बोल्सोनारो सङ्कटको भुमरीमा: दुई मन्त्री, सेना, नौ सैनिक तथा हवाई सेनाका प्रमुखको एकसाथ राजीनामा !

बोल्सोनारो सङ्कटको भुमरीमा: दुई मन्त्री, सेना, नौ सैनिक तथा हवाई सेनाका प्रमुखको एकसाथ राजीनामा !

लोकसंवाद संवाददाता  |  विदेश  |  चैत्र १९, २०७७

अघिल्लो एक दशकमा विश्वका धेरै देशमा राजनीतिक परिवर्तनसँगै दक्षिणपन्थी नेताहरुको उदय भयो । एसियादेखि युरोप र अमेरिकी महादेशमा समेत राष्ट्रवादको नाममा अति दक्षिणपन्थी राजनीति हावी हुन पुग्यो । यसैको परिणाम थियो अमेरिकामा डोनाल्ड ट्रम्प र ब्राजिलमा जायर बोल्सोनारोको उदय । अमेरिकामा निकै विवादित कार्यकाल बिताएका ट्रम्प गत जनवरीमा एक कार्यकाल पूरा गरेर ह्वाइट हाउसबाट बिदा भए ।

 ट्रम्पसँगै मिल्दोजुल्दो धारणा राख्ने ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो दुई वर्षअघि राष्ट्रपतिमा निर्वाचित भएका थिए । चर्चित वामपन्थी नेता तथा पूर्वराष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई कथित भ्रष्टाचारको आरोपमा उम्मेदवार बन्न नदिइएको निर्वाचनमा बोल्सोनारो फर्नान्डो हाडाडलाई हराउँदै राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनी ब्राजिलको राष्ट्रपतिमा निर्वाचित भएदेखि एकपछि अर्को गर्दै विवादित निर्णय गरिरहेका छन् । प्रशासनमा गरिरहेको हस्तक्षेपका कारण उनको छवि झनै धुमिलिदै गइरहेको छ

यसैक्रममा त्यहाँका सेना, नौसैनिक र हवाई फौजका प्रमुखले एकसाथ राजीनामा दिएपछि उनीमाथि अर्को संकट आइपरेको छ । उनी आफैं राजनीतिक संकटको सामना गरिरहेका बेला सेना, नौसैनिक तथा हवाई फौजका प्रमुखको एकसाथ आएको राजीनामाले उनलाई अर्को धक्का लागेको छ । 

राष्ट्रपतिले सेनामाथि अनावश्यक दबाव दिने प्रयास गरेको भन्दै उनीहरूले राजीनामा दिएका छन् । सोमवार मात्रै ब्राजिलका विदेश तथा रक्षामन्त्रीले राजीनामा दिएका थिए । गत वर्ष कोरोना नियन्त्रणको विषयमा भएको मतभेदका कारण स्वास्थ्यमन्त्रीले राजीनामा दिएका थिए । सोमबार दुई मन्त्रीले राजीनामा दिएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्न बोल्सोनारो बाध्य भएका थिए । कोरोना भाइरस नियन्त्रणमा ब्राजिलले देखाएको गैरजिम्मेवारीपनका कारण त्यहाँ विश्वकै दोस्रो ठूलो संक्रमित संख्या छ भने हाल पनि सबैभन्दा बढी मृत्यु र संक्रमित ब्राजिलमा नै भइरहेका छन् । कोरोनाभाइरस महामारीलाई लिएर उनको लोकप्रियता कमजोर बन्दै गएको छ । दुई वर्षअघि सत्तामा आएका दक्षिणपन्थी नेता बोल्सोनारोले कोरोना नियन्त्रणका लागि सामाजिक दुरी, क्वारेन्टाइन र सुरक्षात्मक उपायहरुको विरोध गर्दै आएका छन् । 

राष्ट्रपतिसँग मतभेद भएर ब्राजिलका सेना, नौसैनिक तथा हवाई सेनाका प्रमुखहरूले एकसाथ राजीनामा दिएको यो त्यहाँको पहिलो घटना हो । बोल्सोनारो प्रति वफादार विदेशमन्त्रीले सांसदहरूको आलोचनापछि राजीनामा दिएका थिए । त्यसको भोलिपल्टै सेना, नौसैनिक तथा हवाई फौजका प्रमुखहरूको राजीनामा दिएका हुन् । विदेशमन्त्रीमाथि चीन, अमेरिका र भारतसँग सुमधुर सम्बन्ध बनाउन नसकेको आरोप थियो । विदेशमन्त्रीको राजीनामा लगत्तै रक्षामन्त्रीले राजीनामा दिएका थिए । 

जनस्वास्थ्य सम्बन्धी नियमका कारण अर्थतन्त्रमा प्रभाव पर्ने उनको तर्क रहँदै आएको छ । कोरोना भाइरसबाट अति प्रभावित भएपनि उनले आम जनतालाई समेत त्यसबारे कुनै प्रचार नगर्न आग्रह गर्दै आएका छन् भने उनले गत वर्ष कोरोनाको तथ्यांक संकलन र सार्वजनिक गर्न नै रोक लगाएका थिए । ब्राजिलमा कोरोनाका कारण हालसम्म तीन लाख १८ हजारको मृत्यु भइसकेको छ भने एक करोड २७ लाख संक्रमित भइसकेका छन् । 

राष्ट्रपतिसँग मतभेद भएर ब्राजिलका सेना, नौसैनिक तथा हवाई सेनाका प्रमुखहरूले एकसाथ राजीनामा दिएको यो त्यहाँको पहिलो घटना हो । बोल्सोनारो प्रति वफादार विदेशमन्त्रीले सांसदहरूको आलोचनापछि राजीनामा दिएका थिए । त्यसको भोलिपल्टै सेना, नौसैनिक तथा हवाई फौजका प्रमुखहरूको राजीनामा दिएका हुन् । विदेशमन्त्रीमाथि चीन, अमेरिका र भारतसँग सुमधुर सम्बन्ध बनाउन नसकेको आरोप थियो । विदेशमन्त्रीको राजीनामा लगत्तै रक्षामन्त्रीले राजीनामा दिएका थिए । 

सन् २०१९ को जनवरीमा बोल्सोनारो ब्राजिलको सत्तामा आएका हुन् । त्यसयता उनले पहिलोपटक यति ठूलो संकटको सामना गर्नुपरेको हो । अमेरिकी राष्ट्रपति ट्रम्पको कार्यकामा धेरै अधिकारीहरुले उनको प्रशासन छाड्ने गरेका थिए। अहिले बोल्सोनारोको प्रशासनमा पनि तीव्र असन्तुष्टि चुलिएको छ । यसले त्यहाँको दक्षिणपन्थी सरकारलाई संकटमा धकेलिदिएको छ ।