चुनावः आरोप- प्रत्यारोप र ज्योतिषीका भविष्यवाणी

चुनावः आरोप- प्रत्यारोप र ज्योतिषीका भविष्यवाणी

सरोज ज्ञवाली  |  दृष्टिकोण  |  बैशाख १०, २०७६

भारतमा लोकसभाको तेस्रो चरणको मतदान आज हुँदैछ । सात चरणमा हुने भनिएको आम निर्वाचनका  बाँकीका अन्य चरण १९ मे सम्म सम्पन्न हुन्छन् । यस पटकको भारतीय चुनाव सहज र सरल ढंगले अगाडि बढीरहेको छ । झण्डै ९० करोड मतदाता भएको चुनावमा ५४३ सिटका लागि विभिन्न दलले प्रतिस्पद्र्धा गरिरहेका छन् । यस पटकको चुनावमा भारतीय राजनीतिमा पहिलो पटक आफ्नो बलमा बहुमत पुर्‍याउन सफल रहेको भारतीय जनता पार्टी र त्यसका लोकप्रिय नेता प्रधानमन्त्री नरेन्द्र मोदीको भविष्य र विश्वसनीयताको परीक्षा हुनेछ । भारतीय राजनीतिमा अहिलेसम्म कांग्रेस बाहेक कुनै पनि राजनीतिक दलले लगातार दुईपटक सत्ताको स्वाद चाख्न पाएका छैनन् । 

भारतमा जति जति चुनावी माहोल तात्दै छ, त्यति नै मात्रामा राजनीतिक दलहरुबीच आरोप–प्रत्यारोप तथा गालीगलौज बढ्दै गएको छ । यस चुनावमा भाजपाले प्रारम्भ देखि नै राष्ट्रभक्ति, सुरक्षा र विकासको नारा लिएर चुनावी माहोलमा प्रवेश गरेको थियो । कांग्रेस भने किसान तथा गरीबीको नारासहित अगाडि बढेको थियो । तर काश्मिरको पुलवामा भएको आतंकवादी घटनाले गर्दा देशको सम्पूर्ण माहौल नै परिवर्तन गरिदियो । सम्पूर्ण भारतवासीको ध्यान राष्ट्रहित र राष्ट्रिय सुरक्षामा केन्द्रीत हुनगयो । भाजपाले देशभक्ति र राष्ट्रिय स्वाभिमानलाई आफ्नो मूल चुनावी मुद्दा बनायो । कांगे्रस भने यस चुनावी नीतिमा नराम्ररी चुक्यो । अर्कोतिर  राहुल गान्धीको अपरिपक्व नेतृत्व शैली र विवादास्पद भनाइले गर्दा कांग्रेस यस चुनावी समरमा ब्याक फुटमा सीमित भयो । नरेन्द्र मोदीको आक्रामक चुनाव प्रचारशैलीमार्फत भाजपा यस पटकको निर्वाचनलाई आफ्नोे पक्षमा ल्याउने भगिरथ प्रयास गरिरहेको छ । 

हुनत् हरेक पटकको चुनावमा राजनीतिक दलहरुबीच आरोप–प्रत्यारोप, निन्दा आलोचना, गाली गलौज हुन्छन् नै । तर यस पटकको चुनाव सन्ध्यापूर्व नै राहुल गान्धीले ‘चौकिदार चोर है.....’भनेर मोदीमाथि तिखो आक्रमण गरे । तर चलाख मोदीले गत २०१४ को  चुनावी नारा ‘चायवाला’ जस्तै ‘मै चौकिदार हुँ .....’ भन्ने नारा लिएर चुनावी मैदानमा ओर्लिने दुस्साहस देखाए । उनको यस नाराले सम्पूर्ण भारतमै तरंग ल्याइदियो ।

