प्रहरीद्वारा २२ हजार थप दरबन्दी माग

प्रहरीद्वारा २२ हजार थप दरबन्दी माग

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १०, २०७६

काठमाडाैं । विभिन्न जिल्लाबाट मागअनुसार प्रहरी कार्यालय स्थापनाका लागि नेपाल प्रहरीले २२ हजारभन्दा धेरै दरबन्दी माग गरेको छ । सात सय ५० ग्राम नयाँ कार्यालय स्थापना र चार सय ४२ कार्यालय स्तरोन्नतिका लागि थप जनशक्ति आवश्यक भएको प्रहरीले जनाएको छ । 

प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीका अनुसार तत्कालका लागि २२ हजार चार सय १८ दरबन्दी आवश्यक छ । ‘यसमध्ये केही दरबन्दी थप हुने क्रममा छ,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने । नयाँ दरबन्दीसँगै त्यसका लागि आवश्यक ब्यारेक, सञ्चार सेट तथा सवारीसाधनसमेत आवश्यकता रहेको उनको भनाइ छ । 

धेरै प्रहरी अझै भुइँमा सुत्नुपर्ने अवस्था रहेको प्रहरीले जनाएको छ । जुन समस्या समाधान गर्न प्रहरीले ‘एक प्रहरी एक खाट’ अभियान थालेको छ । जसअन्तर्गत पहिलो चरणमा १२ हजार खाट निर्माणको योजना अघि बढाइएको एसएसपी सुवेदीले बताए । त्यस्तै, करिब ११ सय प्रहरी कार्यालयमा अझै शौचालयसमेत छैन । त्यसमध्ये सात सय कार्यालयमा शौचालय बनाउने योजना प्रहरी प्रधान कार्यालयले अघि बढाएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।