तीन नबज्दै कर्मचारी टाप

तीन नबज्दै कर्मचारी टाप

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १०, २०७६

काठमाडाैं । कार्यालय समय बिहान १० देखि अपराह्न पाँच बजेसम्म हो। सेवाग्राहीको भीडभाड हुने कतिपय कार्यालयमा समय थपेर पनि काम हुन्छ। तर तपाईं ललितपुर एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय पुग्नुभयो भने अवस्था फरक पाउनुहुन्छ। त्यहाँ तीन नबज्दै कर्मचारी हिँडिसक्छन्।

सेवाग्राहीको बढी भीड हुने ठाउँ यातायात कार्यालय। चालक अनुमतिपत्र लिनेदेखि नवीकरण गर्ने र सवारी जाँचपास गर्ने ठाउँ यहीं छ। दुई बजेसम्म राजस्व बुझाउने समय तोकिएको छ। मेडिकलका लागि दस्तुर बुझाउने ठाउँ पनि दुई बजे बन्द हुन्छ। कर्मचारी बाहिरिने क्रम सुरु हुन्छ।

तीन बजेपछि त कर्मचारी भेट्टाउनै मुस्किल हुन्छ। नवीकरण राजस्व काउन्टर, लाइसेन्स एप्रोभ, अन्तिम फाराम बुझाउने ठाउँलगायत अधिकांश शाखामा कर्मचारी भेटिँदैनन्। ‘यस्तै हो हजुर, काम पनि खासै छैन, खाली कुर्सीमा बसेर के गर्ने ? ’ सबा तीन बजेतिर कार्यालयबाट बाहिरिँदै गरेका एक कर्मचारीले भने, ‘सधैं यस्तै हो यहाँ।’ आजको अन्‍नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।