होमस्टे प्रवर्द्धनमा महिला पर्यटन व्यवसायी

होमस्टे प्रवर्द्धनमा महिला पर्यटन व्यवसायी

लोकसंवाद संवाददाता  |  पर्यटन  |  चैत्र २९, २०७७

पोखरा ।आन्तरिक पर्यटकमार्फत ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित पोखराका महिला पर्यटन व्यवसायीले मोदी गाउँपालिका–१ झिल्ली बरेङमा पुगेर त्यहाँको प्राकृतिक र सांस्कृतिक पहिचानको विषयमा जानकारी लिएका छन् ।

कोभिड–१९ पछि घरबास व्यवसायमा अवसर र चुनौती विषयक अन्तक्र्रिया कार्यक्रममार्फत व्यवसायी महिलाले सो ठाउँका बारेमा जानकारी लिएका हुन् । उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पौडेलले कोभिड–१९ का कारण सुस्ताएको पर्यटनलाई गति दिन ग्रामीण पर्यटनमा जोड दिएर प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो । 

कोभिड–१९ का कारण धेरै मानिसले शान्त र प्राकृतिकस्थलको खोजी गरेको बताउनुभयो । बरेङको घरबासमा महिला पर्यटन व्यवसायीको पहिलो आगमन भएको उहाँको भनाइ थियो । उहाँका अनुसार बरेङ अन्नपूर्ण हिमशृङ्खला, लालीगुराँस, भिरमौरीलगायत गुरुङ, मगर बस्तीको सांस्कृतिक पहिचान रहेको सुन्दर गाउँ हो । गाउँपालिकामा २० वटा घरबास भए पनि हाल १२ वटा सञ्चालनमा छन् । पोखराबाट १० किलोमिटरमा उक्त गाउँपालिको सिमाना जोडिएको छ ।

मोदी–१ का वडाध्यक्ष गौप्रसाद गुरुङले प्राकृतिक सुन्दरतासँगै समुदायको आतिथ्यताले झिल्ली बरेङ आउने पाहुनालाई लोभ्याउने बताउनुभयो । उहाँले कोभिड–१९ का कारण आन्तरिक पर्यटकको आगमन कम हुँदै गएको बताउनुभयो । वडा सदस्य भुलबहादुर पौडेले गण्डकी प्रदेश सरकारले घरबास कार्यक्रमलाई प्राथमिकता दिएको जनाउँदै यसले ग्रामीण पर्यटनलाई प्रवद्र्धन गर्दै लगेको धारणा राख्नुभयो । उहाँले लेकसाइडका महिला पर्यटन व्यवसायीको उपस्थितिले यस क्षेत्रलाई थप चिनाउने विश्वाससमेत व्यक्त गर्नुभयो ।

उक्त घरबासका अध्यक्ष गर्बी गुरुङले पहिलो चरणमा महिला व्यवसायीलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले प्रारम्भिक चरणमा रहेकाले आवश्यक सल्लाह, सुझाव दिनसमेत आग्रह गर्नुभयो । ओटेफका संस्थापक अध्यक्ष जमुना पराजुलीले कोभिड–१९ पछि आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको जनाउँदै यस्ता कार्यक्रमले ग्रामीण पर्यटनमा प्रवर्द्धन हुने विश्वास व्यक्त गर्नुभयो । संस्थाका अध्यक्ष पार्वती पाण्डेले कोभिड–१९ चुनौतीका बीच पनि अवसरको खोजी गर्दै पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा सबै जुट्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा संस्थाका सल्लाहकार दुर्गा ढकाल, देवका पहारी, पम्फा पहारी तथा कार्यक्रम संयोजक रीता रेग्मीलगायतका सहभागी सदस्यले अवसरसँगै देखिएका चुनौतीका विषयमा आ–आफ्नो अनुभव राख्नुभएको थियो । कोभिड–१९ ले शान्त र प्राकृतिकस्थलको खोजी, साहसिक पदयात्राप्रति पर्यटकको रुचिले ग्रामीण पर्यटन प्रवर्द्धन हुँदै गएको उहाँहरुको भनाइ थियो । 

त्यसैगरी कोभिड बढ्दै गएको अवस्थामा स्वास्थ्य मापदण्ड पालना नहुँदा थप समस्या सिर्जना हुनसक्नेतर्फ पनि छलफल गरिएको थियो । नेपाल पर्यटन बोर्ड आन्तरिक पर्यटन पुनरुत्थान समिति गण्डकीको प्रवर्द्धनमा आयोजना गरिएको उक्त घरबास कार्यक्रममा संस्थाका कार्यसमितिलगायत २४ जनाको सहभागिता रहेको सचिव ममता न्यौपानेले जानकारी दिनुभयो । हो