राजस्थानलाई हराउँदै दिल्ली शीर्षमा

राजस्थानलाई हराउँदै दिल्ली शीर्षमा
राजस्थान रोयल्सविरुद्धको खेल जितेपछि खुसी मनाउँदै दिल्ली क्यापिटलका रिसभ पन्त (दायाँ) र कोलिन इन्ग्राम । तस्बिर : आइपिएलटिट्वान्टी डट कम ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख १०, २०७६

काठमाडौं । दिल्ली क्यापिटल इण्डियन प्रिमियर लिग (आइपिएल)को अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।

सोमबार राति सम्पन्न खेलमा राजस्थान रोयल्सलाई हराएपछि दिल्ली अंकतालिकामा दु्ई स्थान सुधार गर्दै शीर्षमा उक्लिएको हो । दिल्लीको ११ खेलबाट १४ अंक छ । 

यसअघि शीर्ष स्थानको चेन्नई अंकतालिकामा एक स्थान तल झरेको छ । दिल्लीसँग समान अंक भए पनि चेन्नई रनरेटका आधारमा दोस्रो स्थानमा छ । यद्यपि, चेन्नईले एक खेल कम खेलेको छ । 

मुम्बई पनि एक स्थान तल झर्दै तेस्रो स्थानमा पुगेको छ । १० खेल खेलेको मुम्बईको १२ अंक छ ।  

यस्तो छ अंकतालिका

राजस्थान ६ विकेटले पराजित 

सोमबार राती सम्पन्न खेलमा दिल्लीले राजस्थानलाई ६ विकेटले हराएको छ । 

रिसभ पन्तले ३६ बलमा अभिजित ७८ रन जोडेपछि दिल्लीले १९२ रनको विशाल लक्ष्य चार बलअगावै पूरा गरेको हो । पन्तले ३६ बलमा ६ चौका र चार छक्का प्रहार गर्दै अभिजित ७८ रन जोडे । 

प्रारम्भिक ब्याट्सम्यान शिखर धवनले पनि आक्रामक पारी खेल्दै २७ बलमा ५४ रन जोडे । अर्का प्रारम्भिक ब्याट्सम्यान पृथ्वी सोले ३९ बलमा ४२ रन बनाए । 

राजस्थानका श्रेयस गोपालले दुई तथा रियान पराग र धवल कुलकर्णीले समान एक विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङ गर्न आएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९१ रन जोडेको थियो । अजिक्या रहानेले अभिजित १०५ रन बनाए । उनले आफ्नो पारीमा ११ चौका र तीन छक्का प्रहार गरे । त्यस्तै, कप्तान स्टिभ स्मिथले ३२ रनमा ५० रनको पारी खेले । 

दिल्लीका कागिशो रवाडाले दुई तथा इशान्त शर्मा, अक्षर पटेल र क्रिस मोरिसले समान एक विकेट लिए ।