एकताको संक्रमणकालीन व्यवस्थाले जिल्ला नेतृत्वमा महिला आउन सकेनन् : झाक्री

नेकपाको जिल्ला नेतृत्वमा दुई मात्रै महिला

एकताको संक्रमणकालीन व्यवस्थाले जिल्ला नेतृत्वमा महिला आउन सकेनन्  : झाक्री
फाइल तस्बिर ।

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ९, २०७६

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ७७ जिल्ला अध्यक्षमध्ये दुई मात्रै महिला छन् । नेकपाको जिल्ला अध्यक्षमा मकवानपुरकी मुनु सिग्देल र काभ्रेपलाञ्चोककी रुकु चौलागाई मात्रै महिला हुन् । यो कूल संख्याको साढे दुई प्रतिशत मात्रै हो । 

नेकपाले महिला आरक्षणको कानुनी व्यवस्थाबारे चासो नदिँदा जिल्ला नेतृत्वमा महिला संख्या कम भएको महिला अधिकारकर्मी बताउँछन् । तर, नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाक्री भने यसमा असहमत छिन् । उनी पार्टी एकताको संक्रमणकालीन व्यवस्थाका कारण जिल्ला नेतृत्वमा महिला समावेशीकरण हुन नसकेको बताउँछिन् । 

नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाक्री पार्टी एकताको संक्रमणकालीन व्यवस्थाका कारण जिल्ला नेतृत्वमा महिला समावेशीकरण हुन नसकेको बताउँछिन् । ‘अहिलेको जिल्ला नेतृत्वमा महिला समावेशी नभए पनि यसका लागि पार्टीमा वैचारिक लडाइँ लगिरहेका छौं,’ उनले भनिन् । 

पार्टीका हरेक संगठनमा महिला समावेशी गराउन ग्रास रुटबाटै महिला सहभागिता बढाउनुपर्ने उनको भनाइ छ । यसका लागि पार्टीको संगठित सदस्यमा महिला संख्या बढाउनुपर्ने उनले बताइन् । 

नेकपाले सोमबार ७७ जिल्ला अध्यक्ष र सचिवको नामावली सार्वजनिक गरेको हो । तत्कालीन एमालेले ४४ जिल्लामा र तत्कालीन माओवादी केन्द्रले ३३ जिल्लामा नेतृत्व पाएका छन् ।