‘नहुँदा’ स्वास्थ्य महिला समूहको आयोजनामा स्वास्थ्य शिविर

‘नहुँदा’ स्वास्थ्य महिला समूहको आयोजनामा स्वास्थ्य शिविर

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  चैत्र २९, २०७७

काठमाडौं । चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा रहेको  ‘नहुँदा’ महिला स्वास्थ्य क्लिनिकको प्राविधिक सहयोग तथा ‘नहुँदा’ स्वास्थ्य महिला समूहको आयोजनामा महिलाको पाठेघर, स्तन क्यान्सरसँग सम्बन्धित रोगको परीक्षण गरिएको छ । शनिबार आयोजित शिविरमा १३५ महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, उपप्रमुख लिसा नकर्मी, सामाजिक विकास अधिकृत रश्मी कर्माचार्य श्रेष्ठको संयुक्त टोलीले शिविरबारे जानकारी लिएको थियो । सो कार्यक्रमलाई चन्द्रागिरि नगरपालिकाले आर्थिक सहयोगमा गरेको थियो ।

दन्त शिविरबाट २०० लाभान्वित

बनेपा ( काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९ छत्रेबाँझस्थित दाप्चा स्वास्थ्यचौकीमा नेपाल भूतपूर्व सैनिक सङ्घ काभ्र्रेपलाञ्चोकले ‘दन्त शिविर’ आयोजना गरेपछि त्यहाँका २०० स्थानीय बान्सिदाले गाउँमा नै सेवा पाएका छन् । लायन्स क्लब अफ काठमाडौँ कञ्चनजङ्घा र समाज डेण्टल अस्पलतालको प्राविधिक सहयोगमा शुक्रबारदेखि दुईदिन आयोजना गरिएको शिविर शनिबार सम्पन्न भएको हो ।

शनिबार ९० जनाले सेवा लिएको आयोजकले जनाएको छ । संस्थाका अध्यक्ष इन्द्रबहादुर दाहालका अनुसार शिविरमा डा अङ्कित ज्ञवाली, डा विवश राई, डा रविना शाक्यसहितको आठ सदस्यीय मेडिकल टिमले सेवा दिएको थियो । पहिलो दिन शुक्रबार ११० जनाले सेवा लिएको उहाँले बताउनुभयो । नेपाली सेनाका पूर्वसहायक रथी डा प्रेमसिंह बस्न्यातले कार्यक्रममा गाउँमा रहेका बासिन्दाको सेवाका लागि आयोजना गरिएको कार्यक्रम प्रशंसायोग्य रहेको बताउनुभयो ।

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति मधुप्रसाद आचार्यले दाँतको समस्या झेलिरहेका गाउँलेका लागि शिविर आयोजना गरेर ठूलो सहयोग पुर्याएको बताउनुभयो । समस्या भएका दाँत निकाल्ने, भर्ने, सफा गर्नेलगायतका सेवा दिइएको शिविरमा सेवा लिनेहरुलाई दाँत माझ्ने मञ्जनसमेत वितरण गरिएको आयोजक संस्थाका अध्यक्ष दाहालले बताउनुभयो । सो कार्यसँगै सङ्घले आर्थिक सहयोग जुटाएर नेपाली कांग्रेस जिल्ला कार्यालयमा करिब रु १७ लाखको लागतमा महामानव विपी कोइरालाको अर्धकदको शालिक निर्माण गर्ने भएको छ ।