राजनीतिक प्रतिशोध शिकार : कोपभाजन परिने त्रासका कारण विकासमा अवरोध !
फर्कलान् र ती दिनहरु
चैत्र २१, २०७७

बालापन साँच्चै नै अबोध समय हो, स्वर्गीय आनन्दको समय हो र जीवनको पहिलो अनि सुवासमय समय हो । बालापनका वारेमा अहिले पनि सोच्दा रमाइलो लाग्छ र बारम्बार ती दिनहरुको सम्झना आइरहन्छ । बा आमाहरुको त्यो अगाध माया अनि ती दिनहरुमा आफूले आफैँलाई चिन्न लागेको सम्झना । आफू को हुँ भन्ने परिचय अरुले गराउने बेला र आफैँले आफूलाई चिन्न थालेको बेलाको पनि त्यही बालापनसँगै आउँदा रहेछन् ।

आजभन्दा सतसट्ठी वर्ष अघि म जन्मँदा नेपालमा आधुनिकताका सम्बन्धमा, आधुनिक सुविधाका वारेमा भन्दा धेरै कुराको कमी थियो । मोटरको कल्पना पुस्तकमा देखिने फोटोमा सीमित थियो । अहिले गाउँ गाउँमा कालोपत्रे सडकसमेत पुगेको अवस्थासँग मैले यदि आफ्नो बालापनमा फर्केर सोच्ने हो भने अचिन्त्य प्रगतिको फड्को मारिएको जस्तो लाग्छ तर जब बुझ्दै गइयो, थाहा भयो, त्यो सुविधा धेरै पहिले नै आउने रहेछ । हामी तत्कालीन पूर्व २ नंबर अर्थात् अहिलेको सिन्धुली, रामेछाप र दोलखाका बासिन्दाहरु त अनाहकमा राजनीतिक प्रतिशोधमा परेका रहेछौँ । कारण रहेछ- प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले क्षेत्रीय यातायात संगठनसँग मिलेर बनेपा, चौकोट, धुलिखेलहुँदै सिन्धुली र अझ पूर्वी पहाडमा सडकको व्यवस्था गर्नका लागि आफ्नो १८ महिने कार्यकालमै सडक खनाउन लगाउन थाल्नु भएको रहेछ नीतिगत रुपमा र कार्यक्रमीय रुपमा ।

सडक त कतिसम्म गएको रहेछ भने हामी काठमाडौँसम्म पछि हिँडेर आउँदा जाँदा बाटोको रेखा देख्न पाइन्थ्यो र मंगलटारनिर एउटा बिग्रेको सामान ओसार्ने ट्राक्टर त्यहीँ थियो । आज त्यही बाटोको पछिल्लो संस्करण हो बीपी राजमार्ग । १८ महिनामा बनेपाको खड्पुबाट बाटोको रेखाङ्कन मुलकोटसम्म पुगेको बाटो बीपीको सरकारले सुरु गरेकोले उहाँको सरकारलाई अपदस्त गरेपछि त्यताको बाटो नै बनाउने कुरा हराएछ राजनीतिक प्रतिशोधका कारणले किनभने त्यो बाटोको जस बीपीले लिनुहुनेछ र उहाँलाई राजा महेन्द्रले विनाकारण जेलमा कोचेका थिए ।

विद्यालयको हातामा नै आकाशवाणीको कार्यालय थियो जहाँबाट खबर रेडियो माध्यमबाट आदान प्रदान हुन्थ्यो । त्यो बेलामा बिजुली थिएन, जेनरेटर चलाएर विद्युत निकालेर रेडियो माध्यमबाट समाचार आदान प्रदान हुन्थ्यो । त्यो बेलामा सरकारी समाचारसँग आम जनताले पनि समाचार पठाउन सक्थे । पहिलो २० अक्षरसम्मका लागि १० पैसा अनि त्यसपछिका थप अक्षरका लागि ५ पैसा शुल्क लाग्थ्यो । हामी बाहिर बसेर समाचार बोलेको सुन्थ्यौँ । ठुलो स्वरले बोलेर समाचार पठाइन्थ्यो, त्यसले बैँकले पठाउने समाचार उनीहरुकै चल्तीका भाषामा हुन्थ्यो जुन कुरा आकाशवाणीका मानिसहरुले पनि बुझ्दैनथे सायद ।

