ठडिँदै काष्ठमण्डप र धरहरा

ठडिँदै काष्ठमण्डप र धरहरा

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १०, २०७६

काठमाडौं । भूकम्पमा ढलेका धरहरा र काष्ठमण्डपको पुनर्निर्माणले गति लिएको छ । अहिलेसम्म धरहराको १२ र काष्ठमण्डपको १० प्रतिशत काम सकिएको सरकारी निकायको तथ्यांक छ । 

गत माघ १४ मन्त्रिपरिषद् बैठकले काठमाडौं महानगरपालिका र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबीचको समन्वयमा ठेकेदार कम्पनीलाई धरहरा पुनर्निर्माणको जिम्मा लगाउने निर्णय गरेको थियो । सो निर्णयपछि धरहरा पुनर्निर्माणले गति लिएको हो । 

यस्तै, काष्ठमण्डप पुनर्निर्माणले गति लिएको छ । काष्ठमण्डप पुनर्निर्माण समितिले माघमै मुख्य थाम ठड्याएको थियो । 

काष्ठमण्डप पुनर्निर्माण समिति सचिव गौतम डंगोलले तोकिएको समयावधिमा पुनर्निर्माण सक्ने गरी काम भइरहेको जानकारी दिए । ‘पुनर्निर्माणमा आवश्यक सबै सामग्री जुटाइसकेका छौं,’ उनले भने, ‘त्यसकारण तोकिएको समयमै पुनर्निर्माण सकिन्छ ।’ 

पुनर्निर्माण प्राधिकरणका सहसचिव शिवहरि शर्माले धरहराको मुख्य फाउन्डेसन निर्माण भइरहेको जानकारी दिए । ‘यो काम सकिएपछि जग र भुइँ तला निर्माण गरिनेछ,’ उनले भने ।

यसका लागि आसपासका अन्य संरचना हटाउन आवश्यक रहेको उनले बताए । ‘गोश्वारा हुलाकको कार्यालय र नेपाल राष्ट्र बैंकको धनादेश सारेपछि भुइँतलाको काम सुरु गरिन्छ,’ उनले भने । 

उपत्यकाका धरोहर मानिने यी सम्पदा ठडिन थालेपछि स्थानीय उत्साहित बनेका छन् । उनीहरूले यी सम्पदाको पुनर्निर्माण तोकिएको समयमै सक्न सरोकारवालासँग माग गरेका छन् ।