क्यान्भस

क्यान्भस

दीपा राई  |  साहित्य  |  चैत्र २०, २०७७

जब तिम्रो भाषा थिएन
म गुफाको भित्ता थिएँ
हो, म बोलेको थिएँ
तिम्रो आँखाको जिब्रो जिब्रोमा
नक्साको तिम्रो भाषा भएर।

एउटा मनदेखि अको मनको पहाड तरेर संवाद गराउने
म नै त हुँ ए मनुख्खे
रङ भेदको यात्रामा जलिदिने मै थिएँ
र बेहिसाब घाउहरू फुलाएर मैले
तिम्रै रङको गीत गाइदिएको थिएँ।

लु भन त, म म नभएको भए कहाँ उदास हुन्थ्यो र कहाँ मुस्काउँथ्यो
कुलीन मोनालिसाको क्लासिक ओठ ?
फेरी मै म नभएको भए त्यही मोनालिसा कसरी उल्था हुने थियो
भान्सा घरको कारखानाको बजारको सडकको गाउँको बस्तीको
हजार हजार आम मोनालिसामा ?

मनुख्खे, आदिम गुफादेखि आजसम्म मैले
जोगाएर राखिदिएको छु -
तिम्रो थाँती बलिदानलाई मेरै मुट्ठीमा
तिम्रो अमर आगोलाई मैरै आँखामा
तिम्रो फुके स्वाभिमानलाई मेरै छातीमा
तिम्रो नामेट घृणालाई मेरै पैतालामा
सजाएर राखिदिएको छु-
तिम्रो काँचो प्रेमलाई मेरै आत्मामा।

इ तिम्रै लागि
आफूलाई लडाइदिएको छु यस्तरी इजेलको खुल्ला छातीमा
कुदोस् अब रङहरूको धारा मेरो आत्माभरि
र जन्मियोस् तिम्रो खाँटी रङको विचार
र लेखियोस् स्ट्रोकहरूको तिम्रो इतिहास अब
जुन इतिहासको सासमा वास बसेको होस्
झरिलो आगो कथाको बिउ।

ए मनुख्खे, तिम्रा हजारौँ आँखा हिँड्ने बाटो हुँ  म
लावारिस हजार सपनाहरूलाई
तिम्रो आँखाको खुट्टा देऊ अब।

 

गान्तोक सिक्किम