खोक्रोपन

खोक्रोपन

दीपा राई  |  साहित्य  |  चैत्र २८, २०७७

खोक्रो त
कोक्रो पनि छ
जुन कोक्रोले
आमाको लोरीगीत बोक्छ
त्यो लोरीगीत पनि
खासमा खोक्रो छ
जसभित्र अँटाउँछ
संसारको सारा सारा निद्रा

खोक्रो छ सुरूङ पनि
जहाँबाट ओहोरदोहोर गर्छन् 
कुनै सपना छाड़्ने यात्राहरू
कुनै आस्था पुग्ने यात्राहरू

खोक्रो नै छ
टोभलस्कोप पनि
जसले देखाउँछ ब्रह्माण्ड

खोक्रो छ
तिमीले लगाउने लुगासम्म
लुगाले खोक्रो नभइदिनु हो भने
तिमी नाङ्गिन्छौ 

तिम्रो सभ्यता अड़ेको छ
यही खोक्रोको खोक्रोपन मै ।

गान्तोक सिक्किम