‘प्रेक्षित’को ‘म, माटो र मुटु’ कविता सङ्ग्रह : देश प्रेम र छचल्किएका उच्च वैचारिक भाव

‘प्रेक्षित’को ‘म, माटो र मुटु’ कविता सङ्ग्रह : देश प्रेम र  छचल्किएका उच्च वैचारिक भाव

पूर्ण इन्फादा  |  साहित्य  |  चैत्र २०, २०७७

लामो समयदेखि शिक्षण पेसामा आबद्ध छन् । नेपाल संस्कृत विश्वविद्यालयमा प्राध्यापन गर्छन् । अनि बचेको सम्पूर्ण समय साहित्य सिर्जनामा समर्पण गर्छन् । हाल नेपाल प्रज्ञा प्रतिष्ठानमा सदस्यसचिव छन् । साहित्यका माध्यमबाट उत्पीडितहरूको पक्षमा आवाज उठाउँछन् र सधैँ माटोको टीका लगाएर नेपाली राष्ट्रियतालाई शिरमा बोकेर हिँड्छन् । हो उनै प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’ (वि.सं.२०२५) को जनता विद्यापीठ, बिजौरी, दाङ स्ववियुको मुखपत्र ‘आमोद’ मा ‘मेरो चाहना’ शीर्षकको कविता २०४५ सालमा प्रकाशित भयो ।

त्यसपछि उनको साहित्यिक यात्राको रफ्तार निरन्तर अगाडि बढिरहेको छ, अहिलेसम्म रोकिएको छैन । बहुमुखी प्रतिभाका धनी कवि ‘प्रेक्षित’ ले आफ्नो साहित्यिक यात्राको प्रारम्भमा लेखिएका थुप्रै फुटकर रचनाहरू काठमाडौँको संघर्षमय जीवन भोगाइका क्रममा हराए तर आफ्नो लक्ष्यबाट उनी कहिल्यै विचलित भएनन् । बहुमुखी विशिष्ट प्रतिभा भएका ‘प्रेक्षित’ ले साहित्यिक लेखनको आरम्भ काव्यबाट गरे पनि समालोचना, बालसाहित्य र अनुसन्धानात्मक लेखन विधामा पनि उत्तिकै सशक्त रुपमा कलम चलाइरहेका छन् । तर उनको मूल लेखन भनेको चाहिँ काव्यलेखन नै हो । उनी साहित्यमा विचारको खोजी गर्छन् र विचारविहीन साहित्यलाई भद्दा, कुरुप र शब्दहरूको थुप्रो मात्र ठान्छन् । उनी जहिले पनि उत्पीडित वर्ग, समुदाय, जाति आदिको पक्षमा उभिन्छन् भने उत्पीडकको विपक्षमा । 

यस्ता वैैचारिक लेखनका पक्षपाती ‘प्रेक्षित’को लेखनमा सधैँ सामाजिक, वैचारिक र वर्गीय यथार्थ झल्किएको हुन्छ भने अर्कोतिर मानिसको जीवनको समृद्धिको खोजी गरिएको हुन्छ । कृतिगत रुपमा कवि ‘प्रेक्षित’का २०५० सालदेखि अहिलेसम्म आधा दर्जनभन्दा बढी काव्य कृतिहरू प्रकाशित भइसकेका छन् । वि.सं. २०५० मा आकुञ्चन (संयुक्त कवितासङ्ग्रह), (ज्वाला खण्डकाव्य,२०५४), कमिलाको एकता(बालकवितासङ्ग्रह, २०५९), समयका छालहरू (कवितासङ्ग्रह, २०६०), हिमाल हेर्न जाऔँ (बालकवितासङ्ग्ह, २०६५), आरम्भ (हाइकुसङ्ग्रह, २०७५) र म, माटो र मुटु (कवितासङ्ग्रह, २०७५) काव्य कृतिहरू प्रकाशित भइसकेका छन् । यसका अलावा उनले सेता हाँस र मुसाहरू (सचित्र बालकथा, २०६६), नेपाल प्रज्ञा प्रतिष्ठानका गौरवमय साठी वर्ष (अनुसन्धान, २०७४), आलोचनात्मक भूमिकाहरू (२०७५), काव्य परिशीलन (समालोचना, २०७५) आदि कृतिहरूले उनी अन्य विधागत लेखनमा पनि उत्तिकै सिद्धहस्त रुपमा कलम चलाइरहेका छन् भन्ने कुरा पुष्टि गर्छन् । उनले विभिन्न पत्रपत्रिका र पुस्तकहरूको पनि कुशलतापूर्वक सम्पादन गरेका छन् । तर यहाँ उनको पछिल्लो काव्यकृति ‘म, माटो र मुटु’ को सामान्य परिचर्चा गरिएको छ ।

