महान् सन्तति ! बाबुआमा वृद्धाश्रम थन्क्याउँदा र फोहोरका रुपमा मिल्काउँदा गौरव !?
चैत्र २५, २०७७

अहिले धेरैको मन खिच्ने एउटा समाचार सञ्चारमाध्यममार्फत ८४ वर्षकी आमाको बेवस्था गरेको अभियोगमा राष्ट्रबैङ्कका निर्देशक प्रहरी नियन्त्रणमा  शीर्षकको प्रकाशित भएको छ । समाचारलाई आधार मान्दा पैसाभन्दा ठुलो केही छैन यो संसारमा ! 

यहाँ एउटा बुद्धसँग सम्बन्धित घटना उठान गरेको छु, जसले धेरै कुरा बोल्छ । 

श्रावस्ती नगरमा धनपति नामक कुनै एक ब्राह्ण थिए । उनीसँग ८ लाख नगद धन भएकोले उनको नाम ‘धनपति’ ले प्रख्यात भएको हो । उनका चार छोराहरू थिए । धनपतिले आफ्ना छोराहरू समर्थ भएपछि विवाह गरिदिए । त्यसको साथसाथै उनले आफ्ना छोराहरूलाई एक–एक लाख नगद धन पनि बाँडिदिए । केही दिनपछि धनपतिकी पत्नीको देहान्त भयो । त्यसपछि उनलाई चारैजना छोराहरूले सेवाशुश्रूषा गर्न थाले ।

एक दिन चारैजना छोराहरूले यस्तो विचार गरे- 'यदि पिताले सौतेनी आमा ल्याए भने घरमा कलह हुन सक्छ । घर भाँडिन सक्छ । अतः धनसम्पत्ति जम्मै आफ्ना हातमा पारौं र धन नभएपछि पुनर्विवाह  हुने सम्भव हुँदैन ।' यसरी उनीहरूले पिताको धन–सम्पत्ति जम्मै आफ्ना हातमा पार्न खोजे । एक दिन धनपति ब्राह्ण भात खाई दिउँसो सुतेर उठेपछि चारै जना छोराहरूले उनको खुट्टा मिच्न थाले । यसैबेला उनीहरूले आफ्ना बुढा बाबुसँग निम्न कुरा भने :-'हे पिताज्यू ! तपाई अहिले बुढेसकालमा पुगिसक्नुभएको छ । अब गृहस्थभार बोकी काम–काज चलाउनु सजिलो छैन । किन तपाइँ यो अभिभार बोकिरहनुहुन्छ । बाँकी रहेको जम्मै धनसम्पत्ति पनि हामी चार भाईलाई बाँडिदिनुहोस् । हामी तपाइँको हेरविचार गरिनै हाल्नेछौं । घर–धन्दा पनि हामी नै चलाउने छौं ।'

धनपति ब्राह्णले पनि ' छोराहरूले ठिक्कै भनेका हुन्; बेमुनासिव भनेका छैनन्'  भनी बाँकी चारलाख धन–सम्पत्ति चार दाजु भाइहरूलाई बाँडी दिए । आफूसँग चाहिँ आफूले लगाएको लुगाफाटो मात्र राखे । त्यसपछि चार दाजुभाइहरू पनि भित्र भए । ब्राह्णचाहिँ जेठो छोरोसँग बसे । जेठो छोराले आफ्नो पितालाई नियमपूर्वक राम्रोसँग हेरविचार गरिरहेका थिए । एक दिन धनपति नुहाई फर्कंदा माथिबाट भर्‍याङको डिलमा आई बुहारीले आफ्ना ससुरालाई यस्तो कुरा सुनाइ:-' हे ससुरा ! तपाईले सम्पत्ति बाँड्दा हामीलाई एकपैसा बढ्ता दिनुभएको छ र ? सँधै यही घरमा मात्र बस्नुहुन्छ, अरू छोराहरूका घर चिन्नु भएको छैन ? उनीहरूका घरमा जाने खुट्टा छैनन् र ?'

