बिग्ही नदीको प्रदूषित पानीले महोत्तरीका करिब दुई लाख जनसङ्ख्या प्रभावित

बिग्ही नदीको प्रदूषित पानीले महोत्तरीका करिब दुई लाख जनसङ्ख्या प्रभावित

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २७, २०७७

महोत्तरी । “व्यवस्था बदैलगेल, संविधान बदैलगेल, मुदा गन्दगी पाइन स हमरा सवहक जीनगी छुटकारा नई पौलक” ९व्यवस्था बदलियो, संविधान बदलियो तर हाम्रो जीवनले प्रदूषित पानीबाट छुटकारा पाएन०,  महोत्तरीको भङ्गाहा नगरपालिका–९ हरिणमरीका ८५ वर्षीय वृद्ध जितन यादवले बस्ती नजिकैको बिग्ही नदीको कालो प्रदूषित पानी देखाउँदै विरह पोख्नुभयो ।

जिल्लाका तीन नगरपालिका र दुई गाउँपालिका हुँदै भारत झर्ने बिग्ही नदीको प्रदूषित पानीले महोत्तरीका करिब दुई लाख जनसङ्ख्या प्रभावित छन् । धनुषा उद्गमस्थल रहेर केही ठाउँ महोत्तरी र धनुषाको सीमा बन्दै महोत्तरीबाट भारतको मधुवनी जिल्ला झर्ने बिग्ही नदीमा धनुषाको महेन्द्रनगरस्थित एभरेष्ट पेपर इण्डष्ट्रिज ९उद्योग०ले ढलबाट झारेको प्रदूषित पानीले जनजीवन नराम्ररी प्रभावित बनेको हो ।

महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिकासम्म धनुषासँग सीमा नदी रहेको र लोहारपट्टी नगरपालिका टेकेपछि दुवैतर्फ महोत्तरीका बस्ती हुँदै भारतको मधुवनी जिल्ला झर्ने बिग्ही नदीको वस्तुभाउको सघन चरन क्षेत्र नै बहाव बनेको छ । भङ्गाहा, लोहारपट्टी, जलेश्वर  र मटिहानी गरी चार नगरपालिका एवं  महोत्तरी र पिपरा गरी दुई गाउँपालिकासहित छवटा स्थानीय तह महोत्तरीमा बिग्ही नदी बहाव क्षेत्रमा पर्छन् ।

एकताका खानेपानीका मूल कैयौँ ठाउँमा रहेको यो नदी क्षेत्रमा विसं २०३९ ९सन् १९८२०मा एभरेष्ट पेपर उद्योग स्थापना भएयता उद्योगले ढलबाट झार्ने प्रदूषित पानी मिसिएपछि खानेपानीका मुहान ९भुल्के पानीको मुहान० सुकेका छन् । पछिल्लो करिब चार दशकदेखि नदीमा उद्योगले झारेको प्रदूषित पानीले नदी किनारका काँस ९बगरमा हुर्कने एकप्रकारको वनस्पति, घाँस० मासिएका छन् । प्रदूषित पानीको दुर्गन्धले असहजता खेप्नुपरेको नदी छेउछाउका बस्तीका बासिन्दाको गुनासो छ ।

“बिग्ही त हाम्रो जीवन आधार थियो, यहाँ कैयन भुल्के पानीका मुहान थिए, नदी किनारमा सधैँ हराभरा घाँस देखिन्थ्यो”, यसअघि हरिणमरी गाविस छँदा अध्यक्ष रहनुभएका भङ्गाहा–९ का रमेश यादवले भन्नुभयो, “प्रदूषित ढलको पानी झारिएयता भुल्के पानीका मुहान सबै सुकेका छन्, प्रदूषित पानी खाएर पशु चौपाया बिरामी हुने र चाँडै मर्ने क्रम पनि बाक्लियो ।” बगरमा अब काँस र अन्य घाँस पलाउन पनि छाडेको यादवको भनाइ छ ।

उद्योगले ढलबाट प्रदूषित पानी झारेपछि नदीको पानी कालो भएको छ । नदीको पानी प्रदूषित भएपछि विसं २०४० यता कैयौँ आन्दोलन भएका अहिले प्रदेश नं २ का प्रदेशसभा सदस्य महोत्तरीकै लोहारपट्टीका बासिन्दा जानकीशरण साह बताउनुहुन्छ । “हामीले विषाक्त पानी ढलबाट नदीमा झार्ने उद्योगविरुद्ध लामो आन्दोलन गर्यौँ”, साहले भन्नुभयो, “पछि यो मुद्दा सर्वोच्च अदालत पुग्यो, अदालतले नदीमा झारिएको ढल अन्तै व्यवस्थापन गर्न आदेश पनि दियो तर अदालती त्यो आदेश कहिल्यै कार्यान्वयन भएन ।” पछिल्लो कालमा प्रदूषित पानीको व्यवस्थापनबारे प्रदेश र सङ्घीय सरकारको चासो कम भएको साहको स्वीकारोक्ति छ । “जनताले त हामीलाई हेर्छन्”, जनता समाजवादी पार्टीका नेतासमेत रहनुभएका प्रदेशसभा सदस्य साहले भन्नुभयो, “हाम्रै पहलकदमीमा त कमी छैन रु समीक्षा गर्नुपर्ने भएको छ ।”