कवि ‘प्रेक्षित’को ‘म, माटो र मुटु’ कविता सङ्ग्रहका चालीस ओटा कवितामा बहुरङ्गी छन्दमा खेल्दाखेल्दै पनि अनुष्टुप, शार्दूलविक्रीडित र उपजाति छन्दमा अलि बढी खेल्न रुचाएका छन् । यस कृतिमा कविले जनमानसले बुझ्ने सरल र सुललित भाषाशैली अनि बिम्ब–प्रतीकको प्रयोग गरेका छन् । बिचारमा प्रतिबद्ध कवि पे्रक्षितका सबै कवितामा वैचारिक पक्ष सबल देखिन्छ भने देशप्रतिको माया उत्कट रुपमा छचल्किएको पाइन्छ ।

म, माटो र मुटु (कवितासङ्ग्रह, २०७५) मा चालीस ओटा फुटकर कविताहरू सङ्गृहित छन् । यस कृतिमा २०५१ सालदेखि २०७५ सालसम्म रचना गरेका उत्कृष्ट कविता समाविष्ट छन् । यस कृतिभित्रका प्रायः कविताहरूले राष्ट्रभक्ति, राष्ट्रियता र माटोको मायालाई उजागर गरेका छन् । जब हामीसँग स्वतन्त्र देश हुन्छ तब मात्रै हाम्रो छाती स्वाभिमानले फुल्छ, त्यहाँ सिर्जनशील हातहरूले सिर्जनाका नयाँ नयाँ कर्महरू गर्न पाउँछन् । अनुष्टुप छन्दमा लेखिएको तलको कवितांशले पनि यस्तै भाव ओकलेको पाइन्छः 

हाँसो फुट्तछ माटामा फक्रन्छन् कोपिलाहरू ।
श्रमदाना बनी झुल्छन् माटाका आँकुराहरू ।।

माटो अस्तित्व धर्तीको सुनौलो परिचायक । 
सृष्टि सौन्दर्य स्रष्टा हो माटो नै सुखदायक ।।

यदि माटो नहुँदो हो त कुनै प्राणी जगत्को परिकल्पना गर्न सकिने थिएन । पृथ्वी सिर्जनशील र कर्मशील मान्छेका लागि सबभन्दा ठूलो परिचय हो । आफ्नो कर्मका माध्यमबाट यसैमा मान्छेले आफ्नो पहिचानको खोजी गरिरहेको हुन्छ ।  आफ्नो र माटोको परिचय मान्छेले श्रमका माध्यमबाट पृथ्वीमै खोजिरहेको हुन्छ भन्ने यथार्थलाई प्रस्तुत गरिको छ ।

कडा चट्टान फोरेर विद्युती रेलमा तिमी ।
तीव्र रफ्तारमा गुड्दै गुड्दै गरेको देख्छु मै पनि ।।

के आकाश ? कहाँ धर्ती ? खै अन्तर कहाँ छ र ?
रेसमी मार्गमा बाँधौँ फेरि मन परस्पर ।।
                        (सगरमाथाकने देशबाट ग्रेटवाललाई सलाम/म, माटो र मुट, पृः ५६) 

अनुष्टुप छन्दमा लेखिएको माथिको कवितांशमा कवि ‘प्रेक्षित’ले नेपाल र चीनको समृद्धिको तुलना गरेका छन् । नेपाल र चीनसँगसँगै जस्तो स्वतन्त्र भएका देश हुन् । तर चीनको समृद्धिको व्याख्या गरी साध्यै छैन । चीनमा जस्तोसुकै असम्भव ठाउँमा पनि आधुनिक सहरको निर्माण, विश्वकै सबैभन्दा छिटो दौडने रेल र रेसमी मार्गका माध्यमबाट संसारलाई एउटै अँगालोमा बाँध्ने लक्ष्यका साथ चिनियाँहरू हिँडेको देख्दा कविको मनमा कुतुहूलता उत्पन्न भएको छ । धर्ती, आकाश सबैतिर चीनले गरेको उन्नतिले कविलाई लोभ्याएको छ । चीनसँग भएको ज्ञान र प्रविधिलाई एकआपसमा आदानप्रदान गर्ने वातावरणको सिर्जना गर्न  सके नेपालको मुहारमा पनि परिवर्तन आउने थियो भन्ने भावाभिव्यञ्जना अभिव्यक्त गरेका छन् । उनका कवितामा माटो बोलेको हुन्छ; नेपालीत्वको भावना उम्लिएको हुन्छ र सहिदको रगतलाई सम्मान गरिएको हुन्छ ।