पञ्चायत कालमा पूर्व २ नंबरका केही नाम चलेका व्यक्तिहरु मन्त्री भए र पनि राजाको कोपभाजनमा नपर्नका लागि कहिल्यै उनीहरुले रोसी खोलाको बाटोलाई बनाउने नियत राखेनन् । जब वहुदलीय व्यवस्था पुनर्स्थापना भयो अनिमात्र त्यो छोटो दूरीबाट राजधानी आउन जान सकिने, मध्यपहाडी भागको पूर्वी क्षेत्र जोड्ने र किफायती बाटो बन्यो त्यो पनि धुलिखेल बर्दीबासको दूरीलाई छोट्याउने गरी । अहिले साना गाडीहरुले काठमाडौँसँग छोटो दूरीमा मध्य र पूर्वी नेपाललाई जोडेका छन् । त्यो बाटो बन्न पनि २० वर्ष लाग्यो र बनायो जापान सरकारले मैत्रीपूर्ण सहयोगमा । थाहा छैन किन हो बाटोको चौडाइ सानो छ र एउटा सानो गाडीका लागि मात्र त्यो प्रशस्त छ । भनिन्छ, कृषि सडकका लागि यो तयारी गरिएको हो जहाँ सिन्धुलीको कृषि उपज, फलफूलको आवत जावत गराउन सजिलो पारिएको रे !  जे होस् अहिले त्यही बाटोको कारणले होला, मध्य पहाडी सडक बनेको छ पहाडको मध्यभागलाई पूर्व र पश्चिमको सीमासम्म जोड्न । 

हामी हिँडेर जनकपुरसम्म, काठमाडौँ सम्म आउने जाने गर्थ्यौं । जनकपुर जाँदा महेन्द्रनगरसम्म बस आउँथ्यो र कुनै बेलामा लालगढसम्म गाडी आएर राती बास बस्थ्यो । पछि पञ्चायती अञ्चलाधीश छिरिङ तेन्जिङ लामाले सिन्धुलीसम्म साना गाडी चलाउन हुनेगरी खोलामा बाटो सुचारु गराउनु भयो जसले गर्दा हिउँदमा जिप, ट्रक, ट्राक्टर चल्थ्यो । हामी सिन्धुलीबासीले त्यो सुरुवाती बेलाका लागि लामालाई सम्झन्छौँ किनभने सोलुको मानिस भएर पनि सिन्धुलीसम्म गाडीको आवत जावत होस् भन्ने चाहना राख्नु भएको थियो । आफ्नो अञ्चलमा पर्ने भए पनि उहाँले पहाडी भेगमा बाटोका विकासका लागि सायद कोपभाजनमा परिन्छ भनेर होला कोसिस गर्नु भएन ।

काभ्रे, सिन्धुली, रामेछाप र दोलखाका कतिपय राजाका प्रियपात्रहरुले पनि राजाको अनाहकमा कोपभाजनमा परिन्छ भनेर सायद पहिले सुरु गरिएको बाटोका वारेमा कुरा उठाउन सकेनन् होला । काभ्रे र सिन्धुपाल्चोकको सडक सञ्जालका लागि अरनिको राजमार्गका कारणले पनि सहज भयो होला । तर  दोलालघाटबाट सुनकोशीको किनारै किनार बाटो लैजानेमा पनि किन कसैले वास्ता गरेन होला ? सम्झँदा उदेक लाग्छ जवकि अहिले गाउँ गाउँमा बाटो पुगेको छ र विकासको पहिलो शर्त नै सडक हुँदो रहेछ भन्ने सबैलाई थाहा छ र हिजो पनि थाहा थियो  ।

