धोनी आइपिएलमा दुई सय छक्का प्रहार गर्ने पहिलो भारतीय

धोनी आइपिएलमा दुई सय छक्का प्रहार गर्ने पहिलो भारतीय

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख ९, २०७६

काठमाडौं । चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनी इण्डियन प्रिमियर लिग (आइपिएल)मा दुई सय छक्का प्रहार गर्ने पहिलो भारतीय बनेका छन् । 

उनले आइतबार राती रोयल च्यालेन्जर्स बैंग्लौरविरुद्धको खेलमा यो कोशेढुंगा पार गरेका हुन् । उक्त खेलमा उनले सात छक्का प्रहार गरेका थिए । यससँगै आइपिएलमा उनको छक्का संख्या २०३ पुगेको छ । 

उनीपछि आइपिएलमा सबैभन्दा बढी छक्का प्रहार गर्ने भारतीय खेलाडीको सूचीमा मुम्बई इण्डियन्सका रोहित शर्मा छन् । उनले १९० छक्का प्रहार गरेका छन् ।शर्मा सर्वाधिक छक्का प्रहार गर्ने सूचीमा भने चौथो छन् । 

धोनी तेस्रो 

धोनी आइपिएलमा सर्वाधिक छक्का प्रहार गर्नेको तेस्रो स्थानमा छन् ।

यो सूचीमा पहिलो स्थानमा किंग्स इलेभन पञ्जावमा क्यारेबियन खेलाडी क्रिस गेल छन् । उनले अहिलेसम्म ३२३ छक्का प्रहार गरेका छन् । दोस्रो स्थानमा रोयल च्यालेन्ज बैंग्लोरका दक्षिण अफ्रिकी खेलाडी एबी डिभिलियर्स छन्। उनले अहिलेसम्म २०४ छक्का प्रहार गरेका छन् । 

चालू सिजनमा सबैभन्दा लामो छक्का 

धोनीले चालू सिजनमा सबैभन्दा लामो छक्का प्रहार गरेका छन् । उनले आइतबार राती बैंग्लोरविरुद्धको २० औं ओभरको दोस्रो बलमा १११ मिटर लामो छक्का प्रहार गरेका थिए । बैंग्लोरको तर्फबाट यो ओभर उमेश यादव फ्याक्न आएका थिए ।