एमालेमा सम्भावना र चुनौती: निरन्तर घेराबन्दीबाट 'निरीह' बनेका माधव नेपालको पौँठेजोरी !
लोकसंवाद टिप्पणी
चैत्र २३, २०७७

काठमाडौँ । पन्ध्र वर्ष पार्टी सत्ता सञ्चालन गरे पनि माधवकुमार नेपालले एक कार्यकाल राज्यसत्ता हाँक्ने रहर भने पूरा भएको छैन । २०६४ सालमा सम्पन्न संविधान सभाको निर्वाचनमा  एमालेले नराम्ररी पराजित भएपछि नैतिकताको आधारमा राजीनामा दिएका उनले प्रधानमन्त्री हुँदा पार्टीभित्र छिनाझपटी चलेपछि प्रधानमन्त्रीबाट पनि राजीनामा दिएर आफूलाई थप नैतिकवान् सावित गर्ने प्रयत्न गरे । यस क्रममा पार्टीभित्र झलनाथ खनाल र केपी ओलीबिच प्रतिस्पर्धा चलिरहेको थियो । एक पटक झलनाथ खनालले पार्टी चलाए अर्को पटक पार्टीको अध्यक्षमा  केपी ओलीसँग माधव नेपाल चुनाव लडे र झिनो मतले पराजित भए । 

एमालेको नवौँ महाधिवेशनमा हालका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग ४३ मतको फरकले अध्यक्षमा पराजित भएका माधवकुमार नेपालको पार्टीभित्र बराबरी हैसियत थियो । तत्कालीन समयमा ४२ जिल्ला कमिटीका अध्यक्षहरू नेपाल पक्षमा खुलेर लागेका थिए । तर  एमाले अध्यक्ष केपी शर्मा ओलीले अचानक माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग पार्टी एकीकरणको प्रस्तावसहित २०७४ सालमा चुनावी गठबन्धनको प्रस्ताव पार्टीमा सामान्य छलफल समेत नगरी सार्वजनिक गरे। चुनावी गठबन्धनसँगै २०७५ साल जेठ ३ गते एमाले र माओवादी केन्द्र दुवै पार्टी विघटन मात्रै भएनन् दुई अध्यक्ष भएको नेपाल कम्युनिस्ट पार्टी  (नेकपा)  गठन भयो । यी सबै कुराका फड्के किनाराका साक्षी माधव नेपाल 'बृहत् कम्युनिस्ट एकता'को आवरणलाई लुरुलुरु स्वीकार गरेर पछि लागे र पछि लाग्नुको विकल्प  पनि थिएन ।

नेकपा गठन भएसँगै पार्टी एकीकरणको काम हुँदा सबैभन्दा पहिला माओवादी केन्द्र अध्यक्ष प्रचण्डको साथ लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र नेपाल  समूहका नेताहरूलाई पेल्नेदेखि किनारा लगाउने काम सुरु भएको थियो । सबैभन्दा पहिला माधव नेपाललाई जिम्मेवारी नदिनेदेखि चौथो पुर्‍याउने हदसम्मका गतिविधि भए सबै कुरा स्वीकार गरे।  पार्टी एकताको नाममा  नेपाल समूहको पकड रहेको जिल्ला कमिटीमा ओलीले माओवादी पक्षलाई जिम्मा लगाउने काम स्वीकार गरेर बसिरहे ।  कतिसम्म भयो भने निर्वाचनको बेला सहकार्य गर्दा पनि करिब करिब त्यस्तै अवस्था भयो ।  चुनावी तालमेलमा पनि माधवकुमार नेपाल समूह पक्षमा रहेका मतदाता माझ लोकप्रिय रहेका नेताहरू कोपभाेजनाका  सिकार हुन पुगे । जसको परिणाम संसदीय दलमा स्पष्ट नै देखिन्छ । 

प्रचण्डले नेपालको बारेमा बुटवल र सिन्धुलीमा बोलेका कुराले झस्काएको छ । ओलीसँग टकराब बढिरहँदा उनी मात्र हैन उनीसँग उनका धेरै नेता कार्यकर्ता कारबाहीमा पर्न सक्ने सम्भावना छ । त्यस्तो अवस्थामा नेताभन्दा पार्टीलाई माया गर्नेहरू अन्ततः एमालेमा नै रहने पक्कापक्की छ । । त्यो भनेको माधव नेपालको साथ छोड्ने अवस्थामा धेरै नेता कार्यकर्ता पुग्न सक्ने अर्काे चुनौती माधव नेपाललाई भने थपिरहेकाे छ । 

