७३ प्रतिशत मतसहित हास्यकलाकार राष्ट्रपतिमा विजयी

७३ प्रतिशत मतसहित हास्यकलाकार  राष्ट्रपतिमा विजयी

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १०, २०७६

एजेन्सी । युक्रेनको राष्ट्रपतिका लागि आइतबार भएको मतदानमा हास्यकलाकार भोलोदिमर जेलेन्स्की विजयी भएका छन् । उनले वर्तमान राष्ट्रपति पेट्रो पोरोसेन्कोलाई ठूलो मतान्तरले पराजित गरेका छन् । राजनीतिमा खासै अनुभव नभएका ४१ वर्षीय जेलेन्स्कीले ७३.२ प्रतिशत मत प्राप्त गरेका छन् ।  निर्वाचन आयोगका अनुसार पोरोसेन्कोले २४ दशमलव ४ प्रतिशत मात्र मत प्राप्त गरेका छन् । चुनावमा राष्ट्रपति पोरोसेन्को र हास्यकलाकार भोलोदिमर जेलेन्स्कीबीच कडा प्रतिस्पर्धा हुने पछिल्ला जनमत सर्वेक्षणले देखाएका थिए । पहिलो चरणमा कुनै पनि उम्मेदवारले पूर्ण बहुमत नल्याएकाले आइतबार दोस्रो चरणमा राष्ट्रपतिको मतदान भएको थियो ।  

पराजित राष्ट्रपति पोरोसेन्कोले आफ्नो हार भएको स्विकार्दै विजयी जेलेन्स्कीलाई बधाई दिएका छन् ।  सन् २०१४ देखि सत्तामा रहेका पोरोसेन्कोले ‘अप्रत्यासित’  निर्वाचन परिणामले देशलाई अनिश्चित दिशातर्फ लैजाने दाबी गरे । ‘म पद त्यग्छु, तर राजनीति कहिल्यै त्याग्दिनँ,’ उनले भने । पछिल्लो नतिजाबाट रुस खुसी भएको हुन सक्ने भन्दै युक्रेनले पश्चिमा राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ हुनुपर्नेमा जोड दिए  । विश्लेषकहरूले नवनिर्वाचित राष्ट्रपति जेलेन्स्कीले रुससँगको सम्बन्धलाई पुनः परिभाषित गर्ने अनुमान गरेका छन् । मस्कोले युक्रेनी जनताले परिवर्तन चाहेको निर्वाचन परिणामले देखाएको जनाएको छ ।

यसअघि सम्पन्न पहिलो चरणको चुनावमा वर्तमान राष्ट्रपति पोरोसेन्को विरुद्ध जेलेन्स्की र पूर्वप्रधानमन्त्री युलिया टिमोसेन्कोले कडा चुनौती दिएका थिए । जेलेन्स्कीले पोरोसेन्कोको  भन्दा दोब्बर मत प्राप्त गरेका थिए, तर निर्वाचित हुन आवश्यक ५१ प्रतिशत मत प्राप्त गरेका थिएनन् । युक्रेनी चुनाव आयोगका अनुसार पहिलो चरणमा जेलेन्स्कीले ३०.२ प्रतिशत र पोरोसेन्कोले  १६.७ प्रतिशत मात्र मत प्राप्त गरेका थिए भने पूर्वप्रधानमन्त्री युलियाले १३.०८ प्रतिशत मत प्राप्त गरेका थिए । याे समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।