मिर्छुलुङका घर–घरमा धारा

मिर्छुलुङका घर–घरमा धारा

लोकसंवाद संवाददाता  |  समाज  |  चैत्र २५, २०७७

तनहुँ । तनहुँको भीमाद नगरपालिका–५ मिर्छुलुङका घर–घरमा धारा जडान भएपछि स्थानीयवासी खुशी भएका छन् । खानेपानीको सास्ती खेप्दै आएका यहाँका स्थानीयवासी घरमै धारा जडान भएपछि खुशी भएका हुन् । 

धरादीको मूलबाट सोलार प्रविधिमार्फत मिछुर्लुङका ७२ घरमा धारा जडान गरिएको उपभोक्ता समितिका अध्यक्ष बाबुराम रानाले जानकारी दिनुभयो । “गाउँमा पानी नहुँदा कुँवा, पँधेरोको पानी जोहो गर्नुपर्ने बाध्यता थियो, अहिले त घरमै पानी आएपछि स्थानीयवासी खुशी भएका छन्”, उहाँले भन्नुभयो । 

गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग र स्थानीयवासीको श्रमदानमा उक्त गाउँमा खानेपानी सुविधा पुगेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँले  ६८ लाख ४६ हजार २४३ को लागतमा उक्त गाउँमा खानेपानी सुविधा विस्तार गरेको हो । 

खानेपानी विस्तारका लागि गण्डकी प्रदेश सरकारले ५७ लाख ८४ हजार ९०३ लगानी गरेको छ भने स्थानीयवासीले दश लाख ६१ हजार ३४० बराबरको श्रमदान गरेको कार्यालयका प्रमुख किरण पौडेलले जानकारी दिनुभयो । 

विसं २०७५ माघ २९ गते सम्झौता भई विसं २०७६ पुस १५ गते सम्पन्न गर्ने लक्ष्य रहे पनि कोभिडको प्रभावका कारण काममा ढिलाइ भएको कार्यालयले जनाएको छ । उक्त खानेपानी योजनाको उद्घाटन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले अब गण्डकी प्रदेशका कुनै गाउँमा खानेपानीको समस्या नरहने बताउनुभयो ।