सडक पनि बोल्छ
चैत्र २०, २०७७

मौकामा चौका हान्दै
सफेद झूट, जाल, झेल र षड्यन्त्रको 
माकुरी जाल बुन्दै
निरङ्कुसे बल्छी हाल्नेहरूको
अत्याचारले सीमा नाघेपछि
सडक पनि बोल्दो र छ
बिद्रोहको आगो ।

सडकको पनि सहनुको सीमा हुँदो र’छ
अनाचार, दूराचार, पापाचार, भ्रष्टाचारले
सीमा नाघेपछि
सडक पनि बोल्दो र‘छ
आक्रोशको आँधि तुफान
सडक पनि चिच्याइ चिच्याइ गर्जदो र’छ
‘म पट्पटी फुटेँ भने कहाँ गुड्छन्
ती तिम्रा बुलेट प्रुफ चिल्ला कारहरू
कहाँ गुड्छन् तिम्रा ती शस्त्रास्त्रले भरिएका
ट्याङ्करहरू, बुल्डोजरहरू, ट्रकहरू ?

म चरचरी चिरिएँ भने कहाँबाट हिड्लान्
जनदमनमा रमाउने
न्यायका आवाज कुल्चन पल्केका
समानता, स्वतन्त्रता र प्रजातन्त्रका
लाखौलाख जन्तीहरूलाई कैद गर्ने बानीपरेका
ती तिम्रा भद्दा पाइतालाहरू ?’
कहिले त सडक हुङ्कार गदो र’छ
आँधिबेहरी सिर्जना गरेर 
आफूमाथि बलात थोपारिएका कसिङ्गर बढार्न
सडक गर्जदो र’छ
अन्यायी, अत्याचारी र जनबैरीहरूलाई 
झुकाउछु भनेर ।

सधैँ चिसिने सडक तात्दो पनि र’छ
तर सडक तातेपछि ज्वालामुखी ओकल्दो र’छ
त्यो ज्वालामुखीले 
निरङ्कुशहरू, जनबैरीहरू, भ्रष्टाचारीहरू
थिचाहाहरू, मिचाहाहरू, चुसाहाहरू
अग्रगति, विकास र प्रगतिका बाधकहरू
सबैलाई भष्म पार्नसक्दो र’छ
दन्दनी बलेको वत्तीमा पुतली परेसरी ।

ए ऽ ! सडकलाई बोल्न बाध्य पार्नेहरू
बिद्रोहको आगो बाल्न विवश पार्नेहरू
आक्रोशको आँधि तुफान फुक्न लगाउनेहरू
ज्वालामुखी ओकलेको हेर्न रहर लाग्नेहरू
होसियार ! समयमै बुद्धि पुर्‍याउनु
सधैँझैँ सडकलाई नजिस्क्याउनु
त्यसैमा तिम्रो भलो हुन्छ ।

(यो कविता २०६० बैशाख २५ गते संयुक्त जनआन्दोलनको प्रारम्भमा शहीदप्रति सडकबाट मौन धारण गरेपछि सडकमा वाचन गरिएको थियो )