'मेरो संसार हरायो यो सहरभित्र...' गीतको रचना गर्भ र विवेककाे बुबाप्रतिको समर्पण

'मेरो संसार हरायो यो सहरभित्र...'  गीतको रचना गर्भ र विवेककाे बुबाप्रतिको समर्पण

प्रा.डा. विष्णु राई  |  लोकरञ्जन  |  चैत्र ३१, २०७७

'मेरो संसार हरायो यो सहरभित्र 
भेट्छु भन्छु लुक्छ झन् भिडभित्र
मनको व्यथा लुकाई आफैँमा 
खबर छैन कहाँ छ सहरमा .....'

 यो मेरो रचनालाई सङ्गीत र स्वर मार्फत विवेक राई (मेरो छोरा) श्रोतामाझ प्रस्तुत गरेको छन् ।  उनले आफ्नो कला क्षमतालाई राम्रो प्रस्तुत गर्ने प्रयास गरेका छन् । वस्तुतः उनलाई सानैदेखि गीत सङ्गीतको गहिरो अभिरुचि भने थियो । विवेकले यो गीत अमेरिकामा रेकर्डिङ गरेर उतैको सेरोफेरोमा सुटिङ गरेका  छन् । आफैँ गीतको मोडल भएर प्रस्तुत भएका छन् । उनलाई सुहाएको पनि छ । न्युयोर्क सहरमा सरकारी हाकिम भएर (Project Manager: department of design and construction ,New York City) जागिर खाँदै छन् ।  विवेकले मलाई थाहै नदिई मेरो रचना रेकर्डिङ गरेकोमा भने मलाई खुसी नहुने कुरै भएन । आश्चर्य पनि पारेका छन् धेरै माया तथा आशीर्वाद छ । अझ सफलताको लागि सधैँ पारुहांग सुम्म्निमा दाहिनो रहुन् भन्ने कामना समेत  गर्दछु । 

 आफ्नै छोराको प्रशंसा यहाँ कसरी गरूँ !  जे गर्दै छन् उनले राम्रै गर्दै छन् । संसारका मानिसहरूको सपना अमेरिका जस्तो सहरमा आफ्नो संसार खोज्न केही हद सफल भएका छन्  । लक्ष्य विचार र कल्पनाको अन्त्य त हुँदैन । भिडभित्र निरन्तर उनले प्रत्येक पल आफैँलाई रङ्गिन सहरमा खोज्दै छन्, भन्ने मलाई लागेको छ ।

सबैको  जिन्दगीको घुम्ती लामो हुन्छ । हरेक धुम्तीमा बाटो मोडिन्छ । बाटोमा पाइलाहरु ठोकिन्छन् । सधैँ यात्रा अपरिचित नै हुन्छ । कतै भुँवरीमा जीवन बिलाउँछ । कहिले खुसीभित्र अट्टहास जीवन रमाउँछ । बिहानीको चिसो बतासमा न्यानो घामको स्पर्श जस्तो । हेरिरहौँ लाग्ने निर्दोष सुन्दर चन्द्रमाको मुहार जस्तो । कता हो कता....अनन्त नसकिने जीवनको बाटो ।  प्रत्येक मान्छेको जीवन यात्रा कता जान्छ । कसैलाई थाहा छैन । घर, आमा, परिवारको मायाबाट छुट्टिएर निस्सार संसारमा हिँड्नै पर्छ । जीवन खोज्नलाई ।  आकाशमा बिस्तारै उडेर विलीन भएको हवाई जहाज जस्तो भएर । विवेक पनि संसारको अपरिचित सहरमा जहाजले छोड्दा सायद आत्तिए नै  होला । नयाँ संसारमा कसरी हिँडे  होलान्। लक्ष्य प्राप्तिको लागि सङ्घर्ष कसरी प्रारम्भ गरे होला ।  म यहाँ कल्पना गर्न असमर्थ छु । यी सबै जीवनको अमूर्तक कुराहरु न  हुन् । 

त्यसो हो भने के बाबुआमाले सन्तानलाई सजिलै भन्न सक्छ ?  आफ्नो देशमा तिम्रो भविष्य छैन विदेश जाऊ भनेर ? यसको जवाफ कसले दिने ? कहिलेकाहीँ आफ्नै माटोमा उभिएर धेरै कुरा भन्न मन लाग्छ । म आफैँ  देशभित्र अपरिचित छु । संसार नभेटेर आफ्नै सहरभित्र भौँतारी रहेछु । मलाई आशा छ, बबडानालले जस्तो गीत रचेर विवेक तिमी पनि गाउन सक्छौ । जसको स्वर ,शब्दले नयाँ क्रान्तिको हुङ्कार मात्र गरेन विश्व नोबेल पुरस्कार पनि प्राप्त गर्‍यो ।

सबैको जीवन अमूर्त हुन्छ । यो गीतको फ्लासब्याक यस्तै रोचक कथाहरु छन् ।

मैले जीवन खोजीको क्रममा काठमाडौँ छिरेको सड्चालिस वर्ष पुगेछ । मेरो गाउँबाट यो सहरमा पढ्न आउनु भनेको चानचुने कुरा थिएन । काठमाडौँ आउन बसबाट चार दिन लाग्थ्यो । बस भेट्न तीन दिन ।पहिलो दिन रातको पाँच रुपैंया तिरेर त्रिपुरेश्वरको एक लजमा सुतेको थिएँ । दुई रुपैंयामा भात खाएर मस्त लजमा सुतेको थिएँ । भोलिपल्ट चार आनामा चिया पिएर साथीहरू खोज्न निस्केको थिएँ ।सहर देखेर मलाई डर लागेको थियो । मटर बाइक कुदाउने मान्छे त्यो बेला ठुलो मान्छे दरिन्थ्यो । सुन्थेँ निर शाहले मात्र कुदाउँछ । अहिले सम्झन्छु जमाना अर्कै छ ।  त्यो समयदेखि वर्तमानसम्म सहरमा अझ केही खोज्न हिँडिरहेछु । को हो ठुलो मान्छेहरू हेर्न निरन्तर खोजिरहेछु । 

