युरोपको चर्चा : चुरोट घर भित्र मात्र होइन रेस्टुराँ पनि खान पाइँदैन !

फर्कलान् र ती दिनहरु

युरोपको चर्चा : चुरोट घर भित्र मात्र होइन रेस्टुराँ पनि खान पाइँदैन !

हरिविनोद अधिकारी  |  साहित्य  |  चैत्र २८, २०७७

यसपटक पनि युरोपको चर्चा । 

नर्वे खुसी अनुसूचाङ्कमा अहिले ५ नम्बरमा छ तर जुनबेलामा म नर्वेको बसाइमा थिएँ २०७६ को सुरुमा, त्यो बेलामा नर्वे खुसीको सूचकाङ्कको ३ नंबरमा नम्बरमा थियो ।  जवकि हाम्रो नेपाल १०० नम्बरमा थियो । सन् २०२१ को सूचकाङ्कमा नेपाल ९२नम्बरमा  छ । खुसीका लागि पक्कै नै आर्थिक समृद्धि आवश्यक पर्छ । नर्वे पनि हामी जस्तै त होइन, तर असीको दशकसम्म त्यस्तो धनी राष्ट्रको रुपमा रहेन छ । तर तेलको उत्खनन सुरु भएपछि आजको धनी र समृद्ध देशको रुपमा र खुसीको देशको रुपमा देखिएको रहेछ । अहिले खनिज तेल, माछा, आलु, जौ, ओट,घाँस, दूधका परिकार नै मुख्य उत्पादन रहेछन् । तिनको निकासी मुख्य आम्दानीको श्रोत देखिन्छ । 

यहाँ करिब २ हजारजति नेपालीहरु हुनुहुँदो रहेछ । गैर आवासीय नेपालीहरुको संघ छ र त्यसको छैठौँ राष्ट्रिय अधिवेशन २०७६ साल असार १४ गते ओस्लोमा भएको थियो । त्यो बेलाको नारा थियो -एक पटकको नेपाली, सधैँको नेपाली । त्यस कुरामा सबैको धारणा एउटै भएको पाइयो ।  हप्तामा शनिवार र आइतवार विदा हुने अरु युरोपीय मुलुक जस्तै नर्वेमा पनि विदा हुँदो रहेछ  । सार्वजनिक यातायातको भने साह्रै व्यवस्था राम्रो रहेछ । सामान्यतः विना टिकट कोही पनि यात्रा गर्दा रहेनछन् ।

भाषाको कारणले कतिपय ठाउँमा कुरा बुझ्न मुस्किल पर्ने रहेछ किनभने अंग्रेजीभन्दा पनि नर्वेजियन भाषाको बढी प्रयोग स्वतः हुने नै भयो । तर पनि अंग्रेजीमा सोध्यो भने विस्तारै भए पनि जानकारी दिने कोसिस गर्दा रहेछन् किनभने यहाँका मानिसहरुमा भलाद्मीपन भने छ । नरम छन् र आफ्नो काममा व्यस्त देखिन्छन् । एउटा कुराको भने कमी पाइयो- सार्वजनिक शौचालय । सार्वजनिक  शौचालय भने सबैतिर उपलब्ध देखिएन । मानिसहरु चर्चमा, ठूला ठूला मलहरुमा र पार्कहरुमा  शौचालय जानुपरेमा त्यहाँ कोडमा रहेका ढोका खोल्न पनि सकिने कुरा भएन, र त्यहाँ लेखिएको  फोन गर्नुस्, एउटा एस एम एस आउने छ जसमा २० क्रोनर स्वतः काटिने छ, तत्कालै ५ सेकेन्डमा खोल्नुस् भन्ने  भद्र सूचना लेखिएको पाइन्छ ।

अनि अर्को कुरा पनि थाहा भयो-सार्वजनिक शौचालय कम भए पनि र पैसा  तिर्नु पर्ने भए पनि जाडो ठाउँ भएकाले कुनै व्यक्तिलाई साह्रै गाह्रो परेको छ भने उसले कुनै पनि रेस्टुराँमा पसेर अनुरोध गरेमा उसलाई शौचालय प्रयोग गर्न दिनु पर्ने रहेछ । सामान्यतया रेस्टुराँमा पसेर माग्नुभन्दा बरु पैसा तिरेर नै शौचालयको प्रयोग गरिन्छ तर समस्या शौचालयको संख्या सार्वजनिक ठाउँमा पाइँदैन । पाइन्छ सार्वजनिक पार्कहरुमा । करिब ८लाख जति जनसंख्या भएको ओस्लो सहरमा र लाखौँ पर्यटक आउने सहरमा सार्वजनिक शौचालयको भने कमी नै महसुस भएको हो । 

