सेना जनताको आस्था र भरोसाको केन्द्र : प्रधानसेनापति थापा

सेना जनताको आस्था र भरोसाको केन्द्र : प्रधानसेनापति थापा

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १८, २०७७

बर्दिवास । प्रधानसेनापति पूर्णचन्द्र थापाले सेना जनताको आस्था र भरोसाको केन्द्र र एकताको प्रतीक रहेको बताउनुभएको छ ।

मध्यपूर्वी पृतना मातहतका जिल्लामा बसोबास गर्ने भूतपूर्व सैनिकका प्रतिनिधिलाई आज बर्दिवासमा सम्बोधन गर्दै उहाँले मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय एकता कायम गर्नु सेनाको परम्कर्तव्य भएको स्पष्ट गर्नुभयो ।

प्रधानसेनापति थापाले भन्नुभयो, “हामी आफ्नो कर्तव्यपथमा अडिग रही संविधानले सुम्पिएको विशिष्ट जिम्मेवारी पूरा गर्न जस्तोसुकै परिस्थितिको सामना गर्न सदैव तयार छाँै र भविष्यका लागि पनि तयार रहने छाँै ।”

पुर्खाले रचेको सुनौलो र गौरवमय इतिहासलाई जीवन्त राख्न हामी समर्पित रही कर्तव्यपथमा  अघि बढिरहेको बताउँदै सेनाले जनचाहनाअनुरुप परिवर्तन र परिमार्जन हँुदै आएको राज्य सञ्चालन प्रणालीलाई स्वतस्फूर्तरुपमा आत्मसात् गर्दै संविधान प्रदत्त जिम्मेवारी बहन गर्न निःस्वार्थ त्याग, बलिदान र योगदानले सेनाको विशिष्ट छवि अक्षुण्ण बनाउँदै आएको जनाएको छ ।

प्रधानसेनापति थापाले भन्नुभयो, “सेनाको भूमिकालाई अक्षुण्ण राख्ने कार्यमा भूपूसैनिकको भूमिका महत्वपूर्ण हुन्छ, अग्रज र हामीले बगाएको रगत पसिनाले राष्ट्रिय स्वाधीनता, अखण्डता कायम राख्न अहम् भूमिका खेलेको तथ्य इतिहासको पानामा स्वर्णिम अक्षरले कुँदिएका छन् ।”

हामीसँग वीरपुर्खाको त्याग, समर्पण, बलिदान, कर्तव्यपरायण, अटल राष्ट्रभक्ति, जीवन्तता र गौरवमय इतिहास रहेको उल्लेख गर्दै उहाँले हाम्रो इतिहास, गौरवमय परम्परा, उच्चस्तरको चेनअफ कमान्ड, अराजनीतिक चरित्र, एकताको भावना, अविछिन्न साङ्गठनिक लक्ष्यबाट निर्देशित रहँदै आएको  बताउनुभयो । कुशल व्यावसायिकीकरण राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा समेत भरपर्दो, विश्वसनीय र व्यावसायिक फौजका रुपमा स्थापित सेनाले राष्ट्रिय स्तरमा आर्जन गरेको उत्कृष्ट छवि र विश्वासका आधारमा सरकारले सामरिक महत्वका राष्ट्र विकास र निर्माणमा सहभागी गराउँदै आएको छ ।

मुलुकको शान्ति सुव्यवस्था र स्थिरताको खातिर सेनाले गर्दै आएको योगदानले सबैलाई गौरवको अनभूति भइरहेको बताउँदै प्रधानसेनापति थापाले परिवर्तित परिस्थितिमा संविधानअनुरुप प्रादेशिक तहमा सेनाको साङ्गठानिक स्वरुपको व्यवस्थापन गर्दै प्राथमिक  र विशिष्ट जिम्मेवारी बहन गर्दै आएका छौँ भन्नुभयो ।

सम्मेलनमार्फत सेनाले साझा सरोकारका विषयमा जानकारी लिँदै राष्ट्र र सेनाका लागि भूपूसैनिकले गरेको समर्पणको यथोचित सम्मान गर्दै आएको छ ।