बुहारीको यो कानको जाली र मुटु फुट्ने जस्तो कुरा सुन्नुपर्दा धनपति ब्राह्णको दिलमा सारै नै चोट लाग्यो । यसै कुराको पीरले गर्दा उनी माहिला छोराको घरमा गई बसे । दिन बित्दै गएपछि त्यहाँ पनि यस्तै घटना घट्यो र फेरि साँहिलो छोरोको घरमा गई बसे । त्यहाँ पनि त्यस्तै हुँदा कान्छो छोरोको घरमा गई बसे । त्यहाँ पनि उही विचरा बुढा न यता न उता परे । अन्ततः लाचार भई, काम दिन नसक्ने जीर्ण भएको घोडालाई घरबाट धपाई दिएझैं, विचरा बुढा बुढेसकालमा भिक्षा मागी जीविका गर्न थाले ।

यसको अर्थ धर्ति सबै अगतिला पात्राहरूले भरिएको भन्ने होइन, यस्ताहरूको बाहुल्यता छ भन्ने हो । बिगार्ने, नास्ने अनि दोष धर्मशास्त्रतिर थुपार्ने हाम्रो खानदानी बानी नै हो । अहिले पनि हामी व्यवहार, आचरण होइन, हामी, म होइन, कानुन नै बेथितिको आधार हो भन्नेमा छौँ । चार छोराबुहारीहरू त ठेगानामा आए, सायद हामी आउन त आउन सक्दैनौ । रोग म र हामीमा छ भन्न थाल्यौँ भने आमाबाबुलाई फोहोर वस्तु हुन् भनेर  मिल्काउन असमर्थ हुन्छौँ किनिक हामी ठुला, महान् हौँ, केवल असल होइनौँ !

एक दिन भिक्षा मागी फर्केर कहीं एक ठाउँमा बसी रहँदा, आफ्नो वृद्ध अवस्थालाई देखी, शरीर कमजोर भई शरीरमा कुनै हबिगत नभएको देखी, 'छोरा पाउदा कत्रो खुशियाली मनाएको थिएँ, उनीहरूको विवाह गरिदिँंदा कत्रो आनन्द लागेको थियो, आज तिनै आइमाइहरूको कुरामा लागी छोराहरूले पनि म ज्यूँदो छु कि छैन भन्ने कुरासम्मको पनि सम्झना गरेनन्' भन्ने विचार गर्दै झोक्राई रहेको बेलामा झ्वाट्ट उनको मनमा बुद्धको सम्झना आयो र उनले यस्तो विचार गरे:- 'धन्य ! श्रमण गौतम ! तपाई धुस्स फुलेर कहिले पनि बस्नु हुत्र, सदा प्रसत्र चित्त गरी हँसिलो मुख लिई बस्नु हुन्छ । वहाँ कहाँ गएमा अवश्य पनि मैले केही शान्त्वना तथा सहारा पाउन सकौंला ।' त्यसपछि कुम्लो कुटुरो एक ठाउँमा राखी बुढा बुद्ध भएको ठाउँमा गए । भगवान कहाँ पुगी आफ्नो दुःखको कुरा जम्मै पोख्दा, भगवानले सो जम्मै कुरालाई नपोखिकन थापेर लिनुभएको मात्र नभई, करुणा राखी उनको भलोका लागि सिकाई दिनुभएको गाथाहरू कण्ठस्थ गरी हल्का हृदय लिई फर्केर आए । बुद्धको दयापूर्ण मधुर वाणी सुनेर बुढाको मन अति प्रसत्र भएको थियो । भगवानले बताउनुभएको उपायबाट ब्राह्णको हृदयमा एक अपार आशाको लहर बग्न थाल्यो । जीवनको ज्योति कहींकतै देखेको झैँ उनको मनमा लाग्यो र  आफ्ना छोराहरू पनि सम्मिलित हुने कुनै एक समागमको प्रतीक्षामा बसे ।

हुनत त्यस बखतमा धन पाउँने छोराछोरीले बाबुआमाको भरणपोषण गर्नुपर्छ भन्ने सामाजिक नियम नै थियो । त्यसअनुसार, पञ्चको निर्णयबमोजिम ज्यानको खतरासमेत हुन्थ्यो । तर त्यो कुराको कसैले, कहींकतै कुराकानी भनसुन् गरिदिएका थिएनन् । आ–आफ्ना स्त्रीहरूका स्त्री–चरित्रमा परी ती चारजना छोराहरूले आफ्नो बाबुको स्मरणसम्म पनि गर्न सकेनन् । कामान्धताले गर्दा आफ्नो बाबु जिउँदो छ कि छैन भन्नेसम्म पनि ख्याल राख्न सकेका थिएनन् ।