२०४७ सालपछिका सरकारहरुले कम्तीमा पनि विना पूर्वाग्रह सडक बनाउन थालेकाले आजको सडक सञ्जालको यो प्रगति हुन सकेको हो र पनि अझै दुर्गम बस्तीमा सडक सञ्जालको व्यवस्था हुन नसकेको पनि उत्तिकै सत्य हो । छ दशक अघिको समयभन्दा धेरै सुविधा भएको छ , चाहे त्यो सडक, विद्युत, सञ्चार नै किन नहून् ।  मैले आफ्नो बेलाको कुरा सम्झेको हुँ जसले हिँडेरै प्राथमिक विद्यालयपछिका शैक्षिक क्षमता वृद्धि गर्नका लागि बाध्य भएर हिँड्नु परेको थियो । अहिले प्रत्येक गाउँमा माध्यमिक विद्यालय छन् । पहिले त सायद त्यसैले पनि होला, राजधानीको वरिपरि हुने जिल्लाहरुमा धेरै मानिसहरु शिक्षित हुन पाए किनभने पहुँचको कुरा थियो जुन उनीहरुले थोरै मिहिनेतमा पनि पाउन सके । पहाडबाट त हिँडेर आउँथे, खर्चको समस्या पनि उस्तै थियो र राजधानीको वातावरणमा कसरी भिज्ने भन्ने पनि समस्या थियो । तर मानिसको उत्कट इच्छाका अघिल्तिर अप्ठ्याराहरु आफैँ हराएर जाँदा रहेछन् भन्ने अतीतका उपादेयताबाट बुझ्न सकिन्छ । 

हाम्रो पुस्ताका मानिसहरु सिन्धुलीको मेरो गाउँ ग्वाल्टारबाट औसत तीन दिनमा काठमाडौँ आउँथ्यौँ जान्थ्यौँ अहिले बस त्यही बाटो भएर गुड्छ , अरु साना गाडीहरु सेवामा छन् र करिब ३ घण्टाको वरिपरिमा पुगिन्छ । कहाँ तीन दिनको हिँडाइ र कहाँ तीन घण्टामा पुगिने सुविधा ? आखिर बीपीको सद्प्रयासका विरुद्धमा राज्य नै नलागेको भए त्यो सुविधा त हामीले आजभन्दा ६० वर्ष अघि नै पाउने रहेछौँ । अहिले पनि त्यो बाटोको प्रयोग  बीपीका अनुयायीहरुले मात्र गर्दैनन् अर्थात् प्रगति र विकासको फल सबैले समानताका हिसाबले पाउँछन् र पाएका पनि छन् ।  मात्र समानुपातिक विकासका वारेमा सोच हुनुपर्छ आज पनि । हिजो त भएन नै र हामी मारमा परेका रहेछौँ । 

हामी समाजको विकासक्रमको संक्रमणकाल रहेछौँ । पहिले संस्कृत शिक्षामा मात्र ब्राह्मणको वर्चस्व रहेछ र हामी पनि ब्रतबन्ध गरेपछि संस्कृतका लागि तयार भएका थियौँ । संक्रमणकालको कुरा मैले किन पनि उठाएको भने ६ दशक अघि नै संस्कृतभन्दा साधारण शिक्षा जसलाई अंग्रेजी शिक्षाको आधार भनौँ, त्यसका पढाउने चलन सुरु भएको थियो तर त्यस्ता विद्यालय पाउन पनि साना साना बालबालिकाहरुका लागि मुस्किल थियो उमेरका कारणले र डेरा गरेर बस्नु पर्ने कारणले । डेरामा बस्नुको कुरा हो, घरबाट खर्च लिएर जाने, किनेर खाने या घरबाट लगेको चामल, च्याँख्ला, पिठो अनि गुन्द्रुकका भरमा अध्ययन अगाडि बढाउनु पर्ने । दाउरा किन्नु पर्‍यो, पछि भएपछि स्टोभ बाल्नका लागि मट्टीतेल किन्नुपर्‍यो जसका लागि नगदको जरुरत हुन्थ्यो । त्यसले गर्दा कतिपय हाम्रा समवयीहरुले पढ्न पाएनन् या विद्यालय नजिक हुनेले प्रवेशिका उत्तीर्ण गरेपछि पढेनन् । कतिपयले गाउँमा खुलेका प्राथमिक विद्यालयबाटै आफूलाई दीक्षित भएको ठान्नु परेको थियो । 

