डम्बर पराजुली : पर्यटन र समाज सेवामा एकसाथ समर्पित नाम

डम्बर पराजुली : पर्यटन र समाज सेवामा एकसाथ समर्पित नाम

आशिष पौडेल  |  अन्तर्मन्थन  |  चैत्र २८, २०७७

एउटा मध्यम वर्गीय परिवारमा जन्मेर अनि कुनै तामझाम विना आफ्नो कर्ममा निरन्तर लागिपरेको नाम हो डम्बर पराजुली ।  आफूलाई प्रचार, प्रसारको दुनियाँ भन्दा अलि टाढा राखेर पर्यटन तथा समाज सेवामा गुपचुप र गुमनाम लागिरहेको नाम पनि  भन्दा फरक पर्दैन  डम्बर पराजुलीलाई । 

आफ्ना कर्म तथा समाज सेवाका विभिन्न माध्यमबाट आफूलाई ठुला र ठालु देखाउने प्रवृत्तिको विपरीत दिशामा देखिनुहुन्छ उहाँ ।  देशमा पर्यटनको अपार सम्भावना देखेर आफू यस क्षेत्रमा निरन्तर लागि परिरहँदा पनि खासै देशले पर्यटनका क्षेत्रमा नविनतम र उल्लेखनीय उपलब्धि हासिल गर्न नसकेकोमा भने चित्त दुखाई रहेछ  उहाँको । 

तर पनि हार नमानीकन पर्यटन क्षेत्रमै केही गर्ने र समाजसेवालाई पनि निरन्तरता दिइरहने उहाँको अठोट व्यक्त गर्नुहुन्छ । कुनै पनि काममा निरन्तर लागिरहेमा त्यसले समाजमा केही न केही  योगदान पुर्‍याउन सकिन्छ तर  यसरी  पुर्‍याएको योगदानलाई  प्रचारका रुपमा अगाडि ल्याउनु पर्ने छैन भन्नेहरुका लागि यो  जीवन कथा राम्रो पठनीय सामग्री हुनसक्छ । 

पारिवारिक अवस्था

उहाँको बुवा पहिले मालपोतमा काम गर्नुहुन्थ्यो, अर्थात् कर्मचारी । यो भोजपुरको कुरा हो । तर उहाँको बुवा भोजपुरबाट विराटनगर बसाई सर्नुभयो । त्यसपछि उहाँ राजनीतिमा लाग्नुभयो ।  खान लाउन दुःख भएको परिवार होइन उहाँको । मिठो मसिनो खान र राम्रो लाउन पनि खास दुःख भने थिएन । त्यस हिसाबले त्यति धेरै सम्पन्न नभए पनि उहाँ आफ्नो परिवारलाई मध्यम आर्थिक अवस्था भएकाे भन्न  बढी रुचाउनुहुन्छ । 

जन्म तथा बाल्यकाल 
उहाँको जन्म २०२१ सालमा भोजपुर जिल्लामा भएको हो । भोजपुरको चरम्बीमा । उहाँको आधिकारिक दस्ताबेजमा पनि जन्म मिति यही नै उल्लेख छ । 

उहाँको छ दाजुभाइ अनि एक बहिनी । उहाँ भने साहिँलो भाइ । उहाँ पहाडमा सानै भएकोले खास बाल्यकालमा कस्ता खेल खेलियो र कसरी बाल्यकाल बित्यो भन्ने सन्दर्भमा उहाँलाई त्यति धेरै हेक्का रहेन । तर पनि अरु बालकहरू जस्तो सामान्य खेलकुदमै बित्यो होला उहाँ भन्नुहुन्छ । 

प्रारम्भिक शिक्षा
उहाँको प्रारम्भिक शिक्षा भने चरम्बीको अरुणोदय माविबाट सुरु भएको हो । त्यो स्कुल उहाँको बुवा, ठूलो बुवाहरु मिलेर खोल्नु भएको हो । पढाउन पनि दाइहरूले नै पढाउनु हुन्थ्यो, उहाँ भन्नुहुन्छ । उहाँले क,ख पढेको भोजपुर चरम्बीको अरुणोदय माविमा हो ।  उहाँले त्यहाँ एक कक्षा पनि राम्रोसँग पढ्नु भएन, कारण थियो बुवाको तराई बसाई सराई । उहाँले त्यहाँ सग्ला अक्षर फुटाएको सम्म थाहा छ उहाँलाई । 