जारी निर्वाचनमा विभिन्न दलकाबीच यस्ता आरोप–प्रत्यारोपको श्रृखंला धेरै लामो छ । यस्तै प्रकारले चुनावमा ओर्लेका विभिन्न उम्मेद्वारले पनि एक अर्का विरुद्ध विष वमन गर्ने कार्य चरममै पुग्यो । उत्तर प्रदेशका विवादास्पद मुस्लिम नेता आजम खानले भाजपा उम्मेद्वार जयाप्रदा विरुद्ध गरेको अशोभनीय बयानबाजीले निर्लज्जताको पराकाष्ठा नै छोयो । भारतभरि आजम खानको व्यापक निन्दा भयो । निर्वाचन आयोगले पनि उनी विरुद्ध सांकेतिक कारवाही ग¥यो । मालेगाव बम विस्फोटको आरोपी बनाइएकी साध्वी प्रज्ञा ठाकुरलाई भाजपाले मध्य प्रदेश राज्यको राजधानी भोपालबाट कांग्रेसका दिग्गज नेता दिग्विजय सिंहका विरुद्ध उम्मेद्वार बनायो । राजनीतिमा नयाँ नयाँ आएकी साध्वी प्रज्ञा ठाकुरले राजनीतिका दाउपेच नबुझिकनै आफ्नो भावनात्मक अभिव्यक्ति सार्वजनिक गरेर आलोचना सहनुपर्‍यो । साध्वीले आफूलाई षडयन्त्रपूर्वक फसाइएको र हिरासतमा रहँदा चरम शारीरिक–मानसिक यातना दिइएको  भनि यसका नाइकेलाई आफूले श्राप दिएको बयान दिएकी थिइन् । 

हुनत् हरेक पटकको चुनावमा राजनीतिक दलहरुबीच आरोप–प्रत्यारोप, निन्दा आलोचना, गाली गलौज हुन्छन् नै । तर यस पटकको चुनाव सन्ध्यापूर्व नै राहुल गान्धीले ‘चौकिदार चोर है.....’भनेर मोदीमाथि तिखो आक्रमण गरे । तर चलाख मोदीले गत २०१४ को चुनावी नारा ‘चायवाला’ जस्तै ‘मै चौकिदार हुँ .....’ भन्ने नारा लिएर चुनावी मैदानमा ओर्लिने दुस्साहस देखाए । उनको यस नाराले सम्पूर्ण भारतमै तरंग ल्याइदियो ।

भारतीय निर्वाचनको परिणाम २३ मे का दिन जे आएपनि आजको यो आलेखमा भारतीय चुनावबारे  अर्कै ढंगले चर्चा गर्न खोजिएको छ । आफ्नो भाग्य जान्न खोज्नु भविष्यमा के हुन्छ त्यसबारे जान्न खोज्नु आम नेपाली र भारतीयको मानसिकता नै हो । आजको यस लेखमा विभिन्न भारतीय ज्योतिषीहरुले गरेका चुनाव सम्बन्धी  भविष्यवाणीबारे चर्चा गरिएको छ । 

भारतमा ज्योतिषीले चुनावी परिणामबारे भविष्यवाणी गर्नु कुनै नौलो कुरा होइन । एक किसिमले यो उनीहरुको पेशा नै हो । ‘आए आँप गए झटारो’, भविष्यवाणी नमिलेमा मुद्दा खेप्नु पर्दैन क्यारे ! र तुक्का लाग्यो भने देशभरी व्यापक चर्चा पाएर सेलिबे्रटी बनिन्छ ।  सन २०१४ को आम निर्वाचनमा पनि ज्योतिषाचार्य सन्तवत्रा अशोकले नरेन्द्र मोदी नै प्रधानमन्त्री हुने भनेर भविष्यवाणी गरेका थिए । यस्तै प्रकारले आचार्य सलिलकुमारले सन् २००४ मा नै डा.मनमोहन सिंहले १० वर्ष शासन गर्ने भनेर भविष्यवाणी गरेका थिए । यिनले पनि सन् २०१४ मा नरेन्द्र मोदी नै प्रधानमन्त्री हुने भनेर भविष्यवाणी गरेका थिए । 

हालै आसामको गुवाहाटीमा भएको ज्योतिषहरुको महासम्मेलनमा उपस्थित १५८ ज्योतिषीहरुको संयुक्त प्यानलले अगामी प्रधानमन्त्री नरेन्द्र मोदी नै हुने भनेर घोषणा गरेका छन् । यस्तै प्रकारले नेत्रहीन जगत्गुरु रामभद्राचार्यले पनि नरेन्द्र मोदी नै आगामी प्रधानमन्त्री हुने भविष्यवाणी गरेका छन् । ज्योतिषाचार्य अरुण वंशल र पंडित अशोक पुवार मायकले पनि नरेन्द्र मोदी नै भावी प्रधानमन्त्री हुने भविष्यवाणी गरेका छन् । 
यस्तै प्रकारले अयोध्याका ज्योतिष हरिदयाल मिश्र्रले पनि आगामी प्रधानमन्त्री नरेन्द्र मोदी नै हुने ठोकुवा गरेका छन् । हरिदयालका धेरै भविष्यवाणी चर्चित रहेका छन् । भारतका सिद्ध सन्त मानिने करपात्रीको भविष्यवाणी  भारतमा अहिलेसम्म पनि चर्चित छ । उनले एउटा हिन्दु राष्ट्रभक्तका कारणले नै कांग्रेस पार्टीको सर्वनाश हुने भविष्यवाणी गरेका थिए ।

