हलेसीमा वाइल्ड एड्भेन्चर एण्ड फनपार्क निर्माण गरिने

हलेसीमा वाइल्ड एड्भेन्चर एण्ड फनपार्क निर्माण गरिने

लोकसंवाद संवाददाता  |  पर्यटन  |  चैत्र २५, २०७७

खोटाङ । त्रिधार्मिकधाम खोटाङको हलेसीमा हलेसी वाइल्ड एड्भेन्चर एण्ड फनपार्क निर्माण हुने भएको छ । दर्शनका लागि देश–विदेशबाट हलेसी आउने पर्यटकलाई आकर्षित गर्न युवाको सामूहिक लगानीमा हलेसी वाइल्ड एड्भेन्चर एण्ड फनपार्क निर्माण गर्न लागिएको हो ।

करिब पाँच करोडको लागतमा निर्माण सम्पन्न हुने फनपार्क प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शिलान्यास गर्नुभएको थियो । पत्रकार अनुज खड्का, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडासदस्य नीरजमानसिंह बस्नेतलगायत चार युवाको लगानीमा हलेसीमा फनपार्क निर्माणको काम शुरु गरिएको हो । 

हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसी दर्शनका निम्ति आउने दर्शनार्थी एवं पर्यटकलाई घुमफिरका लागि उपयुक्त मनोरञ्जनस्थलका रूपमा फनपार्कको योजना अगाडि सारिएको निर्माता बस्नेतले बताउनुभयो । दैनिक आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने हलेसीमा निर्माण हुने फनपार्कमा टायर गार्डेन, जङ्गल रिसोर्ट, पाइनापल ९भुइँकटहर० गार्डेन, चिडियाघर, मिनीमार्केट, बेम्बो कटेज, नाटकगृह, रोधीघर, सेल्फीजोन र बोतल हाउस निर्माण गरिने जनाइएको छ । 

पर्यटकको मनोरञ्जनका निम्ति रुखमाथि निर्माण गरिएको टी हाउस, बाँसबाट बन्ने हवाईजहाज, बस तथा अन्य सामग्री, फोटो खिच्नका निम्ति आकर्षक कलाकृति, पुराना टायरद्वारा निर्माण गरिने टायर गार्डेन, बियरका खाली सिसी प्रयोग गरेर निर्माण गरिने आकर्षक घर–टहरालगायतका भौतिक संरचना निर्माण गर्ने योजना छ । यसका साथै पार्कमा नेपालमा थोरै मात्र पाइने र विश्वभरबाट सङ्कलन गरिएका पक्षीको सङ्ग्रहालय पनि राखिने बताइएको छ । 

हलेसी मन्दिरबाट उत्तर–पश्चिममा निर्माण हुने सो फनपार्कमा रुखमा झुण्डिएको चराको गँुड आकृतिको मान्छे बस्न मिल्ने टहरा, उत्पादन पनि दिने र आकर्षक देखिने भुँइकटहर तथा घिउकुमारीको गार्डेन र विभिन्न प्रजातिका फूलबारी पनि निर्माण गर्ने उद्देश्य छ । फनपार्क निर्माता समूहमा सकेसम्म खोटाङका युवालाई प्राथमिकता दिने जनाइएको छ । 

फनपार्क निर्माणमा क्रमशः १० देखि १५ युवा समेट्ने योजना रहेको बस्नेतले बताउनुभएको छ । स्थानीय युवाले लगानी गर्न नचाहेको खण्डमा बाहिरी जिल्लाका लगानीकर्तालाई भित्र्याइने जनाइएको छ । सामूहिक लगानीबाट एउटा आकर्षक पर्यटन गन्तव्य थलोको निर्माण गर्न लागिएकाले इच्छुक युवा संलग्न हुनसक्ने निर्माता एवं पत्रकार खड्काले बताउनुभयो । शिलान्यास कार्यक्रममा मुख्यमन्त्री राईले देशको विकासमा पर्यटनको महत्वपूर्ण भूमिका रहने भएकाले पर्यटनको विकासमा स्थानीय युवा अग्रसर हुनुपर्ने बताउनुभयो ।  

हलेसीमा केही युवाको सक्रियतामा बन्न लागेको फनपार्कले सिङ्गो समाज र देशमा सामूहिक लगानीको उदाहरण प्रस्तुत गरेको मुख्यमन्त्री राईको भनाइ थियो । सोही कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सरकारले निजी क्षेत्रलाई समेत प्रोत्साहित गर्दै समृद्धिको लक्ष्य हासिल गर्न लागिपरेकाले युवाले यसमा हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो । 

हलेसीमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर ढुङ्गे बगैँचा ९रकगार्डेन०, धर्मशाला, घरबास ९होमस्टे० लगायत भौतिक पूर्वाधार निर्माणमा जोड दिइएको छ । हलेसीमा दर्शनार्थी तथा झक्तजनको भीड बढ्दै गएपछि सुविधासम्पन्न होटल तथा रेष्टुरेन्ट र व्यापार व्यवसाय गर्नेको सङ्ख्या पनि वृद्धि भइरहेको छ । 

धार्मिकरूपमा मात्रै नभएर प्राकृतिकरूपले समेत विश्व प्रसिद्ध हलेसीमा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न नगरपालिका, हलेसी विकास समिति र मन्दिर व्यवस्थापन समितिको संयुक्त लगानीमा सिसीक्यामेरा जडान गरिएको छ । मुख्य गुफाभित्रको महादेवथान, पर्वतीथान, बसाहा गुफा, मन्दिर प्रवेशद्वार, सूचना केन्द्र, रिठ्ठाबोटे, साल्पा बैंकचोक, हलेसी भिलेज होटल क्षेत्र, ट्राफिक चोक, ग्यारेज, डाँडाबजारलगायतका स्थानमा सिसीक्यामेरा जडान गरिएको हो । 

हलेसीमा नेपालका सबै जिल्लाका साथै अन्य देश भारत, चीन, भूटान, बङ्गलादेश, जापान, अमेरिका, थाइल्याण्डलगायतबाट भक्तजन एवं दर्शनार्थी आउने गरेका छन् । विश्व प्रसिद्ध हलेसीमा विवाहिता महिलाले आफ्नो श्रीमान्को दीर्घायु र परिवारको सुख समृद्धिको कामना गर्दै र अविवाहिता महिलाले असल श्रीमान् पाउने कामना गर्दै पूजाअर्चना गर्ने प्रचलन रहिआएको छ ।