भीमफेदीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु

भीमफेदीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  चैत्र २२, २०७७

मकवानपुर । को भीमफेदी गाउँपालिका–१ सानुटारमा गए राति कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

त्रिभुवन राजपथ हुँदै हेटौँडातर्फ आउँदै गरेको ना५ख ८१२९ नंको कन्टेनरले विपरीत दिशातर्फ जाँदै गरेको ना१९प ८९६ नंको मोटरसाइकललाई ठक्कर दिँदा हेटौँडा उपमहानगरपालिका–५ बस्ने  २४ वर्षीय मोटरसाइकल चालक अनिष खड्काको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अभिनाश अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कन्टेनरको ठक्करबाट सोही दुर्घटनामा परी कन्टेनर मालिक भीमफेदी–२ बस्ने २३ वर्षीय सुरेश घलान र चालक बारा जितपुरसिमरा उपमहानगरपालिका–२२ बस्ने अन्दाजी ३२ वर्षीय मधुकर विष्ट घाइते भएका छन् । घाइतेमध्ये कन्टेनर मालिक घलानको हेटौँडा चुरेहिल अस्पतालमा उपचारपश्चात थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज पठाइएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

अर्का घाइते कन्टेनर चालक विष्टको हेटौँडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने कन्टेनर सडकबाट करिब १०० मिटर तल खसेको थियो ।