मैले कौशिका प्राथमिक विद्यालयमा पढेँ कक्षा ५ सम्म । अनि कक्षा ६ मा जाने बेला भयो, सानो छोरोले कहाँ भात पकाएर खाला, कहाँ गाग्रीमा पानी ल्याउला, कहाँ भाँडा माझेर बस्ला, कहाँ दाउरा काटेर भात पकाउला, अनि कसरी आफ्नो लुगा धोला भन्ने पिर एकातिर थियो बालाई आमालाई भने अर्कोतिर छोरालाई नपढाउने बाबु आमा शत्रु र बैरी हुन् भन्ने नीति श्लोक पनि सुनेकै थियौँ र उहाँहरुले नै भनेको सुनेका थियौँ । मेरा मामिलामा संस्कृत पढ्ने कि अंग्रेजी विद्यालयमा पढ्ने भन्ने समस्या परेको पनि थियो जस्तो लाग्छ । अनि बाले आफैँले खोलेको विद्यालयमा जहाँ उहाँ अध्यक्ष हुनुुहुन्थ्यो, कौशिका प्राविलाई नै माध्यमिक विद्यालय बनाएर चलाउने कुरा आयो ।

अनि गाउँबाट रामेछाप गएका, सिन्धुली गएका विद्यार्थीहरुलाई गाउँमा नै विद्यालय खुल्ने भएपछि बोलाइयो किनभने विद्यालयका लागि चन्दा त गाउँलेले दिनु नै थियो । माध्यमिक विद्यालयका लागि देउरालीटार, हैबार, घोक्सिलासमेतले सहयोग गर्ने कुरा भयो र कक्षा सुरु भयो । हामी ५ कक्षा पास गर्नेमध्ये केशव वराल काका महोत्तरीको गौसाला जानु भयो, पवित्रा दिदी र गोमा दिदीहरु सायद कक्षा ६ मा भर्ना हुनु भएन तर रामेछाप जान तयारी कृष्ण पोखरेल दाइ, अच्युत पोखरेल दाइ सहित हामी ग्वाल्टारमा नै भर्ना भयौँ । सायद गोपाल भुजेल, ज्ञानबहादुर भुजेल पनि थिए कि साथीहरुमध्ये जस्तो लाग्छ । सिराहाबाट घनेन्द्र कार्की दाइ, सिन्धुलीबाट दामोदर बराल कक्षा ८ मा आएको जस्तो लाग्छ ।

हामी त्यति धेरै त थिएनौँ तर हेडसरको रुपमा निर्मलचन्द्र शर्मा हुनुहुन्थ्यो सायद उहाँ सिन्धुपाल्चोकबाट भारतमा गएका प्रवासी हुनुहुँदो रहेछ । उहाँले नै अंग्रेजी, नेपाली, विज्ञान, सामाजिक पढाउनु हुन्थ्यो तर भरतराज बराल काका पनि भूमिगत हुनका लागि घरमा चुपचाप बस्न आउनु भएको रहेछ र केही समय गणित पढाउनु भएको थियो तर पछि पक्राउबाट जोगिन गाउँबाट बाहिर जानुभयो । उहाँहरु भन्नाले भरत काका, विपिन कोइराला, श्रवण कोइराला, हेमन्त कोइराला, शिववहादुर खड्का, लक्ष्मण घिमिरे र भवेन्द्र खड्कासहितले पञ्चायत व्यवस्था विरुद्ध आफ्नो रगतले ल्याप्चे लगाएर कागजमा सही गर्नु भएको रहेछ । यो कुरा प्रशासन थाहा पाएपछि पक्राउ गरेको रहेछ । सायद अहिले भवेन्द्र दाइ बाहेक सबै हुनुहुन्छ होला तर सबै राजनीतिमा उत्तिकै सक्रिय हुनुहुन्न होला । 