एक दिन ठाँट्बाँट्का साथ एक सभामा उच्च आसनमा बसिरहेका आफ्ना छोराहरूलाई धनपतिले देखे । अनि उनी त्यस सभामा गई हात उठाई 'म यस सभामा केही भत्र चाहन्छु'  भने । सभाषद्ले स्वीकृति दिएपछि उनले बुद्धले सिकाई दिनुभएका गाथाहरू पढेर सुनाए । त्यसपछि सभामा खलबल चल्यो । बाबुलाई झन् सेवा गर्नुपर्ने अवस्थामा बुढो बाबुलाइै उल्टै घरबाट निकालेको अभियोग छोराहरूमाथि पर्न आयो । सभाषद्मध्येका केहीले 'यस्तालाई काट्नुपर्छ' भन्ने आवाज नि उठाए । पछि छोराहरू होशमा आई आफ्ना वृद्ध पितालाई खटमा राखी चारै दाजु भाइहरूले त्यहींबाटै बोकेर घरमा लगे । घरमा पुगिसके पछि सुगन्धित तेल घसी, सुगन्धित जलले नुहाइ दिई प्रत्येक छोराहरूले एक एक दोसल्ला ओढाइ दिए । चारै जना छोराहरूले प्रत्येक छोराहरूले प्रत्येक दिनको लागि नित्य भोजन दिने वाचा गरे । आ–आफ्ना स्त्रीहरूलाई-'अब उप्रान्त अप्रमादी भई बाबुको सेवा टहल गर' भनी चेतावनी पनि दिए ।

छोराहरूका घरमा सु–भोजन पाउन थालेपछि धनपति ब्राह्णको शरीर क्रमशः हृष्टपुष्ट हुँदै आयो । अनि उनले-' यो जम्मै श्रेय भगवान बुद्धलाई छ । वहाँले उपाय–मन्त्र नसिकाई दिनुभएको भए, म पुनः यस स्थितिमा आउन सक्ने थिइन होला'  भन्ने विचार गरी भगवानप्रति कृतज्ञता ज्ञापन गर्न धनपतिका छोराहरूले दिएको दोसल्लामध्ये एउटा लिई भगवान कहाँ गए । बुद्धसँग यसरी प्रार्थना गरे:- 'भो गौतम ! तपाई मेरो गुरु हुनुहुन्छ । ब्राह्णहरू गुरुलाई गुरु–दक्षिणा दिन्छन् । यो दोसल्ला तपाईलाई म गुरु–दक्षिणाको रूपमा समर्पण गर्दछु । कृपया स्वीकार गर्नुहोस् !' भगवानले स्वीकार गर्नुभयो । ' भो गौतम ! मेरा चारै जना छोराहरूले मलाई चार नित्य भोजन दिएका छन् । ती दिएका भोजनमध्ये तपाइँलाई म दुई भोजन चढाउँछु, म दुई भोजन लिन्छु' भन्दै बुद्धलाई दुई भोजन अर्पण गरे । भगवानले भन्नुभयोः 'कल्याण हो, ब्राह्ण ! हामी समय जानी तिम्रा छोराहरूका घरमा जानेछौं ।' यसपछि भगवान सर्वप्रथम जेठो छोरोको घरमा भोजनार्थ जानुभयो । पछि क्रमैसँग अरू भाइहरूका घरमा पनि जानुभयो । ((भिक्षु अमृताननन्द, बुद्धकालीन ब्राह्मण, भाग १, २०२८, पृ.८-९)

हामी कहाँ छौँ, यस घटनाले पनि बताउँदछ । समयको गति, विज्ञानको प्रगति र मानव सभ्यताको प्रगतिसँगै माननवीय भावना, सोच, मूल्य, मान्यता, नैतिकता, इमान्दारिता, कर्तव्य कसरी खिइँदै गएका छन् ? मानव सभ्यताको विकाससँगसँगै बुबा, आमा, ज्येष्ठ नागकि हेयका पात्रमा कसरी रूपान्तरित भइरहेका छौँ ? वृद्धाश्रम खोल्नु, त्यसमा आमाबाबुलाई थन्क्याउनु किन गौरवको, सानको विषय बन्न पुगेको छ ? यो गतिलो महान् भूमिकामा अरू होइन, समाजले, मुलुकले पत्याएका हामी ठुलाबडा, गतिला पदहरू, इज्जतदार, प्रतिष्ठाले भरिपूर्ण महासयहरू नै हौँ ।

यसको अर्थ धर्ति सबै अगतिला पात्राहरूले भरिएको भन्ने होइन, यस्ताहरूको बाहुल्यता छ भन्ने हो । बिगार्ने, नास्ने अनि दोष धर्मशास्त्रतिर थुपार्ने हाम्रो खानदानी बानी नै हो । अहिले पनि हामी व्यवहार, आचरण होइन, हामी, म होइन, कानुन नै बेथितिको आधार हो भन्नेमा छौँ । चार छोराबुहारीहरू त ठेगानामा आए, सायद हामी आउन त आउन सक्दैनौ । रोग म र हामीमा छ भन्न थाल्यौँ भने आमाबाबुलाई फोहोर वस्तु हुन् भनेर  मिल्काउन असमर्थ हुन्छौँ किनिक हामी ठुला, महान् हौँ, केवल असल होइनौँ !