ज्योतिष आशिष व्यासको भनाईअनुसार मोदीको कुण्डलीमा वृश्चिक लग्न रहेको र हाल मोदीलाई लक्ष्मीयोग र राजयोग प्राप्त भएकोले उनलाई कसैले हराउन सक्दैन् । यस्तै अर्का ज्योतिष सन्तवात्रा अशोकका अनुसार पनि मोदीको कुण्डलीमा वृश्चिक लग्न रहेको र मंगलको पूर्ण दृष्टि रहेकोले मोदीको विजय सुनिश्चित रहेको छ । उनले मोदीले  २८ मे मा नै शपथ ग्रहण गर्नेछन् भनि दावी गरेका छन् ।  उनका अनुसार भाजपाले  आफैं २९९ भन्दा बढी सिट ल्याउने र भाजपा गठवन्धन एनडिएले ३७१ देखि ४१३ सिट ल्याउने छ । ज्योतिषीहरुलाई भविष्यवाणी गर्न कुनै कानुनले छेक्दैन् । तर यदि भाजपाले बहुमत ल्याए पनि तीनसय सिट नपुर्‍याएको खण्डमा वा मोदीले २८ मे मै शपथ ग्रहण नगरेको खण्डमा उनले गरेको भविष्यवाणी सत्य मान्नु पर्ने हुन्छ कि मिथ्या ? 

यस्तै प्रकारले आचार्य सलिल कुमारका अनुसार आगामी प्रधानमन्त्री निश्चितरुपले नरेन्द्र मोदी नै हुनेछन् । उनका अनुसार भाजपा आफैंले २८० देखि २८५ सिट ल्याउने तर एनडिएको सिट संख्या पहिलेको भन्दा घट्छ । सलिलको अनुसार भाजपाले उत्तर प्रदेशमा केही सिट गुमाए पनि पश्चिम बंगाल, उडीसा र केरलमा सिट संख्या बढाउने छ । 

चुनाव आउनु भनेको ज्योतिषीहरुका लागि दशैं आउनु सरह हो । हरेक चुनावी मौसममा विभिन्न ज्योतिषीहरुले अनेकौं भविष्यवाणी गर्छन् ती मध्ये कसैको भविष्यवाणी मिल्न गएको खण्डमा ऊ हिरो हुन्छ, उसको व्यापार वृद्धि हुन्छ । तर, भविष्यवाणी असफल भएका ज्योतिषलाई कुनै कारवाही हुँदैन् । नेपालमा पनि नयाँ वर्ष वैशाख लाग्दा नलाग्दै तमाम ज्योतिषीले अनेकौं उरन्ठेउला भविष्यवाणी गरेका छन् । प्रधानमन्त्री परिवर्तन देखि व्यवस्था परिवर्तनसम्मका भविष्यवाणी गर्न ज्योतिषीहरु चुकेका छैनन् । तिनले गरेका भविष्यवाणीको परिणाम के हुने हो त्यो केही महिनाभित्रै स्पष्ट हुने छ । ज्योतिषको व्यवसाय मानवीय प्रवृति लोभ र भयसँग गाँसिएको छ । मानिसमा जबसम्म लोभ र भय रहिरहन्छ यस्तो व्यवसाय फलि फुलिरहन्छ । 

याे पनि 

प्रियंकाको अग्निपरीक्षा

भारतीय चुनावको चियोचर्चो

उतारचढावपूर्ण नेपाल–भारत सम्बन्ध र भारतको आसन्न निर्वाचन

स्किजोेफ्रेनियाबाट ग्रस्त भारतीय राजनेता

नेपाली मिडिया किन मोदीप्रति असहिष्णु छन् ?

प्रसंग फेरि पनि भारतीय चुनावकै

मुद्दाविहीन यस पटकको भारतीय निर्वाचन