६ कक्षा त गाउँमै जेनतेन पढियो । जेनतेनको अर्थ हो निर्मलचन्द्र सर भारतको देहरादुनमा वन अधिकृत हुनु हुँदो रहेछ । केही समस्या परेर होला , उहाँ पनि भूमिगत हुनका लागि नेपाल पस्नु भएको रहेछ अनकण्टारको गाउँमा । क्षमता भएको मान्छे बुझेपछि उहाँलाई विद्यालयमा प्रधानाध्यापक बनाइयो र उहाँ डिट्ठा जिबा गुणराज बरालको घरमा बस्नुहुन्थ्यो । त्यो बेलामा गाउँमा गुरु पाल्दा या पण्डित पाल्दा पालो लगाएर राख्ने चलन थियो । प्रत्येक वर्ष चौमासामा पुराण लगाइन्थ्यो गाउँमा र नाम चलेका पण्डितलाई बोलाएर पुराण भन्न लगाइन्थ्यो । मैले थाहा पाएकोमा साम्बभक्त सुवेदी गुरु, यज्ञेश्वर कोइराला काका अनि घ्याम्पाका पण्डित ज्वालाप्रसाद कोइराला हुनुहुन्थ्यो ।

पण्डितहरु दोहोरिनु पनि हुन्थ्यो किनभने प्रत्येक वर्ष हरिशयनी एकादशीदेखि हरिबोधनी एकादशीसम्म पुराण लगाइन्थ्यो । पुराणमा भागवत मात्र, देवी भागवत मात्र हुँदैनथ्यो , महाभारत पनि हुन्थ्यो किनभने महाभारत १८ पर्व भएकाले र १लाख श्लोक भएकाले अर्को वर्ष पनि त्यसैको निरन्तरता हुन्थ्यो । हामी कति ध्यान दिएर सुन्थ्यौँ तर विहान पुराण हुने भएकाले पुराण लगत्तै विद्यालयमा कक्षा सुरु हुन्थ्यो । विद्यालयको प्राङ्गणमा नै पुराण हुन्थ्यो । मलाई अहिले पनि जरत्कारु ऋषिकी पत्नी जरत्कारु नाम गरेकी नागकन्याले आफ्ना तपस्वी पति जरत्कारु गर्भिणी पत्नीलाई छोडेर हिँडेको बेलामा उनले गरेको विलापलाई ज्वाला पण्डितबाले भनेको र श्रोता आमाहरु दिदीहरुलाई रुवाएको सम्झन्छु ।

पछि हाम्रै घरमा बाले १८ पुराण लगाउनु भयो करिब ३ वर्षसम्म । त्यो बेलामा पनि सुनेका केही कुराहरु अहिले पनि याद छ । पढेर आउँदा घरमा भएका बेलामा सुनेको मात्र हो , नत्र विद्यालय बाहिर थियो जानै पथ्र्यो । विदामा आएका बेलामा सुन्ने हो । अठार पुराण भन्ने त गुरु साम्बभक्त सुवेदी हुनुहुन्थ्यो र उहाँमा यस्तो विलक्षण कला थियो कि एकपटक सुनेपछि र पढेपछि बिर्सिँदै नबिर्सने । उहाँले संस्कृत पाठ गर्दा नै थाहा हुन्थ्यो कथा कस्तो छ भनेर किनभने उहाँका हाउभाउले र बोलीले थाहा हुन्थ्यो । यदि करुणाजनक छ , विषादजनक छ भने उहाँ रुँदै पाठ गर्नु हुन्थ्यो र हाँस्यरसयुक्त छ भने उहाँ हाँस्दै पाठ गर्नु हुन्थ्यो ।  

यदि कुनै अपमान र बदलाका भाव थिए भने उहाँको अनुहार रातो रातो हुन्थ्यो र ठुलो स्वरले वाचन गर्नुहुन्थ्यो । त्यो बेलामा नाम चलेका विद्वान, विज्ञ गुरु जस्तो मान्छे  उहाँ कसरी मेरो बाले अनुरोध गरेकोमा ३ वर्षसम्म पुराण भनेर बस्नु भयो भनेर त्यो बेलामा चर्चा नै भएको थियो । तर त्यो इतिहास भयो , गुरुसँगको  सम्बन्ध मेरा बाको गुरु र चेलाको प्रगाढ सम्बन्ध देखिन्थ्यो । पछि गुरुकैै सल्लाहमा म रामेछापमा कक्षा ८मा पढ्न गएको थिएँ । ६ कक्षा गाउँमै पढियो र सात कक्षा कक्षामा पढिएन तर गुरुसँग एकवर्ष संस्कृतमा सामान्य नीति पढेँ ।