 जसको कारण एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटनको   पुस ५, २०७७  पछि यता विचलित हाउभाउ र बोलीमा सार्वजनिक मञ्चमा देखिने माधव नेपाल फागुन २३ पछि झनै कमजोर भएका रुपमा लिन थालिएको छ । ‘अदालतले मलाई घुच्चुकमै हान्यो, बदला नै लियो, म त यता न उता अब कता जस्तो अवस्था पुगे’, भनेर आफैले भन्नुपर्ने अवस्था नेपाललाई  पुर्‍याएको छ ।  करिब १६ वर्ष शक्तिशाली महासचिव भएको आफ्नै पार्टीको साधारण सदस्यबाट निलम्बित भएर पनि एमाले पुनर्गठनको अगुवाइ गर्ने भन्दै देश भरी अभियान चलाइरहेका छन् ।  एमालेका अध्यक्ष ओलीले सोधेको स्पष्टीकरणमा नेपालले उल्टै ओलीलाई नै प्रतिस्पष्टीकरण बुझाएका थिए । नेपाललाई फागुन २८ मै पार्टीभित्र पस्ने गेट बन्द गरेका ओलीले स्पष्टीकरण सोधेर थप सहजीकरण गर्दै निलम्बन गरे ।  यसरी पेलिँदै गएका नेपाल पक्षलाई ओलीले फागुन २३  गते पुनर्स्थापित  एमाले पार्टीको  गेट नै बन्द गरेर सडकमै पुर्‍याइदिए अर्थात् पार्टीकै पूर्व महासचिव रहेका नेपाललाई ओलीले एक प्रकारले भन्ने हो भने सडकै बास बनाइदिएका छन् । 

एमालेको साधारण सदस्य समेत नरहने गरी कारबाहीमा परे पनि नेता नेपालका अभिव्यक्ति र कार्यशैलीले भने उनी नगलेका सन्देश प्रवाह गरिरहेका छन् । ‘केपी ओलीले एमाले छोडेर गए हुन्छ, एमाले हाम्रो हो’ जस्ता अभिव्यक्तिले दिनुले यही कुराको सङ्केत गरिरहेको  छ । नेपालसामु बाँकी रहेको एक मात्र बिकल्प ओलीलाई एक्लाउने रणनीतिमा लाग्नु । त्यसका लागि उनले पार्टीभित्रै बलियोसँग पौँठेजोरी खेल्नुपर्ने हुन्छ । त्यो त्यति सजिलो भने छैन । नवौँ महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीले नेपाल विरुद्ध गरिएको निरन्तर घेराबन्दीबाट 'निरीहत' स्वीकार गरेर निर्माण गरेको संरचनामा पौँठेजोरी जित्न अनेकौँ चुनौतीको सामना गर्नु पर्ने छ ।यद्यपि प्रतिकुलता बावजुत पनि केपी शर्मा ओली अध्यक्ष भएपछि जिल्ला र पालिकास्तरमा कुनै पनि पार्टी गतिविधि भन्दा सत्ता रसमा रमाएका कारण त्यसलाई अनुकूलतामा परिणत गर्ने मौकाका रुपमा सदुपयोग गर्ने सम्भावना रहेको दावी गर्नेहरुकाे पनि कमि  छैन। 

नेपालसँगै उनका समर्थक नेता र कार्यकर्ताले माओवादीमा जाने भन्दा पनि आफैले निर्माण गरेको पार्टीमा सङ्घर्ष गर्न दबाब दिइरहेका छन् नेतृत्वलाई । नेपालले यो तथ्यलाई राम्रोसँग बुझेका छन् यद्यपि उनलाई ओलीले पार्टीभित्र 'इन्ट्री' नै गराउँदैनन् । ओली समूहका प्रवक्ता रहेका परराष्ट्र मन्त्रीको भनाई सुन्ने हो भने तत्काल पार्टी छाडेर गए पनि ओली समूहलाई खास फरक पर्दैन भनेर सन्देश दिइरहेका छन् । निर्वाचनको समय आई नसकेकाले उनीहरू सत्तम रहँदासम्म्को अवस्थामा ओली समूहले पार्टीबाट उनीहरूलाई गलहत्त्याउन चाहेको प्रस्ट देखिन्छ । तर नेपाल पक्ष सहजै बाहिर निस्कने पक्षमा नरहेको बताइरहेको छ । कम्तीमा आधा एमाले बाहिर राख्ने योजनामा नेपाल पक्ष रहेको छ । सात लाख कार्यकर्ता मध्ये साढे तीन लाख कार्यकर्ता आफूसँग रहेको बताउँदै आएको नेपाल समूहले समानान्तर कमिटी गठन गरेर पार्टी अलग बनाउने पक्षमा लागेको छ । ‘हामीसँग तीन लाख कार्यकर्ता छन् आधा एमाले हाम्रो हो जति उहाँहरूले सोच्नु भएको छ त्यो होइन’, नेपाल समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईको अभिव्यक्ति सार्वजनिक भैसकेको छ ।