पर्यटकहरुको आवागमन पनि यही ग्रीष्म ऋतुमा हुने रहेछ किनभने वर्षको करिब ५- ७ महिना त हिउँ नै हिउँले ढाकिने ठाउँ हो नि त । जहिलेको ग्रीष्म ऋतु पनि त्यहाँको हरियालीको समय पनि हो, फूल फुलेर समग्र ओस्लोलाई रङ्गीचङ्गी फूलमय बनाउने समय पनि हो र यहाँका मानिसहरुले प्रकृतिबाट भिटामिन डी पाउने खास समय पनि हो । घाम लागेको बेलामा सबै चौरहरुमा मानिसहरु सूर्यस्नान गरिरहेका पाइन्छन् । समुद्रको किनारामा मात्र होइन, हरियाली पार्कहरुमा उम्रिएका घाँसहरुमा पनि सूर्यस्नान गरेका दृश्यहरु स्वाभाविक र सामान्य लाग्छन् । सूर्यस्नानको अर्थ सबै शरीरलाई घाममा सुकाउने हो  र शरीरको कुनै भाग पनि घामको प्रत्यक्ष रापभन्दा बाहिर नपरोस् भनेर एकप्रकारले सर्वाङ्ग सूर्यस्नान गराइने चलन रहेछ । यसको कारण त त्यही हो, घामबाट पाइने भिटामिन डीको शरीमा सञ्चय । अन्यथा औषधिको रुपमा पनि भिटामिन डी खाइँदो रहेछ । 

सार्वजनिक यातायातमा बस, ट्राम, मेट्रो या भूमिगत रेल, रेल, ट्रिक  (जसलाई नेपालमा पहिले ट्रलीको रुपमा सूर्य विनायकदेखि त्रिपुरेश्वरसम्म चलाइन्थ्यो)र फेरी (सानो जहाज) करिब २१ घण्टा नै व्यस्त देखिन्छन् । एउटै टिकटले निश्चित समयावधिसम्म काम दिन्छ । यातायातको समयको सूचना प्रत्येक स्टेसनमा दिइएको हुन्छ, यतिबेरमा आइपुग्छ भनेर । त्यो बेलामा आइपुग्छ नै । भनिएको छ-यदि हाम्रो साधन समयमै नआएर तपाईँलाई कतै जान मुस्किल परेको हो भने ट्याक्सी भाडा ५०० क्रोनर दिइने छ । त्यसका अग्रीम टिकट काटेको र मुस्किल परेको प्रमाणसहित कारण भने खुलाउनु जरुरी छ । यातायात संस्थाले आवेदकलाई तत्कालै ट्याक्सी खर्च उपलब्ध गराउँछ ।

सामान्यतः टिकट नकाट्ने कोही हुँदैनन्, कार्डलाई मेसिनमा सुँघाएर वा मोबाइलमा टिकट काटेको प्रमाण देखाएर सबै चढ्छन् । सूचनामा भनिएको हुँदो रहेछ, यदि कतै टिकट जाँच हुँदा वैध टिकट पाइएन भने दण्ड तिर्नुपर्ने छ ।   चालकबाहेक कोही पनि सहयोगी देखिएन । विधिको पालना सबैले गरेको पाइयो । सबैजना चेकिङ् या कन्ट्रोल आउँछ र विना टिकट किन हिँडेको भनेर सोध्नेछ भनेर डराएका पाइन्छन् तर सबैलाई लाग्दो हो चेकिङ् आओस् वा नआओस्, सेवा लिने भएपछि किन पैसा नतिर्ने र ?

