दोलखाका एक युवाले ३७ दिनमा पूरा गरे मेची–महाकाली यात्रा

दोलखाका एक युवाले ३७ दिनमा पूरा गरे मेची–महाकाली यात्रा

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ३०, २०७७

दोलखा । नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म दोलखाका एक युवाले पैदलयात्रा सम्पन्न गरेका छन् । दोलखाको कालिन्चोक गाउँपालिका– ३ का २१ वर्षीय अभिनय कार्कीले मेची–महाकालीसम्म ३७ दिनमा पैदलयात्रा सम्पन्न गरेका हुन् । 

यही फागुन ६ गते आफ्नो जन्म दिनको अवसर पारेर मेची पुलबाट पैदलयात्रा शुरु गरेका कार्कीले चैत २७ गते महाकालीको कन्चनपुरको नेपाल–भारत सिमाना गड्डा चौकीस्थित सीमास्तम्भ ८०५–१९७० मा पुगेर यात्रा सम्पन्न गर्नुभएको हो । विश्वभर सुख, शान्ति, सम्वृिद्ध र राष्ट्रिय एकताको कामनासहित एक सयभन्दा बढी देशको राष्ट्रिय झण्डा बोकेर पैदलयात्रा पूरा गरेको कार्कीले बताउनुभयो ।

करीब दुई महिना लाग्ने अनुमान गरे पनि आराम गर्दै यात्रा गर्ने क्रममा ३७ दिनमा आफूले यात्रा पूरा गरेको कार्कीले बताउनभयो । मेचीदेखि महाकलीसम्म ३७ दिनमा आफूले करीब एक हजार २०० किलोमिटर यात्रा गरेको कार्कीले बताउनुभयो । यात्रा सकेर दोलखा आउनुभएका कार्कीले पत्रकारसँगको कुराकानीमा अब केही दिनमा नै आफूले नेपालका ७७ वटा जिल्लामा १०० दिनमा साइकलयात्रा गर्न लागेको जानकारी दिनुभयो ।