नेपाल पक्षले शुक्रवार दिउसो बसेको स्थायी कमिटी बैठक राखेर कार्यकर्तालाई देशव्यापी रुपमा पार्टी एकताका लागि दबाब दिन लगाउने नीति अख्तियार गरेको छ । साथै गएको चैत ४–५ गते ललितपुरमा भएको राष्ट्रिय भेलामा प्रस्तुत दस्ताबेजमा आएका सुझावलाई प्रकाशन गरेर सर्कुलर गर्ने निर्णय गरेको छ। राष्ट्रिय भेलामा प्रस्तुत अवधारणा पत्रमा १० वटा टोलीले सुझाव दिएका थिए । ती सुझाव समेटिएका प्रतिवेदनलाई शनिवार अन्तिम रूप दिएर प्रकाशन गर्ने तयारी रहेको छ । सो कार्यकर्ता भेलाले देशव्यापी रुपमा सङ्गठन विस्तार र सुदृढीकरण गर्ने अभियानलाई अघि बढाउने निर्णय गरेको थियो ।

त्यसका निम्ति प्रशिक्षण, अभियान, भेला कस्तो हुने भन्ने विषयलाई अन्तिम रूप दिएर सर्कुलर गर्ने भएको हो । घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही पार्टीको नवौँ महाधिवेशनबाट पारित विधान विपरीत र पूर्वाग्रही भएको निष्कर्षसहित पार्टी भित्रै फागुन २८को निर्णय पुनरावलोकनमा जाने गरी तयारी समेत गरेका छन् । पछिल्लो समय नेपालका भनाइ र गराइमा विरोधाभास प्रस्टै देखिन थालेको छ । माओवादी केन्द्रका नेता प्रचण्डसँगको बाक्लै उठबसले उनलाई एमाले वृत्तमा आफ्नै विश्वासपात्र कार्यकर्ताले समेत सशङ्कित नजरले हेर्ने क्रम बढेपछि एमालेभित्रै बसेर सङ्घर्ष गर्नेतर्फ नेपालको ध्यान केन्द्रित भएको बताइए पनि ओली प्रवृत्तिविरुद्ध लड्न पार्टीभित्र 'स्पेस' भने  दिइएको छैन ।

केपी ओलीको भनाइमा नेपाललाई सुधारिनका लागि निलम्बन गरिएको भए पनि नेपाल अहिले ओलीलाई देखाइदिन प्रचण्डसँग नजिकिएका छन् । उनका बोली र व्यवहारले प्रस्ट गर्छन्, 'नेपाल ओलीसँग मिल्दैनन् प्रचण्डलाई छोड्दैनन्' । नेपालको यस्तो भावभङ्गीलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने ओलीलाई गलाउने र एमाले फुटाउने अस्त्रको रुपमा उपयोग गरिरहेका छन् । दाहालको रणनीति नेपालले नबुझेका त हैनन् भन्ने प्रश्नले नेपाललाई आफ्नै कार्यकर्ताको कठघरामा उभ्याएको छ । नेपालले प्रचण्डसँग दिनदिनै छलफल गरेको देख्दा पार्टी विभाजन गर्लान् कि आफैले अर्को पार्टी निर्माण गर्लान् भन्ने प्रश्न उठिरहेका छन् । एमाले नेतृत्वमा नेपालको पुनरागमनका लागि केपी ओलीको सत्ता बहिर्गमन एक मात्र उपायका रुपमा  लिएको छ ।  जुन तत्कालका लागि सजिलो छैन । ओली इतरका एमाले समेटेर पार्टी कार्यालय र समानान्तर कमिटीहरू बनाए पनि यसो गर्दा उनी र उनका पक्षधर माथि थप र अझ कडा कारबाहीको सम्भावना जीवितै छ ।

अहिले पनि व्यापारी उपेन्द्र तिम्सिनाको घरमा हुने भेटघाटले पनि सङ्केत गर्छन् कि ओलीलाई घेराबन्दीमा नपारेसम्म आफू सत्तामा पुगिन्न र सत्तामा नपुगेसम्म एमालेको नेतृत्वमा टिकिरहन सकिन्न भन्ने नेपालले बुझेका भए पनि प्रचण्डको साथले नेपाललाई कार्यकर्ताको माझ जान कठिन बनिरहेको छ ।  प्रचण्डले नेपालको बारेमा बुटवल र सिन्धुलीमा बोलेका कुराले झस्काएको छ । ओलीसँग टकराब बढिरहँदा उनी मात्र हैन उनीसँग उनका धेरै नेता कार्यकर्ता कारबाहीमा पर्न सक्ने सम्भावना छ । त्यस्तो अवस्थामा नेताभन्दा पार्टीलाई माया गर्नेहरू अन्ततः एमालेमा नै रहने पक्कापक्की छ । । त्यो भनेको माधव नेपालको साथ छोड्ने अवस्थामा धेरै नेता कार्यकर्ता पुग्न सक्ने अर्काे चुनौती माधव नेपाललाई भने थपिरहेकाे छ ।