उहाँको औपचारिक शिक्षाको प्रारम्भ भने विराटनगरको सत्यनारायण माविमा भएको हो । कक्षा एकदेखि हाई स्कुलसम्म । बस्नलाई डेस्क बेन्च राम्रै थिए । कक्षामा झन्डै तीस चालिस जना विद्यार्थी  हुन्थे । महिलाहरूको सहभागिता भने त्यस्तै पाँच, छ जनमा सीमित थियो । फि शायद दश रुपैयाँ थियो कि जस्तो लाग्छ उहाँ भन्नुहुन्छ ।  पछि माध्यमिक तहमा गएपछि भने अतिरिक्त क्रियाकलाप पनि प्रशस्त हुन्थे । वादविवाद, हाजिरी जवाफ प्रतियोगिता, अन्य क्रियाकलाप पनि हुन्थे । 

त्यसपछि उहाँलाई लाग्यो सम्बन्धित विषयको बेग्लै संस्था हुनु जरुरी छ । त्यसपछि उहाँहरूले एक्सपिडिसनको छुट्टै संस्था खडा गर्ने पहल गर्नु भयो । एक्सपिडिसन अपरेटर्स एसोसिएसनका नामबाट । यही एक्सपिडिसन अपरेटर्स एसोसिएसनको अध्यक्षका रुपमा कार्यरत हुनुहुन्छ । यसै संस्थाले विगत केही वर्षदेिख सगरमाथा र लोत्से लगायतका  हिमलहरुमा राेप वे बिछ्याउने कामको जिम्मेवारी पुरा गर्दै आएको छ । 

सांस्कृतिक कार्यक्रमहरू पनि हुन्थे । श्रीपञ्चमीमा सरस्वती पूजा, अनि तिहारमा देउसी, भैलो लगायतका कार्यक्रम भइरहन्थे । अलि पछि पैसा उठाएर नजिकै पिकनिक जाने भन्ने भयो, उहाँ भन्नुहुन्छ ।  खेलमा भने फुटबल, भलिबल लगायतका अन्य खेल पनि हुन्थे ।  उहाँले २०३६ सालमा एसएलसी दिनुभएको हो । उहाँ दोस्रो श्रेणीमा उत्तीर्ण हुनुभयो । 

एसएलसी पछि  

२०३६ सालको एसएलसीमा दोस्रो श्रेणीमा उत्तीर्ण हुनु भनेको त्यो बेलमा रामै मानिन्थ्यो । तर पनि उहाँले भने विज्ञान नपढेर व्यवस्थापन अर्थात् कमर्स तिर पढ्न जानुभयो,  विराटनगरको महेन्द्र मोरङ बहूमुखी क्याम्पस । यसको खासै कारण नभए पनि किन हो किन विज्ञान तथा मानविकी अर्थात् आर्टस पढ्न पनि उहाँलाई मन लागेन त्यसबेला । 

उहाँको कमर्स पढ्दा एक वर्ष खेर गयो । तर, त्यसको कारण भने उहाँलाई थाहा छैन । एउटा सेमेष्टरनै खेर गयो । अर्थात् सबै जना फेल भयो भनियो । जाँच नै रद्द भयो । विद्यार्थीले चिट चोरेका कारण हो वा किन यकिन कारण भने उहाँलाई थाहा भएन । पछि बुझ्दा भने एउटा विषय नै क्यान्सल गरिएको रहेछ, उहाँ भन्नुहुन्छ । 

एउटा विषयका लागि उहाँले एक वर्ष कुर्नुपर्‍यो । त्यो बिचमा झन्डै एघार महिना उहाँ वाणिज्य बैङ्कमा क्लर्कको जागिर खान समेत जानुभयो । यो २०३८/ ३९ सालतिरको कुरा हो । 
यो नै उहाँको जीवनको पहिलो जागिर थियो । तलब थियो दुई सय पचास हो कि पचपन्न उहाँ भन्नुहुन्छ । पहिलो तलबले के गरियो भन्ने उहाँलाई हेक्का छैन । तर, त्यो बेला एक सेमेस्टरको तीस रुपैयाँ तिरेको भने उहाँलाई सम्झनामा रहेछ । 

पहिलो पटक काठमाडौँ

उहाँ पहिलो पटक २०३९/४० साल तिर काठमाडौँ आउनु भएको हो । त्यो पनि हवाई जहाजमा । त्यस बखत भाडा एक सय पन्चान्नब्बे रुपैयाँ थियो, उहाँ भन्नुहुन्छ । अनि त्यो दिन रहेछ पुस १ गते अर्थात् त्यस बेलाको संविधान दिवसको दिन ।

अब ४० सालको काठमाडौँ असाध्यै जाडो अनि चिसो । कुहिरो एकदमै बाक्लो लाग्ने । एयरपोर्ट कस्तो थियो पनि उहाँलाई खासै हेक्का नै रहेन ।  उहाँलाई गौशालाबाट गाडी चढेर रत्नपार्क आए जस्तो लाग्छ अनि टुँडिखेल हुँदै भूगोलापार्कस्थित उहाँको दाइको कोठामा  जानु भएको थियो। 

