आइपिएल पिभ्यु : हैदरावादले जित दोहोर्याउला कि चेन्नईले हार ?

आइपिएल पिभ्यु : हैदरावादले जित दोहोर्याउला कि चेन्नईले हार ?

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख १०, २०७६

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत मंगलबार राती चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावाद प्रतिष्पर्धा गर्दैछन् । 

चेन्नई यसअघिको हारको बदला लिने दाउमा छ भने हैदरावाद जित दोहोर्याउने रणनीतिमा छ । तर, कुनै टिमलाई खेल जित्न सहज देखिँदैन । किनकि दुवै टिममा ‘गेम चेन्जर’ खेलाडी छन् । जो एक्लैले खेलको नतिजा उलटपुलट गर्न सक्छन् । 

हैदरावादका प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नर र जोनी बेरस्ट्रो ‘गेम चेन्जर’ खेलाडीका रूपमा चिनिएका छन् । यी दुवै खेलाडी आइपिएलको चालू सिजनमा सबैभन्दा बढी रन प्रहार गर्ने सूचीमा शीर्ष दुईमा छन् । वार्नरले ९ खेलबाट ५१७ रन जोडेका छन् भने समान खेल खेलको बेरस्ट्रोले ४४५ रन जोडेका छन् ।

यस्तोमा चेन्नईलाई खेल जित्न यी दुवै खेलाडीलाई रोक्नुपर्नेछ । 

हैदरावादलाई पनि खेल जित्न सहज भने छैन । चेन्नईको बलिङ आक्रमण र कप्तान महेन्द्रसिंह धोनीको ब्याटिङ र रणनीति हैदरावादको जितका लागि बाधक बन्न सक्छ । 

अंकतालिकामा चेन्नई अघि 

आइपिएलको अंकतालिकामा चेन्नई दोस्रो स्थानमा छ भने हैदरावाद चौथोमा छ । १० खेल खेलेको चेन्नईको १४ अंक छ भने ९ खेल खेलेको हैदरावादको भने १० अंक छ । 

हेड टु हेडमा पनि चेन्नई 

हेड टु हेडमा पनि चेन्नईको पलडा भारी देखिएको छ । यी दुई टिमबीच भएका ११ खेलमध्ये चेन्नई ८ खेलमा विजयी भएको छ भने हैदरावादले ३ खेलको नतिजा मात्रै आफ्नो पक्षमा पारेको छ । 

तर, खेल कसले जित्ने भन्ने अनुमान लगाउन सहज छैन ।