नेपाल आँखा अस्पतालको सर्जरी सेवा र आम्दानी उत्साहजनक

नेपाल आँखा अस्पतालको सर्जरी सेवा र आम्दानी उत्साहजनक

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  चैत्र ३०, २०७७

काठमाडौँ ।  त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले दक्ष चिकित्सक र अन्तर्राष्ट्रियस्तरका उच्च नवीनतम उपकरणका माध्यमबाट आँखासम्बन्धी सम्पूर्ण गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको छ . 

'आँखा बा' अर्थात् अग्रज नेत्र रोग विशेषज्ञ डा रामप्रसाद पोखरेल संस्थापक रहनुभएको उक्त अस्पतालले कोभिड–१९ सङ्क्रमण रोकथामका लागि गरिएको लकडाउन खुलेपछिका तीन महिनामा शल्यक्रिया (सर्जरी) सेवामा नयाँ रेकर्ड नै कायम गरेको छ । 

यसअवधिमा मासिकरुपमा ५४७ सम्म सर्जरी सेवा उपलब्ध गराउनसक्षम भएको जानकारी दिइएको छ । कोभिड–१९ सङ्क्रमण जोखिम अघि सामान्यतया प्रतिमहिना ४२३ सम्म सर्जरी सेवा उपलब्ध हुँदैआएको थियो । कारोनाकाकारण गरिएको बन्दाबन्दीको समयमा भने त्यो सङ्ख्या घटेर १० देखि १२ सम्म झरेको थियो ।

कोभिड–१९ कै प्रभावका कारण आर्थिक वर्ष २०७६÷७७ मा उक्त अस्पतालले ७५ हजार ७५१ लाई मात्र आँखासम्बन्धी विविध उपचार सेवा प्रदान गर्न सम्भव भएको अध्यक्ष डा गोपालप्रसाद पोखरेलले जानकारी दिनुभयो । विगतमा त्यो सङ्ख्या निकै बढी हुने गथ्र्याे । मुलुकभर सञ्चालन रहेका आँखा अस्पतालबाट हाल वार्षिकरुपमा ३० हजारदेखि ३५ हजारसम्म सर्जरी सेवा उपलब्ध हुने गरेको छ ।

मुलुकका अन्य क्षेत्रजस्तै कोभिड–१९ को असर खेप्न परे पनि परिपक्व नेतृत्व र सुझबुझपूर्ण व्यवस्थापनका कारण अरु केही अस्पतालको तुलनामा कुनै अप्ठेरो भने झेल्नु नपरेको सञ्चालक सदस्य युद्धध्वज सापकोटाले जानकारी दिनुभयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवलगायतका विशिष्ट व्यक्ति यही अस्पतालमा पुगेर आँखा उपचार गराउनुभएबाट अस्पतालको सेवा प्रशंसा गर्न लायक भएको छ ।

आँखा उपचारका लागिमात्र विशिष्टिकृत सेवा दिने उद्देश्यले ४७ वर्षअघि खोलिएको मुलुककै जेठो आँखा अस्पतालले त्यस अवधिमा आन्तरिक आम्दानी असुलीमा पनि नयाँ रेकर्ड नै कायम गर्न सफल भएको सञ्चालक समितिका सचिव मेघराज गजुरेलले जानकारी दिनुभयो । अस्पतालको  मुख्य आर्थिक स्रोत भनेको आफ्नो आम्दानी नै हो भने पछिल्ला केही वर्षदेखि शिविर सञ्चालनलगायतका कार्यमा सरकारले समेत सहयोग पु¥याउँदै आएको छ ।

कोरोना महामारी सङ्क्रमणका बाबजुद चालु आर्थिक वर्षको आठ महिनामा सेवा शुल्कबापत चार करोड ५० लाख आम्दानी भएको छ । अघिल्लो आवमा रु छ करोड आम्दानी गरेको थियो । अस्पतालले आगामी वैशाख ११ गते पन्ध्रौँ वार्षिक साधारणसभा गर्दैछ । आर्थिक वर्षभित्रै मुलुकका विभिन्न ३० स्थानमा आँखा परीक्षण शिविर, विभिन्न २० विद्यालयमा आँखा उपचार सेवाका साथै २० ठाउँमा शल्यक्रियासहितको शिविर सञ्चालन गर्न लक्ष्य राखेकामा हालसम्म छवटा मात्र शिविर सञ्चालन भएको जानकारी दिइएको छ ।

उक्त अस्पतालका सञ्चालक, सदस्य र आजीवन सदस्यमा हाल चिकित्सक, साहित्यकार, उद्यमी, पूर्वप्रशासक, सुरक्षा सेवाका पूर्वअधिकृत, अर्थविद्, वकिल, पत्रकार र उद्योगीसहित समाजका विभिन्न क्षेत्रका महानुभाव हुनुुुहुन्छ ।