उहाँले त्यसपछि पब्लिक एडमिनिस्ट्रेशन जवाइन गर्नुभयो । एक वर्षसम्म पढाई मात्र चल्यो । काम र विदेशको सिलसिला चल्दै गर्दा उहाँले तीन पटकसम्म मास्टर्स डिग्री जवाइन गरे पनि त्यसलाई पूरा गर्न भने भ्याउनु भएको छैन । 

पर्यटन क्षेत्रमा  निरन्तर 

अर्को वर्ष भने उहाँ जागिरे हुनुभयो । होटेल शंकरमा 'फ्रन्ट डेस्क'मा । त्यहीँबाट उहाँको विदेश जाने क्रम सुरु भयो ।  विदेशमा विशेष गरी स्वीट्जरल्याण्ड । यहाँ पर्यटक नहुने समयमा उहाँको बसाई विदेशमा मा नै  हुने गर्दथ्यो । 

होटेलमा काम गर्ने क्रममा उहाँको एक स्विस दम्पतीसँग भेट भयो । उहाँहरू नेपाल असाध्यै मन पराउने अनि नेपाललाई माया पनि गर्ने । त्यसपछि तीनै स्विस दम्पतीले एउटा ट्राभल एजेन्सी खोल्नुभयो । उहाँहरूले पर्यटक पठाउनु हुन्थ्यो । तिनको बसाइ होटेलमा हुन्थ्यो । अनि ट्रेकिङ लगायत अन्य यात्राका लागि भने उहाँले आफ्ना साथीहरूलाई सम्पर्क गराउने काम गर्नुहुन्थ्यो, अर्थात् लियाजो अफिसरको काम । 

त्यसपछि उहाँलाई होटेलको जागीर भन्दा त ट्रेकिङ पो राम्रो हो कि भन्ने लाग्यो । अनि सुरु भयो उहाँको ट्रेकिङ तर्फका जागिर काठमाडौँको एउटा प्रतिष्ठित ट्रेकिङ एजेन्सीमा । त्यो पनि राम्रै पदमा ।तर, होटेलमा काम छोडिसकेपछि उहाँ स्वीट्जरल्याण्ड, फ्रान्स अनि बेलायत बस्नुभयो झन्डै दुई वर्ष । 

उक्त ट्रेकिङमा केही समय काम गरिसकेपछि उहाँले आफ्नै व्यवसाय सुरु गर्नुभयो । सन् २००७ तिर 'प्रेस्टिज एडभेन्चर'का नाममा ।  तर, त्यो बेला चीनमा हुँदै गरेको ओलम्पिकका कारण चीनले ओलम्पिक टर्च सगरमाथामा लैजाने कार्यक्रम थियो । जसका कारण तिब्बतमा पर्यटक आउजाउ बन्द थियो । यताबाट र उताबाट दुवैतिरबाट सगरमाथामा आउजाउ हुँदा अप्ठेरो हुन्छ भन्ने उनीहरुको तर्क थियो । र, यहाँको आरोहणको कार्यक्रम पनि बन्द गर्न भनेको थिए । 

बरु उनीहरू त्यसका लागि चाहिने सबै रोयल्टी तिर्न तयार थिए । र, कुरा पनि त्यसै गरी भएको थियो । तर, पछि धेरै चरणको वार्तापछि दोस्रो आधार शिविरसम्म नेपाली सेनाको निगरानीमा जान दिने सहमतिसम्म भयो । त्यसले पर्यटनलाई केही राहत दियो, उहाँ भन्नुहुन्छ । 

अनि त्यसबेला उहाँलाई लाग्यो सम्बन्धित विषयको एउटा छुट्टै संगठित संस्था नेपालको सन्दर्भमा  हुन आवश्यक छ । हुन त त्यसबेला ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) संस्थागत रुपमा नै थियो । टान भित्र त्यसबेला सबै माउण्टेनियरिङ अनि राफ्टिङ पनि अटाएका नै थिए । 

तर, त्यसपछि उहाँलाई लाग्यो सम्बन्धित विषयको बेग्लै संस्था हुनु जरुरी छ । त्यसपछि उहाँहरूले एक्सपिडिसनको छुट्टै संस्था खडा गर्ने पहल गर्नु भयो । एक्सपिडिसन अपरेटर्स एसोसिएसनका नामबाट । यही एक्सपिडिसन अपरेटर्स एसोसिएसनको अध्यक्षका रुपमा कार्यरत हुनुहुन्छ । यसै संस्थाले विगत केही वर्षदेिख सगरमाथा र लोत्से लगायतका  हिमलहरुमा राेप वे बिछ्याउने कामको जिम्मेवारी पुरा गर्दै आएको छ । 

