‘नियात्राकार अर्याललाई उत्तम शान्ति पुरस्कार’

‘नियात्राकार अर्याललाई उत्तम शान्ति पुरस्कार’

लोकसंवाद संवाददाता  |  साहित्य  |  चैत्र ३०, २०७७

काठमाडौँ । नियात्राकार सरिता अर्याललाई ‘उत्तम शान्ति पुरस्कार’ प्रदान गरिने भएको छ । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले विसं २०७६ को उत्तम शान्ति पुरस्कार नियात्रा साहित्यको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेल्नुभएकी नियात्राकार अर्याललाई प्रदान गर्ने भएको हो । 

नियात्राकार अर्यालको ‘मेरो अपहरण’ शीर्षकको कृतिलाई ताम्रपत्र र एक लाख नगद राशिसहित सम्मान गर्न लागिएको गुठीका सदस्य–सचिव ठाकुर पराजुलीले जानकारी दिनुभयो । 

उहाँले नियात्रा फाँटमा मानवीय अनुभूतिलाई मार्मिक पीडाको उत्खनन् गरी सन्त्रास एवं सङ्घर्षकोे गहिराई तथा जीवनप्रतिका विश्वासलाई कलात्मक उचाइका साथ प्रतिविम्बन गर्दै नेपाली नियात्रा साहित्यको विकासमा विशिष्ट योगदान गरेबापत उक्त पुरस्कार प्रदान गर्न लागिएको जानकारी दिनुभयो । 

गुठीले विसं २०४४ देखि गैरआख्यान गद्य विधामा रचना गरिएका उत्कृष्ट नेपाली कृतिलाई उत्तम शान्ति पुरस्कारद्वारा सम्मानीत गर्दै आएको छ । पुरस्कार आगामी जेठ १२ गते बुधबार प्रदान गरिने सदस्य–सचिव पराजुलीले बताउनुभयो ।