व्याकरण तर पढिएन छ । त्यसपछि कक्षा ८ मा भर्ना हुन गौरी शंकर माध्यमिक विद्यालय, रामेछापमा गएँ अनि भँगेरीमा ठुलाबा साहु कृष्णगोपाल श्रेष्ठका घरमा बसेका थियौँ म र सान्दाजु पीताम्बर अधिकारी । हाम्रालागि दाउराको व्यवस्था वाधीका पूर्णबहादुर हायुले गर्नु भएको थियो चिर्पटका असल दाउरा ल्याइदिनु हुन्थ्यो । हामी सँगै बसेकामा भान्दाजु विष्णु बख्रेल हुुनुहुन्थ्यो । पहिले त अरु साथीहरु पनि सँगै थिए तर पछिसम्म हामी तीनजनामात्र रह्यौँ । 

त्यो ज्ञानको भोक कडा थियो । हुन त हाम्रो परिबारको सबैभन्दा ठुलो दाजु गणेश दाइ(माहिलाबाको ठुलो छोरो) पहिले रामेछाप पछि काठमाडौँमा गएर पढ्नु भएको थियो । बालाई छोराको  वारेमा सबैभन्दा ठुलो डर थियो सानो छ कसरी पकाउला, समयमा पढ्न जाला ? सायद त्यसैले होला हामीलाई भँगेरीमा पनि अभिभावकको रुपमा ठुलाबा कृष्णगोपालकोमा राख्नु भएको । उहाँको कान्छो छोरो श्यामगोपाल हाम्रै कक्षा थिए साथी । साह्रै मिल्ने साथी थियो । भँगेरीदेखि विद्यालयसम्म जान करिब आधा घण्टा लाग्थ्यो र हामी गणेश बराल काका, म, टंकु बराल काका , सान्दाजु, विष्णु दाइ भँगेरीमा बस्नेहरु सँगै जान्थ्यौँ बाबिया खर्क, केवलेश्वरका साथीहरुसँग । त्यो बेलाको रमाइलो अहिले कहाँबाट पाउनु ? थाहा छैन किन रमाइलो लाग्थ्यो ? एउटा कुरा त थियो- भँगेरीदेखि रामेछाप बजारसम्म आउँदा दक्षिणतिरको फाँट भनेको आफ्नो गाउँ ग्वाल्टार थियो र भँगेरीको भन्ज्याङ्बाट आफ्नो घर नै देखिन्थ्यो । सायद सधैँ आफ्नो घर देखिने भएकाले पनि रमाइलो लागेको हो कि ? हामी सामान्यतया प्रत्येक शुक्रवार घर आउँथ्यौँ । हाम्रो गाउँ र रामेछापको बिचमा सुनकोशी छ र हामी त्यो बेलामा डुङ्गाबाट ओहोर दोहोर गर्थ्यौँ ।

बालुवा भन्ने ठाउँ हाम्रो गाउँको पुछारमा छ । बालुवामा खासमा घाट थिएन, तर बिर्ताका साहुहरुले आफ्नो खेतीमा आउन प्रयोग गर्ने डुङ्गालाई नै हाम्रालागि पनि आवत जावतको साधन हुन्थ्यो । हाम्रालागि मात्र नभएर रामेछाप जानका लागि छोटो बाटो त्यहीँबाट हुन्थ्यो । नत्रभने कि त जानु पर्थ्यो मुर्की या धनेघाट या हर्दिनी या खुर्कोट । धनेघाटमा नै पछि शूलिभन्ज्याङ्को क्षेत्रभित्र पुल बन्यो र अहिले पनि त्यहाँ पुल छँदैछ । अहिले त बालुवामा पनि पुल हालियो, हर्दिनीमा पनि पुल हालियो र खुर्कोटमा त राणाकै बेलादेखि पुल थियो । अहिले त रामेछाप र सिन्धुली जोड्ने मोटर आवत जावत गर्ने पुल बनेको छ । 