विवाह
उहाँको विवाह २०४९ सालमा भएको हो । मागी विवाह । हाल उहाँका दुई छोरी छन् । एउटा छोरी मास्टर्स तेस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ भन अर्को छोरी मास्टर्स भर्ना गर्ने तयारीमा हुनुहुन्छ । 

सङ्घसंस्थामा संलग्नता 

हिमालयन रेस्क्यु नामक संस्थामा उहाँले दुई अवधि गरेर करिब छ वर्ष कोषाध्यक्षका रुपमा काम गर्नुभयो । हाल पनि उहाँ उक्त संस्थाको बोर्ड मेम्बरमा कार्यरत  हुनुहुन्छ । उहाँ पासाङ ल्हामु प्रतिष्ठानको सदस्य पनि हुनुहुन्थ्यो । लायन्स क्लबको पनि उहाँ सदस्य । हाल आएर लायन्स जस्तै एउटा संस्था केवानिज भन्ने संस्थाको पनि सदस्य हुनुहुन्छ । यसको फस्ट गभर्नर चलिरहेको छ । सेकेन्ड गभर्नरका लागि यहीँ कार्यक्रम गर्ने कुरो पनि चलिरहेको उहाँले बताउनुहुन्छ । 

अर्को सामाजिक काम भनेको चाहिँ उहाँले डोल्पामा एउटा अस्पताल पनि सञ्चालन गरीरहन भएको छ।  डोल्पाको एअरपोर्टबाट झन्डै दुई घण्टाको पैदल दूरीमा र चारपाँच वटा गाउँलाई पायक पर्ने स्थानमा। अस्पताल रहेको गाउँ र स्थानको नाम कालिका भएकोले अस्पतालको नाम पनि कालिका सामुदायिक अस्पताल रहेको छ । अस्पतालले सेवा दिन थालेको झन्डै बाह्र वर्ष जति भयो । अस्पतालमा एक जना एमबिबिएस डाक्टर हुन्छन् भने दुई जना नर्स तथा एक जना प्याथोलोजिष्ट पनि रहेका छन् । उक्त अस्पताल सञ्चालनका लागि यहाँ फोकस नामक संस्थाले काम गरिरहेको छ । 

फोकसको फोकस भने दुई वटा कुरामा रहेको छ । स्वास्थ्य तथा शिक्षा । भूकम्प पछि आरुघाट माथि साना ठुला गरेर तीनवटा स्कुलमा संस्थाले सहयोग गरेको छ । त्यस्तै ललितपुरको गोटीखेलमा पनि एउटा स्कुललाई संस्थाले सहयोग गरेको छ । भने सोलुखुम्बुका आठ दशवटा स्कुलमा पनि संस्थाले सहयोग गरिरहेको छ । 

अर्को भनेको उहाँहरूले सानेपामा एउटा बोर्डिङको मोडेलमा लेडिज होस्टेल चलाउनु भएको छ । जसमा अनाथ, असहाय र गरिब परिवारका केटीहरूले स्नातक तहसम्म निःशुल्क पढ्न पाउने व्यवस्था थियो । पहिले त्यहाँ साठी जना विद्यार्थी थिए ।  तर, अहिले भने यसको मोडलमा केही परिवर्तन भएको छ । हाल युरोपको अर्थव्यवस्था डगमगाएको अवस्थामा आर्थिक सहयोग कम भएका कारण बाह्र कक्षासम्म मात्र पढ्न पाउने व्यवस्था होस्टेलमा रहेको छ । 

त्यसपछि भने घर जान चाहनेले घर जान पाउने तथा जागिर खोज्न चाहनेले थप एक वर्ष त्यहीँ रहेर जागिर खोज्न सक्ने व्यवस्था छ । हाल संस्थामा १९ जना रहेका छन् । त्यहाँबाट निस्किएकाले राम्रै काम पाएको पनि उहाँले बताउनु भयो । विदेश भ्रमणको कुरा गर्दा जिन्दगीको झन्डै आधा समय विदेश तथा करिब संसारका पचास भन्दा बढी देशको भ्रमण गरिसकेको पनि उहाँले बताउनु भयो । 

अन्त्यमा
कुनै पनि कामको निरन्तरतामा नै यसको जीवन्तता रहन्छ । र, सफलता यसैबाट सम्भव छ भन्ने कुरा डम्बर पराजुलीको यो संक्षिप्त जीवन कथाबाट सिक्न सकिने पाठ हो ।