प्रसङ्ग रक्सी र चुरोटको- कुनै रेस्टुराँ वा घरभित्र चुरोट खान पाइँदैन रे । सायद त्यसैले होला, बाटाबाटामा पुरुष हुन् कि महिला , चुरोट तान्दै हिँडेका पाइन्छन् । अझ विहान बिहानै बियर खानेहरु पनि देखिन्छन् समरको विहानै रेस्टुराँको अघिल्तिर कुर्सीमा बसेर । चुरोट पनि तानिरहेका । अनि चुरोट तान्नेहरुले जताततै चुरोटका ठुटा फालेका । अरु कुरामा सबैतिर सफा छ तर चुरोटका ठुटाहरु भने सडकको मानिसहरु हिँड्ने फुटपाथमा देखिन्छ ।

नर्वेका वारेमा अरु धेरै लेख्न पर्नेछ । नेपालीहरु शिक्षा आर्जनका लागि आउन थालेको पनि धेरै वर्ष भइसकेको रहेछ । को पहिले किन आयो भन्ने त्यस्तो कुनै आधिकारिक अभिलेख भएजस्तो लागेन । अहिले करिब २५ सय नेपालीहरु पढेर आफ्नो क्षमता अभिवृद्धि गर्न, उच्चस्तरको सिप र  विज्ञता  प्राप्त गर्न र विभिन्न व्यवसाय तथा उद्यम गरी धनआर्जन गरी जीविकोपार्जन गर्न पनि नर्वेका विभिन्न सहरहरुमा छरिएर रहेका छन् । नेपालका बाह्र महिनामा मुख्यतः ६ ऋतु मानिन्छ । त्यसमा पनि बाह्रै महिना हरियाली रहने देखि बाह्रै महिना हिउँ परिरहने ठाउँहरु छन् ।

संसारका सबैभन्दा अग्लो चुुचुरो ८८४८.८६ मिटरको सगरमाथासहित ८ हजार मिटरभन्दा अग्ला पहाडहरु पनि नेपालमा नै छन् भने समुद्र सतहसरहका ठाउँहरु पनि छन् ।  हाम्रो देशमा उँचाइका आधारमा हिउँ पाइन्छ तर नर्वेमा प्रकृतिको बनावटले उत्तरी ध्रुवमा परेकाले सदैव हिउँ मात्र पाइने ठाउँ पनि छन् । बीचमा विभिन्न पहाडसँगै पहाडी उपत्यका, महाभारत सृङ्खला र चुरेभावर क्षेत्र सँगै तराई- मधेसजस्ता अन्नभण्डार पनि नेपालमै छन् । नेपाल समुद्रसँग भने जोडिँदैन । त्यही नेपालबाट नेपालीहरु विभिन्न कारणले विश्वभर छरिएर रहेका छन् । त्यहीक्रममा नर्वेमा पनि आएर बसेका छन् । त्यस्तो नेपालबाट आएका नेपालीहरुले नर्वेमा पाँच मौसम महसुस गर्छन्-अप्रिल अन्त्यदेखि सेप्टेम्बरसम्म वसन्त, गृष्म र शरद ऋतु क्रमशः र पहिलो हिउँद अन्धकारमय जसमा घाम देखिँदैन र हिउँ पनि त्यस्तो परेको हुँदैन ।

हिउँदको दोस्रो भागमा भने हिउँले  छपक्कै ढाकेको हुन्छ, कतिपय ताल, पोखरी र खोलाहरुमा पानी जमेर सजिलै हिँडेर वारपार र हिउँसँग सम्वन्धित धेरै खेलहरु खेलिन्छन् , खेलाइन्छन् । सायद त्यसैले होला, वर्षमा छ महिना उज्यालो र छ महिना अँध्यारो हुन्छ भनिन्छ । तीन प्रकारको हिउँद हुन्छ भनिँदो रहेछ । पहिलो कालो अन्धकार हिउँद जुनबेलामा घाम पनि देखिँदैन खाली धुम्मेको मात्र हुन्छ । त्यसपछि हिउँ पर्न थाल्छ, अनि सबैतिर उज्यालो हुन्छ हिउँको सेतो चमकले । त्यो बेलामा घाम त लाग्दैन तर दिन र रातमा पनि हिउँको सेतो चमकले सबैतिर सेतोमात्र देखिन्छ ।

