कृषि कर्ममा रमाउँदै म्याग्दीका किसान

कृषि कर्ममा रमाउँदै म्याग्दीका किसान

लोकसंवाद संवाददाता  |  समाज  |  चैत्र २५, २०७७

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका– ६ ठाडाखानीकी हिमाली छन्त्यालले  यो वर्ष आलु बिक्री गरेर मात्रै दुई लाख कमाउनुभयो । आलुको  बीउ महँगो भएकाले थोरै किनेर हिउँदे आलु रोप्नुभएकी छन्त्यालले थोरै रोपे पनि आलुको राम्रो भाउ आएकाले उहाँलाई कुनै दुखेसो छैन । 

सधैँजस्तो आलु बेच्न बजार लानु पनि परेन । ग्राहकले घरमै आएर लगे । थोरै आलु रोपेर राम्रो मूल्यमा बेचेकाले छन्त्याल आलु खेतीबाट सन्तुष्ट हुनुहुन्छ । म्याग्दीको उपल्लो भेगमा अहिले धमाधम हिउँदे आलु खनेर बेच्ने समय हो । यो वर्ष आलुको बीउ आकिसिएकाले बीउ अभावमा थोरै रोपेतापनि हिउँदे आलुको राम्रो भाउ पाएकोमा आलु किसान खुशी छन् ।

राम्चेकी लीलमाया पुनलाई पनि थोरै आलु रोपेकोमा कुनै पछुतो छैन । महँगो बीउ भएकाले थोरै आलु रोपे तापनि आम्दानी उठेर पनि आफूलाई पुग्दो भएकाले उहाँ खुशी हुनुहुन्छ । छन्त्याल र पुन जस्तै म्याग्दीका धेरै किसान अहिले कृषि कर्मबाट नै मनग्गे आम्दानी हुन थालेपछि खेतीपातीको काममा नै हौसिएका छन् ।

 दुई वर्षसम्म आयातित तरकारीको भरपर्नु पर्ने म्याग्दी जिल्ला अहिले तरकारीमा आत्मनिर्भर बन्दै गएको छ । विशेषगरी कोरोना भाइरसको कारण भारती तरकारी नेपाल छिर्न नपाएपछि गाउँगाउँमा तरकारी व्यापारी छिर्न थालेकाले यो वर्ष आलुलगायतका तरकारीको मूल्यले राम्रो भाउ पाएको किसानले बताएका छन् । 

कात्तिक अन्तिममा रोपेको हिउँदे आलु अहिले खन्ने मौसम हो । म्याग्दीमा हिउँदे आलु बिक्री गरेर यो वर्ष रु पाँच करोड भन्दा बढी आम्दानी हुने कृषकको भनाइरहेको छ ।