स्वस्थ्य जीवनको लागि उनीहरूको विशेष भूमिका खेलेका हुन्छन् ।  

सत्यं बहदृतमुग्रं दीक्षा तपो ब्रहम यज्ञः पृथिवींधारयन्ति ।
सा नो भूतस्य भव्यस्य पत्न्युरुं लोकं पृथिवी नःकृणोतु ।। ( अथर्ववेद १२.१.१)

सत्य, ईश्वरीय ज्ञान, यज्ञ, तथा तपद्वारा पृथ्वी माता अस्तित्वमा छिन् । तिनले हामी सबैलाई आफ्नो वक्षस्थलमा स्थान दिउन् ।

असंबाधं बध्यतो मानवानां यस्या उद्वतः प्रवतः समंबहु ।
नवनावीर्या ओषधीर्या बिभर्ति पृथिवी नः प्रथतांराध्यतां नः ।। ( ऐ.१२.१.२)

स्वाभाव वा गुणमा भिन्नता भए पनि मानिसहरूलाई एक सूत्रमा बाँधेको छ । विभिन्न प्रकारका बोटविरुवा तथा रोग निरोधक जडिबुटीहरूले भरिएकी धर्तीमाताले हामीलाई धनधान्य र स्वस्थ बनाउन् ।

यस्यां समुद्र उत सिन्धुरापो यस्यामन्नं कृष्टयःसंबभूवुः ।
यस्यामिदं जिन्वति प्राणदेजत्सा नो भूमिः पूर्वपेयेदधातु ।। (ऐ.१२.१.३) 

पृथ्वीमै समुद्र, महासागर, नदी, तलाउ, पोखरी आदि जलाशयहरू छन्, जहाँ सबै किसिमका अन्न, फलफूल, सागपात प्रशस्त उब्जाउ हुन्छन् । सारा प्राणीहरू सुखी र खुसीसाथ यिनकै आश्रयमा बांचिरहेछन्  सुखी र खुसी पनि छन्  । यो  धर्ती हाम्रा लागि उपभोग्य वस्तु र ऐश्वर्य प्रदान गर्ने होस् ।

यत्ते मध्यं पृथिवि यच्च नभ्यं यास्त ऊर्जस्तन्वःसंबभूवुः
तासु नो धेहभि नः पवस्व माता भूमिः पुत्रो अहंपृथिव्याः ।
पर्जन्यः पिता स उ नः पिपर्तु ।। ( ऐ.१२.१.१२) 

हे धर्तीमाता ! तिम्रो शरीरको मध्य भाग वा नाभीबाट उब्जाउशील पोषण पदार्थ हामीलाई पनि दिई सबैतिरबाट पवित्र बनाऊ । यो धर्ति सबैकी माता हुन, हामी सबै उनका सन्तान हौँ । उत्पादकत्वको रूपमा रहेका पूर्वज्य हाम्रा पिता हुन्, उनले हामीलाई भरिपूर्ण बनाउन् ।
यजुर्वेदको एउटा अर्को श्लोकमा सबै प्राणीहरूसित मित्रवत् व्यवहार गर्नुपर्ने शिक्षा दिँदै भनिएको छ, 

दृते दृथ्९श मा मित्रस्य मा चक्षुषा सर्वािण भूतानि समीक्षन्ताम् ।
मित्रस्याहं चक्षुषा सर्वािण भूतानि समीक्षे।
मित्रस्य चक्षुषा समीक्षामहे।। ( यजुर्वेद ३६।१८)

हे परात्मा ! हामीलाई सक्षम बनाऊ । सबै प्राणीले हामीमाथि मित्रभाव राखुन्, हामी पनि त्यस्तै भाव राख्छौँ । हामी एकअर्कालाई मित्र भावले हेरौँ ।

माथि उल्लिखित अवधारणा वा विचारबाट स्पष्ट हुन्छः मानिस र प्रकृतिबिचको सम्बन्ध, वातावरण र मानिसबिचको अन्योन्याश्रित सम्बन्ध ! प्राकृतिक नियमभन्दा बाहिर गई गरिने क्रियाकलाप अन्तत्वगत्वा मानव जीवनकै लागि घातक बन्न जाने निश्चित छ । अथर्ववेदको भूमि सूक्तमा यस्ता धेरै अनुकरणीय विचारहरू प्रवाह गरिएका छन् । यसमा अन्नबाली, बोटविरुवा, किराफटयाङ्ग्रा एवम् जीवजन्तुको वातावरण संरक्षणमा भूमिका कति महत्त्वपूर्ण हुन्छ भनी प्रष्ट्याएको छ । प्राकृतिक नियमको पालनामा जोड दिँदै आपसी समन्वयात्मक तवरबाट जीवन सञ्चलान गर्नुपर्नेमा जोड दिइएको छ । 

अहिले काठमाडौँलाई विश्वकै प्रदूषित शहरको रूपमा चित्रित गरिएको छ । कारण हामीमात्र होइनौँ, धनी, सभ्य, विकसित, औधोगिक, लोकतान्त्रिक भनिएका मुलुकहरूको भागमा जिम्मेवारीको हिस्सा ठुलो छ । यति भनिरहँदा जबसम्म हामी हाम्रो विगतको वैभवलाई भत्काउँछौँ, त्यसको प्रतिफल हामीले चाख्नै पर्छ, जो अहिले स्वादसँग चाखिरहेका छौँ । अरूसँग जोडिनु हुँदैन, गतिला र असल कुरा ग्रहण गर्नुहुँदैन भनेको होइन, मात्र यति हो हिजो हाम्रा पुर्खा किन ऋषिमुनि भए, हामी किन सिसीमुनि भयौँ भन्ने जिज्ञासमा घोत्लियौँ र व्यवहा बदलौँ भन्नेमात्र हो ।