त्यसलाई सेतो हिउँद भनिँदो रहेछ । जस्तो कि फेब्रुअरीको अन्त्यदेखि चाहिँ कठ्याङ्ग्रिएर बसेका पुराना रुखहरु अनि नयाँ पालुवा आउनका लागि तयारी भएका विरुवाहरु बिस्तारै घामको अनुहार देखेर चियाउन थाल्छन् र हरियाली सुरु हुन्छ । अनि हरियालीमात्र होइन, पुरै जाडोमा विरुवाहरु र रुखहरुले नयाँ जीवनको सुरुवात गर्ने भएकाले होला, हरियो हिउँद भनिएको हो । अर्थात्  वर्षमा ६ महिनाजति नै जाडोले कठ्याङ्ग्रिने ठाउँमा सुरुमा धुम्म, त्यसपछि हिउँ अनि हिउँसँगै घाम लागेर विरुवा अनि रुखपातमा हरियाली छाउने बेला हुने रहेछ । 

कालो हिउँदमा घाम देखिँदैन, धुस्सिएको हुन्छ । दिन र रात भन्ने नै हुँदैन भने पनि हुन्छ । जसरी समरमा रात नभए जस्तै हो कालो हिउँदमा घाम नै हुँदैन । घामको अनुहार पनि देखिँदैन । जब हिउँ पर्न थाल्छ, सेतो हिउँद सुरु हुन्छ । त्यसबेलामा नर्वे हिउँ नै हिउँले छपक्क छोपिएको हुन्छ । त्यो बेलामा सबै रुखहरुबाट पात झरेर उजाड देखिन्छ । रुख सबै काठका कङ्काल जस्तै हुन्छन् । त्यो बेलामा नर्वे आउने कसैले कल्पना समेत गर्न सक्दैन कि नर्वेमा हरियाली पनि हुन्छ, घाम पनि लाग्छ र न्यानो दिन पनि देखिन्छ, अनुभव गर्न सकिन्छ । 

त्यसपछि अर्थात् फेब्रुअरी, मार्चतिर जब हिउँ विस्तारै पग्लेर धर्तीमा समाहित हुन थाल्छ, त्यसपछि धराभित्र लुकेर बसेका विरुवाहरु अनि घाँसहरु बिस्तारै बौरिन थाल्छन् र घामको अनुहार देखेपछि आफ्ना रुपमा फर्कन लालायित भइहाल्छन् । संसारको अनुहार हेर्न पृथ्वीको गर्भमा लुकेर बसेका विरुवाहरु यति छिटै लहलहाउँछन् कि छिटै नर्वेका जमिन हरियो देखिन थाल्छ तर हिउँद त रहेकै हुन्छ । त्यसलाई हरियो हिउँद भने पनि हुन्छ । कङ्कालजस्ता रुखहरु विस्तारै बौरिन थाल्छन् । नयाँ पालुवा पलाउन थाल्छ । केही दिन अघिसम्म उजाड उजाड नर्वेको जमिन, पहाड हरियालीले ढाक्न थाल्छ । अनि समरको अन्तसम्म प्रकृतिको वरदान र नियमअनुसार फुल्ने, फल्ने गरिरहन्छन् । समरमा  नर्वे आउने वा ओस्लो आउनेले हिउँको कल्पना पनि गर्न सक्दैन, उजाड उजाड सहरको कल्पना पनि गर्न सक्दैन ।

सबैतिर हरियाली, विभिन्न किसिमका फूलहरु जताततै फुलिरहेका छन् । सहर नै फूलको बगैँचा जस्तै छ । घर घरमा फूल सजाएर राखिएका छन्, पार्कहरुमा फूल फुलाएर राखिएका छन्, सहरका बीच बीचमा फूलहरु सजाएर राखिएका ठूला ठूला भाँडाहरु छन्, रङ्गी विरङ्गी फूलहरुले सहर, पार्क तथा सडक ढकमक्क छन् । नेपालको आफ्नो राष्ट्रिय फूल मानेको गुराँस पनि विभिन्न रङमा पाइँदो रहेछ तर रातो गुराँस भने देखिएन । सेतो, गुलाबी, बैजिनी रङमा देखियो । जुन महिनामा फुलेको गुराँस, अहिले जुलाईमा मुर्झाएको रहेछ । बर्गेनको गुराँस बगैँचामा रातो गुराँस छ भनिन्छ ।  