छ चिन्ता तिमीमा जस्तो ए, वीर ! मान गर्दछु ।
तिम्रो उत्सर्गमा साझा गौरवी गान गर्दछु ।।

क्वै कृतघ्न होला यौटा, छौँ कृतज्ञ धेरै जन ।
खेर जान दिने छैनौँ तिम्रा ती रक्तका कण ।।
           (सहिदसँग अन्तरसंवाद/म, माटो र मुट, पृः ६०)

अनुष्टुप छन्दमा लेखिएको माथिको कवितांशमा सबैले आत्मगौरवका साथ बाँच्न सकून् भनेर नेपाली जातिको साझा स्वार्थका लागि सहिदले रगत बगाएको हो र त्यसलाई त्यसै खेर जान दिन नहुने र उनीहरूप्रति अपमान गर्न नहुने भाव अभिव्यक्त गरका छन् कवि प्रेक्षितले । सहिदले जीवन उत्सर्ग गरेकै कारणले आज नेपाली जातिले गौरवका साथ विश्व मानव जातिका सामु स्वाभिमानको शिर उचो बनाएर हिँड्न सकेको नग्न सत्यलाई देखाएका छन् । 

सहिदको रगतको बलिदानबाट प्राप्त गणतन्त्र नेपाली जनजनले अनुभूति गर्न सकोस् भन्ने मूर्त दृष्टिकोण यसरी राखेका छन् कविले ।

बलिदान बनोस् सार्थक यो ।
गणतन्त्र बनोस् जनजीवन यो ।।

म गणतन्त्र भनी शिर उच्च गरी ।
अब रम्न मिलोस् युग लाखभरि ।।  
           (स्वप्न, गणतन्त्र र म/म, माटो र मुट, पृः ८२)

तोटक छन्दमा लेखिएको प्रस्तुत कवितामा कवि ‘प्रेक्षित’ले सहिदको बलिदानबाट प्राप्त भएको गणतन्त्र सम्पूर्ण जनमानसले आत्मसात् गर्न सके मात्रै सार्थक बन्नेछ र सबैले शिर उचो गरेर हिँड्न सक्नेछन् भनेका छन् । हिजोका सम्पूर्ण सामन्ती परम्पराहरू तोड्दै सबै नेपालीले अपनत्वको अनुभूति गर्न सके मात्रै गणतन्त्रको सार्थकता झल्किने र सहिदप्रति सम्मान हुन सक्ने हुनाले सबैले यसैलाई गन्तव्यका रुपमा अङ्गिकार गर्नुपर्ने धारणा राखेका छन् । 

किल्ला बाँधी सुरक्षाका माटोभित्र फुलौँ ।
जाति–भाषा–सम्प्रदाय वैरभाव भुलौँ ।।

मिचिँदै छौँ सबैतिर किन हामी ऐले ।
सुझी–बुझी गम्ने हो कि आफैँभित्र पैले ।।
                  (माटो र मुटु/म, माटो र मुट, पृः १११)

झ्याउरे छन्दमा लेखिएको प्रस्तुत कवितामा कवि ‘प्रेक्षित’ले एकातिर देशभक्तिको अगाध प्रेम दर्शाएका छन् भने अर्कोतिर यो देशमा बस्ने सबै जातजाति, भाषा, सम्प्रदायका मानिसले सुझबुझका साथ सबै किसिमका वैरभावलाई बिर्सी एकताबद्ध भएर नेपाल र नेपाली जातिको अस्तित्वको रक्षा गर्नुपर्ने कुराको गम्भीर रुपमा बोध गराएका छन् । नेपालको माटोलाई आफ्नै मुटु सम्झिनसके मात्रै हाम्रो मिचिँदै गएको नेपाली माटोको रक्षा हुने र हामी एकआपसमा विभक्त हुँदा माटो वा देश संकटमा पर्ने कुरालाई टड्कारो रुपमा बुझ्नुपर्ने कुरा प्रस्तुत कवितामा दर्शाएका छन् । 

कवि ‘प्रेक्षित’को ‘म, माटो र मुटु’ कविता सङ्ग्रहका चालीस ओटा कवितामा बहुरङ्गी छन्दमा खेल्दाखेल्दै पनि अनुष्टुप, शार्दूलविक्रीडित र उपजाति छन्दमा अलि बढी खेल्न रुचाएका छन् । यस कृतिमा कविले जनमानसले बुझ्ने सरल र सुललित भाषाशैली अनि बिम्ब–प्रतीकको प्रयोग गरेका छन् । बिचारमा प्रतिबद्ध कवि पे्रक्षितका सबै कवितामा वैचारिक पक्ष सबल देखिन्छ भने देशप्रतिको माया उत्कट रुपमा छचल्किएको पाइन्छ ।