तलब माग्दै १२० नेपाली अदालतमा

तलब माग्दै १२० नेपाली अदालतमा

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १०, २०७६

काठमाडौँ । कतारस्थित डिजाइन कन्स्ट्रक्टिङ कम्पनीमा कार्यरत एक सय २० जना नेपाली तलब माग्दै उच्च अदालत धाइरहेका छन् । कतारको श्रम विभाग र नेपाली दूतावास, कम्पनी र कामदारबीच श्रम विवाद नमिलेपछि कामदारहरू उच्च अदालत धाउन बाध्य हुनुपरेको हो ।

‘हामी श्रम अदालत र दूतावासमा पनि गयौं । दुवै ठाउँबाट हाम्रो समस्या समाधान हुन सकेन,’ पीडित दिल श्रेष्ठले कान्तिपुरलाई फोनमा भने, ‘कम्पनीले तलब र उपदान दिएकै छैन ।’

कम्पनीले गत नोभेम्बरदेखि तलब नदिएको हो । तलब नपाएपछि उनीहरूले गत फेब्रुअरीदेखि काम गर्न छाडेका छन् । कतार सरकारले कामदारको तलब सुनिश्चित गर्न बैंकबाट अनिवार्य तलब दिनुपर्ने व्यवस्था गरेको थियो ।

नयाँ कम्पनी मालिकले तलब दिन नसकेपछि समस्या सुरु भएको पीडितले बताए । ‘पुरानो मालिकले राम्र्रैसँग चलाइरहेको थियो । उसले कम्पनी बेचेर हिँडिदियो । नयाँले चलाउनै सकेन,’ उनले भने, ‘अहिले धेरै जनासँग भिसा छैन । गैरकानुनी हैसियतमा बस्नुपरेको छ । कति बेला प्रहरीको पक्राउमा परिन्छ भन्ने डर छ ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।