अनेक थरिका फूलहरु फुलेका छन् जताततै, मगमग बास्ना सहरैभरि आउँछ । हरियाली सहर , वातावरणमैत्री सहर, युरो ५को स्तरमा गाडीहरु गुड्छन्, झन रेल, मेट्रो, ट्रिक बिजुलीबाट चल्छन् । बाटोमा कुनै जाम छैन । पैदल यात्रीहरुका लागि प्रशस्त बाटो छ सडकका दुबै किनारामा । ट्राफिक सङ्केतको कतै अवहेलना गरिँदैन । जेब्रा क्रसिङमा पैदल यात्रुको खुट्टा पर्ने बित्तिकै बाहनहरु स्वतः रोकिएका हुन्छन् जहाँ ट्राफिक बत्तीको व्यवस्था गरिएको छैन ।

त्यस्तो देशमा नेपालीहरुले पनि उद्यम गरेका छन् र इमान्दारिताका साथ आफ्नो पेसा, व्यवसाय चलाइरहेका छन् । मैले भेटेका प्राध्यापन गर्ने विद्वानहरुमा प्राध्यापक डाक्टर विशाल सिटौला, डाक्टर सुरज थापा हुनुहुन्छ भने दुवईको विमानस्थलमा भेटिनु भएका डाक्टर ठाकुर उपाध्याय पनि नर्वेमा प्राध्यापन गर्नुहुन्छ । यसबाहेक अरुमा दन्त चिकित्सक डाक्टर प्रलय रिजाल हुनुहुन्छ जसले चिकित्सकका रुपमा सेवा गरिरहनु भएको रहेछ । 
 

नर्वेबाट पत्रकारितामा स्नातकोत्तर गरेर हाल न्युजफ्रमनर्थमा कार्यरत पत्रकार अनुष खड्काका अनुसार उद्यमीका रुपमा धेरै नेपालीहरु कार्यरत हुनुहुन्छ जसमा तत्कालीन अवस्थामा स्तुलन क्याफे एन्ड वार सञ्चालक प्रेमबहादुर परियार जो अहिले नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्षमा निर्वाचित हुनु भएको छ र हाल उहाँसँग त्यो क्याफे छैन भन्ने सुनेको छु । र एउटा गरी खानका लागि  युरोप पसेको पत्रकार नै भए पनि कुनै उद्यम गरेकै हुनुपर्छ भन्ने अनुमान लगाउन सकिन्छ । त्यसपछि  हाम्रो इभेन्ट तथा के एन्ड के टुर्स(जसमा २०भन्दा बढी लगानीकर्ता)का कुमार पण्डित,न्यु एम्बेस्डर रेस्टुराँ एन्ड बारका विमला पान्डे तथा कृष्ण नेपाल, रोयल तन्दुरी रेस्टुराँका जीतेन्द्र शाही जो नेपाल जनसम्पर्क संस्थाका नर्वे प्रमुख पनि हुनुहुन्छ,, चन्द्रा चन्द,नारबुतिक्केनका विकास दुवाडी,न्युबम्बे रेस्टुराँका विनोदराज गिरी,इन्डियन ओसन तन्दुरी रेस्टुराँका  राजाराम कँडेल,शेर्पा रेनहोल्डका भीमबहादुर भण्डारी,काठमाडौँ रेस्टुराँका रोशन गिरि हुनुहुन्छ । पत्रकार प्रेम परियारका अनुसार नमस्ते रेस्टुराँ कम्पनीका (बम्बे कुजिन) किरण काफ्ले पनि रेस्टुराँ चलाएर बस्नु भएको छ । 

यसपटक चाहिँ नेपाली मूलका पोर्चुगाली नागरिक तर नर्वेको ओस्लोमा तत्कालीन अवस्थामा स्तुलन क्याफे एन्ड बार चलाएर बस्नुभएका भएका हाल नेपाल पत्रकार महासंघ  युरोप शाखका अध्यक्ष पत्रकार प्रेमबहादुर परियारका वारेमा । 