रामेछापमा अंग्रेजी पढाउनु हुन्थ्यो सहायक हेड सर देवनारायण ठाकुरले, नेपाली पढाउनु हुन्थ्यो सत्याल गुरुले, गणित र विज्ञान पढाउनु हुन्थ्यो रामबहादुर महत सरले, भूगोल पढाउनु हुन्थ्यो शेखर सरले, नागरिक शास्त्र र इतिहास पढाउनु हुन्थ्यो गोरख सरले र स्वास्थ्य पढाउनु हुन्थ्यो विष्णु मिसले । हेड सर हुनुहुन्थ्यो रामदेव ठाकुर । हेड सर र सहायक हेड सर दाजु भाइ हुनुहुन्थ्यो । हेड सरले सामान्यतया कक्षा ९ र १०लाई अंग्रेजी पढाउनु हुन्थ्यो । 

रामेछाप जिल्लामा नै सायद तीन ठाउँमा मात्र हाइस्कुल थिए । रामेछापमा, साँघुटारमा र ठोसेमा । सुनिन्थ्यो सबैभन्दा राम्रो पढाइ ठोसेमा हुन्थ्यो रे ! कसैले भन्थे साँघुटारमा हुन्थ्यो रे !  तर हामीलाई त रामेछापमा नै हुन्थ्यो जस्तो लाग्थ्यो । अतिरिक्त क्रियाकलाप हुन्थ्यो, फुटबल खेलिन्थ्यो किनभने हाम्रो विद्यालयको माथि नै टुँडिखेल थियो जहाँ प्रहरी र सेनाले कबाज खेल्थे, फुटबल खेल्थे र दौडन्थे टुँडिखेलको वरिपरि ।

हाम्रो विद्यालयको हातामा नै आकाशवाणीको कार्यालय थियो जहाँबाट खबर रेडियो माध्यमबाट आदान प्रदान हुन्थ्यो । त्यो बेलामा बिजुली थिएन, जेनरेटर चलाएर विद्युत निकालेर रेडियो माध्यमबाट समाचार आदान प्रदान हुन्थ्यो । त्यो बेलामा सरकारी समाचारसँग आम जनताले पनि समाचार पठाउन सक्थे । पहिलो २० अक्षरसम्मका लागि १० पैसा अनि त्यसपछिका थप अक्षरका लागि ५ पैसा शुल्क लाग्थ्यो । हामी बाहिर बसेर समाचार बोलेको सुन्थ्यौँ । ठुलो स्वरले बोलेर समाचार पठाइन्थ्यो, त्यसले बैँकले पठाउने समाचार उनीहरुकै चल्तीका भाषामा हुन्थ्यो जुन कुरा आकाशवाणीका मानिसहरुले पनि बुझ्दैनथे सायद । आज त्यो बेलाको सञ्चार प्रविधि भनेको हुलाक तथा त्यही आकाशवाणी नै थियो । सायद सेनाको आफ्नै रेडियो सेट थियो क्यारे ! त्यहाँ पनि जेनरेटर चलेको सुनिन्थ्यो । दिउँसो १२ बजेतिर जेनरेटर चलाउँदा हाम्रो कक्षामा सामान्य अवरोध हुने भएकाले हामीलाई केही छिन पहिले नै टिफिनका लागि छुट्टी हुन्थ्यो जुनबेलामा हामी झुम्मिएर बाहिरबाट समाचार बोलेको सुन्थ्यौँ । रेडियोमा शब्द नबुझिने हुँदा प्रत्येक शब्दको बेग्लै पहिचानसहित बोलेकोमा हामीलाई रमाइलो लाग्थ्यो । क्रमशः


अधिकारी दर्शन, राजनीति र साहित्यमा कलम चलाउनुहुन्छ ।