कोरोनाका कारण मिस्ट्रीखोलाको परीक्षण उत्पादन प्रभावित

कोरोनाका कारण मिस्ट्रीखोलाको परीक्षण उत्पादन प्रभावित

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १९, २०७७

म्याग्दी । कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन समयतालिका प्रभावित भएको छ । 

माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रवर्द्धक रहेको मिस्ट्रीखोला आयोजनाले चैत १७ गते मङ्गलबारदेखि परीक्षण उत्पादन शुरु गर्ने तयारीसहित समय तालिका बनाएको थियो । गत हप्ता आयोजनामा काम गर्न भारतबाट आएका पाँचमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीहरुको नजिकको सम्पर्कमा रहेका ७६ को स्वाबको नमूना सङ्कलन गरेर परीक्षणका लागि पठाइएको थियो । 

पोखरास्थित प्रयोगशालामा गरिएको स्वाब नमूनाको परीक्षणका क्रममा मिस्ट्रीखोलामा कार्यरत ११ र एकजना स्थानीयवासीमा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएको अन्नपूर्ण गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक समुन्द्र बरुवालले बताउनुभयो । स्वास्थ्य अवस्था सामान्य रहेका सङ्क्रमितलाई नारच्याङमा रहेको कोरोना अस्पतालमा राखिएको छ । 
 
निर्माण भएका संरचना तथा जडान गरिएका उपकरणको परीक्षण सके पनि कर्मचारी र प्राविधिकलाई कोरोना पुष्टि भएपछि पूर्व निर्धारित समयतालिका अनुसार परीक्षण उत्पादन गर्न समस्या भएको आयोजनाका स्थानीय प्रतिनिधि चूडामणि निरौलाले बताउनुभयो । “सङ्क्रमित कर्मचारीलाई छुट्टै आइसोलेसनमा राखेर विद्युत्गृहको काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “स्थानीय सरोकारवाला र आयोजना व्यवस्थापन पक्षसँग समन्वय गरेर स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै आयोजना सञ्चालनका लागि पहल गरेका छौँ ।”

सुरुङ, पेनस्टक पाइपलाइन र विद्युत्गृहको परीक्षण सरेको आयोजनाले २०७८ वैशाख १ गतेदेखि व्यावसायिक विद्युत् उत्पादन गर्ने समय तालिका बनाएको थियो । विद्युत्गृहमा जडान भएको जेनेरेटर, टर्वाइन र ट्रान्सफर्मरको पनि परीक्षण सकिएको छ । बेँसीगाउँदेखि दानास्थित २२० केभी क्षमताको सवस्टेशन जोड्ने १३२ केभी क्षमताको चार किलोमिटर प्रसारण लाइनको परीक्षण सफल भइसकेको छ । 

सन् २०१६ को जुन १३ मा शुरु भएको आयोजनाले नीलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध बनाएको छ । दुई हजार २७०।५ मिटर सुरुङबाट ल्याएको पानी २५० मिटर उचाइबाट खसालेर विद्युत् उत्पादन गर्न एक हजार ५०० मिटर पेनस्टक पाइप जडान गरेको छ । बेँसीगाउँस्थित कालीगण्डकी नदीको बायाँ किनारमा बनाइएको विद्युत्गृह नजिकै स्विचार्ड निर्माण गरेको छ । बाँध क्षेत्रमा ११५ मिटर लम्बाइ, ८।५ मिटर चौडाइ र १३ मिटर गहिराइ भएको दुई वटा भूमिगत बालुवा थिग्राउने पोखरी ९क्यानल० बनाएको छ ।