कास्कीको पोखरामा पिता जोभाने परियार र माता विभा परियारबाट २०२६साल साउन २६ गते जन्मिनु भएका प्रेमबहादुर परियार पहिले ओस्लोका सोफेनवर्ग पार्क नजिकै स्तुलन क्याफे एन्ड बार चलाएर बस्नु भएको थियो र हाल उहाँ पत्रकारितामा नै बढी संलग्न हुनुहुन्छ । जुनबेलामा मैले उहाँलाई भेटेको थिएँ उहाँ स्तुलन क्याफेको मालिकको रुपमा पनि हुुनुहुन्थ्यो  । उहाँका पाँच सन्तानमध्ये एउटी छोरीमात्र नेपालमा हुनुहुन्छ । पत्नी शर्मिला परियार र छोरी रञ्जनासमेतको सहयोगमा सञ्चालित रेस्टुराँमा वर्षको ५०लाख नर्वेजियन क्रोनरसम्मको कारोबार हुने कुरा परियार बताउनु भएको थियो  । ३५ वर्ष अघि स्थापित हिमालयन उलेन ब्लाङ्केट कम्पनीमार्फत् उद्योग व्यवसायमा सँलग्नता राख्नु भएका परियारले आफ्नो शिक्षाचाहिँ बी एल सम्मको अध्ययन भन्नुहुन्छ ।

आजभन्दा २१ वर्ष अघि घरेलु उद्योगको प्रवद्र्धनको सिलसिलामा युरोपको फ्रान्ुस आउनु भएका परियार फेरि नेपाल फर्कनुभन्दा युरोपमा नै आफ्नो भाग्य निर्माण गर्नतिर लाग्नुभएको पाइन्छ । फ्रान्स, बेल्जियम हुँदै पोर्चुगालमा बसोबास गर्न थाल्नुभएका परियारले ७ वर्षमा नै पोर्चुगालको नागरिकता पनि लिनुभयो र फेरि आफ्नो भाग्य निर्माणका लागि नर्वे प्रवेश गर्नुभयो । पाकिस्तानी लगानीकर्ताको स्तुलन क्याफे एन्ड रेन्टुराँमा काम गर्दागर्दै सो रेस्टुराँ करिब दुई वर्षसम्म बन्द रह्यो र २०१६मा सोही रेस्टुराँ खरिद गरेर अहिले पनि त्यही स्थानमा सञ्चालन गर्दै हुनुहुन्थ्यो ।

व्यवसायका लागि किन रेस्टुराँ नै रोज्नु भयो त भन्ने मेरो प्रश्नमा उहाले  भन्नुभएको थियो-त्यही काममा विज्ञता हासिल गरियो सुरुदेखि नै, अनि पहिले आफूले काम गरेको सँस्थामा नै काम गर्ने विचारले यही रेस्टुराँ व्यवसाय नै रोजेँ । तर अहिले पत्रकार महासंघको युरोप शाखाको अध्यक्ष भएकाले सायद अब उहाँको ध्यान नेपाली पत्रकारहरुको युरोपमा कसरी विकास गर्न सकिन्छ र उनीहरुको व्यावसायिकता र पेसागत हकको संरक्षण र सम्बद्र्धन गर्न सकिन्छ भन्नेमा लाग्ला भन्ने अनुमान गर्न सकिन्छ । परियारको विचारमा नर्वे नै रोज्नुको कारण हो-यहाँ समानता छ, सामाजिक सुरक्षाको राम्रो प्रत्याभूति छ , शिक्षा र स्वास्थ्यमा सरकारको पूर्ण सुरक्षा प्राप्त छ र यहाँ कुनै प्रकारको विभेद छैन । 

तत्कालीन अवस्थामा पनि उहाँ नेपाल पत्रकार महासंघ, युरोप महादेशीय संरचनामा केन्द्रीय सदस्यसमेत रहनु भएका ऐक्यबद्धता मासिकका नर्वे प्रतिनिधि परियार आफूलाई पत्रकार भन्न रुचाउनु हुन्छ र अब आफू नियमितरुपमा स्तम्भ लेखनका लाग्ने कोसिसमा रहेको बताउनु हुन्छ । उहाँ छिटै नर्वेबाट नेपालीमा पत्रिका निकाल्नका लागि नर्वेमा पत्रकारितामा स्नातक तथा स्नातकोत्तर या विद्यावारिधिमा  अध्ययन गरिरहने र पत्रकारितामा चासो राख्ने साथीहरुसँग मिलेर काम गर्ने व्यवस्था गर्न थालेको बताउनु हुन्छ । यसका लागि नेपालका साथीहरुसँग पनि छलफल गरेको कुरा सगर्व बताउनु हुन्छ । 

