साढे चार हजार विद्यालय पुनर्निर्माण सम्पन्न, १७ सय निर्माणाधीन

साढे चार हजार विद्यालय पुनर्निर्माण सम्पन्न, १७ सय निर्माणाधीन

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १०, २०७६

काठमाडाैं । ०७२ सालको भूकम्पबाट ध्वस्त भएकामध्ये ३२ जिल्लामा चार हजार चार सय ७६ विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ । एक हजार सात सय ७२ विद्यालय निर्माणाधीन छन् भने तीन सय ९८ विद्यालय पुनर्निर्माणका लागि छनोट भएका छन् ।  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा)का अनुसार १२ वैशाख ०७२ को भूकम्पबाट सात हजार नौ सय २३ विद्यालयमा क्षति पुगेको थियो । ती विद्यालयका २१ हजार एक सय ६९ कक्षाकोठा पूर्ण रूपमा ध्वस्त भएका थिए भने १२ हजार पाँच सय २२ कक्षाकोठा क्षतिग्रस्त भएका थिए । १५ हजार नौ सय ९० कक्षाकोठामा आंशिक क्षति पुगेको थियो ।  भत्केका विद्यालयमध्ये पुनर्निर्माण गर्दा तीन सय ७० वटालाई मर्ज गरिएको छ ।

भूकम्प गएको एक वर्षपछि केन्द्रीय आयोजनाले काम सुरु गरेको थियो । केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा)का आयोजना निर्देशक इमनारायण श्रेष्ठले अहिलेसम्म निर्माण सम्पन्न भएका, निर्माणाधीन र निर्माणका लागि छनोट भएका गरी ६ हजार ६ सय ४६ विद्यालय बन्ने सुनिश्चितता भइसकेको बताए । उनका अनुसार विद्यालय व्यवस्थापन समितिमार्फत अहिलेसम्म सबैभन्दा बढी विद्यालय पुनर्निर्माण भएका छन् ।

समितिले अहिलेसम्म तीन हजार पाँच सय ८३ विद्यालयको पुनर्निर्माण गरिसकेको छ भने एक हजार दुई सय २२ विद्यालय बनाइरहेको छ । दुई सय तीन विद्यालय निर्माणका लागि छनोट भइसकेका छन् । निर्माण व्यवसायीमार्फत एक सय ३५ विद्यालय पुनर्निर्माण भइसकेका छन् भने तीन सय ३८ निर्माणाधीन छन् । एक सय ७५ विद्यालय निर्माणका लागि छनोट भएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।