नर्वेको निर्वाचनमा मतदाताको रुपमा समेत सहभागी भइसक्नु भएका परियार नेपालमा पनि यहाँको जस्तो निर्वाचन प्रक्रिया लागू गर्न पाए नेपाली निर्वाचनमा स्वच्छता कायम हुन्थ्यो कि भन्ने चाहना राख्नुहुन्छ । गैर आवासीय नेपाली संघ, नर्वेका सक्रिय सदस्य परियार त्यो बेलाको निर्वाचनमा पनि सक्रियतासाथ सम्पन्न गराउन लाग्नु भएको थियो र आपूmले समर्थन गर्दै नयन मल्लजीलाई अध्यक्ष बनाउन लाग्नु भएको थियो । त्यसअघि उपाध्यक्षसम्म हुनुभएका परियारले त्यो बेलामा रद्द भएको निर्वाचन प्रक्रियामा अध्यक्षको प्रत्याशी समेत हुनुहुन्थ्यो ।

साथीहरुका बीचमा समन्वय गरेर तोकेकै समयमा निर्वाचन समितिले निर्वाचन सम्पन्न  गर्ने कुरामा विश्वस्त देखिनु  भएको थियो र त पछि सहज तरिकाले गैर आवासीय नेपालीहरुको नर्वे शाखाको निर्वाचन सहज तरिकाले सम्पन्न भएको थियो । एउटा पत्रकार अनि  होटेल व्यवसायी  परियार नेपाल फर्केर जान सकिने र आफ्नो विज्ञता होटेलमा नै रहेकोले भविष्यमा पोखरामा रिसोर्ट खोल्ने विचार रहेको बताउनु हुन्छ र  सधैँ नेपालको सम्झना आइरहने र नेपालमा केही न केही सामाजिक काम गर्ने इच्छा रहेको बताउनु भएको थियो । नेपाली बहादुर हुन्छन्, नेपाली इमान्दार हुन्छन् र अरुलाई सम्मान गर्दै आफ्नो कर्तव्य पालनामा सदैव दत्तचित्त रहन्छन् भन्ने कुरामा आफ्नू मूलमन्त्र रहेको बताउने परियार नर्वेमा नेपालीहरुको व्यवहारबाट कहीँ पनि कुनै गुनासो नरहेको बताउनु हुन्थ्यो ।

नर्वेकै अर्को प्रसङ्ग-नर्वे धनी राष्ट्र हो जसको प्रतिव्यक्ति आम्दानी नै करिब ६८हजार अमेरिकी डलरभन्दा बढी नै छ । तेलको उद्योग नै नर्वेको मुख्य व्यापार हो र विदेशी मुद्रा कमाउने मुख्य माध्यम हो । अरु कुराहरुमा पनि नर्वे धनी छ तर हिउँको चपेटाले गर्दा खाद्यान्नमा पर निर्भर नै छ । शिक्षामा प्रयोगधर्मी शिक्षाको प्रचलन छ र अझै शिक्षालाई ज्ञानमुखी र जीवनमुखी कसरी बनाउने भन्नेमा बहस सुरु भएको छ । पहिले इसाइ धर्मको मात्र बोलबाला भएको नर्वेमा अहिले धार्मिक स्वतन्त्रताले गर्दा पहिलेको भन्दा सामाजिक अवस्थामा धेरै परिवर्तन आएको महसुस गरिँदो रहेछ । धेरै कुरामा स्वतन्त्र छ । सँसदीय प्रजातन्त्र छ । संघीयता छ र त्यो पनि अत्यन्त प्रभावकारी छ । युरोपको पनि विकसितमात्र होइन कि धनी र सुसँस्कृत देश पनि हो । राजतन्त्र भएको देश भए पनि राजा संविधानको धारामा मात्र सीमित छन् जवकि राजाको असीमित अधिकारलाई न त कसैले चुनौती नै दिन सक्छन्, न त राजा त्यो आलङ्कारिक अधिकारलाई नाक कान दुखाउने गहनाको रुपमा प्रयोग नै गर्छन् । 

प्रसङ्ग रक्सी र चुरोटको- कुनै रेस्टुराँ वा घरभित्र चुरोट खान पाइँदैन रे । सायद त्यसैले होला, बाटाबाटामा पुरुष हुन् कि महिला , चुरोट तान्दै हिँडेका पाइन्छन् । अझ विहान बिहानै बियर खानेहरु पनि देखिन्छन् समरको विहानै रेस्टुराँको अघिल्तिर कुर्सीमा बसेर । चुरोट पनि तानिरहेका । अनि चुरोट तान्नेहरुले जताततै चुरोटका ठुटा फालेका । अरु कुरामा सबैतिर सफा छ तर चुरोटका ठुटाहरु भने सडकको मानिसहरु हिँड्ने फुटपाथमा देखिन्छ । तर १८ वर्ष नपुगी चुरोट किन्न पाइँदैन । पसलले दियो भने कार्बाही हुन्छ । कसैले चुरोट किन्न आयो भने शङ्का लागे परिचय पत्र हेरेर उमेरको निश्चित गर्न पाइन्छ , त्यो कानुनी प्रावधान नै हो । रक्सी पनि त्यस्तै हो । कुनै पनि रेस्टुराँमा वा पसलमा रक्सी किन्नका लागि १८ वर्ष पुगेकै हुनुपर्छ , खान पनि १८ वर्ष पुगेकै हुनुपर्छ ।

अल्कोहलका वारेमा कडा नियम छ भन्छिन् स्तोलेन क्याफे एन्ड बारकी तत्कालीन कार्यकारी प्रमुख रञ्जना परियार । उनी रेस्टुराँ व्यवस्थापनमा स्नातक उपाधि हासिल गरेकी नेपाली राहदानी भएकी  तर म नर्वेमा हुँदा नर्वेमा पिताजी प्रेमबहादुर परियारको रेस्टुरा सञ्चालन गरेकी बसेकी थिइन् । उनका अनुसार कुनै पनि नर्वेलीले मातेर हिँड्ने गरी अल्कोहल पिउन पाउँदैन, अरुलाई कुनै हानि हुने गरी बोल्न थालेमा वा मातेर लड्ने जस्तो भएमा उसलाई रेस्टुराँबाट निकालेरमात्र अरु ग्राहकलाई सेवा दिनुपर्छ । बाहिरबाट किनेर ल्याउन पनि पाउँदैन, किनेर खान थालेको अल्कोहल बाँकी भए पनि लिएर जान पाउँदैन, मात्नेगरी खान पनि पाउँदैन । कुनै १८ वर्ष पुगेको हो वा होइन भनेर परिचय पत्र हेरेरमात्र दिनुपर्छ । १८ देखि २० वर्षसम्मको ग्राहकले रातको ११ बजेसम्ममात्र रेस्टुराँमा बस्न पाउँछ । तिनीहरुलाई दिइने अल्कोहलको मात्रा पनि निश्चित छ ।

बियरमा बढीमा ४.५ प्रतिशत हुन्छ अनि वाइनमा बढीमा १४ प्रतिशतमात्र अल्कोहलको मात्रा हुनुपर्छ । तिनीहरुलाई ह्विस्की, ब्रान्डी दिइँदैन । त्यसपछि २४वर्ष नाघेको ग्राहकमात्रले अनुमतिका आधारमा रातको १वा २ वा ३ बजेसम्म बस्न पाउँछ तर मातेर बसेमा , नटेरी बसेमा प्रहरीलाई जानकारी दिनैपर्छ । हुन त केही मानिसहरु मातेको अवस्थामा पनि देखिए सडकमा तर ती मानिसहरु नर्वेली होइनन् । रञ्जनाका अनुसार एउटा टेबलमा यदि ज्येष्ठ नागरिकहरुसँग युवाहरु पनि बसेर बियर, वाइन खाइरहेका छन् र ती युवाहरु मात्न थालेको देखियो भने या झुल्न थालेको देखियो भने तिनलाई निकालेरमात्र अरुलाई सेवा प्रदान गर्नुपर्छ । आँखा राता राता पारेर, झुलेर र मातेर रेस्टुराँमा बस्न पाइँदैन, त्यस्तालाई कुनै पनि प्रकारको पेय दिनु पनि हुँदैन । नियम कडा छ । 

सडकमा हिँड्नेमा बाहिर देशबाट नर्वे आएका अफ्रिकीहरु बढी देखिए । उमेर पुगेकाले किनेर लान पाउने नै भए , घरमा खान पनि पाउने नै भए । तर चुरोट भने घरभित्र वा पसलभित्र खान पाइँदैन । सर्सर्ती हेर्दा पुरुष र महिला दुवै समानरुपमा चुरोट खाने देखिएका हुन्छन् । क्रमशः