सहरबाट आत्मीय माया पाएको छैन ।  खुट्टाले नभियाएर मटरबाट कुदिरहेछु । आजतक सहरको हृदय चिन्न सकिनँ ।  सधैँ  भिडको हताशभित्र मलाई छोडेर सहर अलप हुन्छ । म सहरको कुनै छेउ हतारको जीवन बोकेर कुदिरहेछु ।मेरो समय सहरभित्र निक्कै खर्च भएपछि थाहा पाएँ । एउटा उपलब्धि बल्ल मैले आफ्नै जीवनको गीत पाएछु । मनको आवेग कोर्न प्रयास गरेछु ।  जीवन नै गीति काव्य हुँदो रहेछ । कथा उपन्यास बन्दो रहेछ । Karl Marx  भन्छन् 'revolutions are the locomotives of social history.' हरेक मान्छेको जीवनको गति सङ्घर्षमय  हुन्छ र आफैमा इतिहास बन्छ । सत्य रहेछ । त्रिविको एमए समाजशास्त्र, मानव शास्त्र कक्षामा मार्क्सिष्ट सिद्धान्त सत्र वर्ष पढाएँ । मार्क्स पूर्ण सामाजिक विज्ञान हो । मार्क्स घाम जस्तो रहेछ मेरो अर्थमा ।कहिले ताप्न पर्ने कहिले रापले लुक्न पर्ने । उनीबाट दुनियाँ सुत्न र निदाउन सकिरहेको छैन । यसरी म आफ्नै गीत लेखेर हिँडिरहेछु । 

आफ्नो संसार खोज्ने क्रममा धेरै भोगियो । जागिर सानो थियो । कहिले कोठामा आवश्यक वस्तु सकिने । माझ किराँतमा भएको सम्पत्ति भएर के काम ।  अहिले पनि पुर्ख्यौली सम्पत्ति को खाने रुत्यसै छ । थोरै रकमले सहरमा जोड थप गर्दै सानो बासको व्यवस्था गरेँ । माइलो भाइले दिएको सहयोग महत्त्वपूर्ण थियो ।  एक प्रकार राजनीतिले म फुङ्ग थिएँ । थोरबहुत ऋण टाउकोमा थियो ।  बेला कुबेला थिचिरहन्थ्यो । समस्या जसलाई पनि हुन्छ,  मन आफैँ बाँध्थेँ ।  तर मनमा नमिठो आँधी चलिरहन्थ्यो । अब भएन । काम पनि छैन ।  विदेश भासिन पर्‍यो भनेर चिन, ताइवान, कोरिया घुमेँ । मन कतै अडिएन ।  पन्ध्र दिनमा म घर आइपुग्दा श्रीमती अत्तालिन । ऋण खोजेर म उडेको थिएँ । पैसो डुब्यो भनेर उनको अनुहारमा त्रास देखियो । म फर्केको देखेर मुस्कानमा खुसी थिएन ।

२०५५ सालबाट क्याम्पसमा प्राध्यापन प्रारम्भ गरेँ । जीवनको रङ्ग र बाटो अनायास बदल्दै आयो । बेलुका मदन भण्डारी कलेजमा एमए क्लासमा पढाउँदै थिए ।  बिरामी भएको अचानक कमलको फोन आयो । म आगोमा जलेँ जस्तो भएँ । शरीरमा कम्पन आए जस्तो भयो । अरूले देख्छन् कि म सम्हालिएँ । मेरो समय नभएकोले उनी एक्लै हस्पिटल गएकी थिइन् । २०६६ सालको कुरा हो सिकिस्त बिरामी भइन् । हाम्रो भाग्य दरो रहेछ । आज सम्म ठिक छ । तर जीवनको कुनै पक्षमा नजानिँदो घाटा भने हुँदो रहेछ ।कहिलेकाहीँ यस्तो हुन्थ्यो ।  बिरामीको समस्याले थिचेर सपनामा वा बिपनामा हिँडिरहेछु थाहा हुँदैनथ्यो । त्यही समयमा आमा पनि सिकिस्त बिरामी हुनुहुन्थ्यो । म समस्याबाट बिलकुल डराएको भने थिइनँ । लाग्थ्यो केही भई हाल्यो भने पनि नेचर हो भनेर मन कस्थेँ ।  चिन्ने जान्नेको सामु  हाँसेर हिंडिरहन्थ्यें ।  मात्र समय र घटना फरक हुन्छ । हरेक 'स्पेसिस' प्रकृति हो । जसरी घाम, पानी, हावा, तुवाँलो, भल, पहिरो ,डाका, जाल, झेल,रोग ,मृत्यु ,'पेंडेमिक' रोग हैजा चलिरहन्छ । कसलाई सन्चो होला र यो दुनियाँमा ?

२०३५ सालमा साल्ट ट्रेडिंग कम्पनीमा अस्थायी सहायक प्रशासक भएँ तर बनेपा खटायो । बनेपा मलाई अर्को देश जस्तो लाग्यो । पढ्छु भनेर कसिएको कारण मैले मुखको जागिर छोडेँ । नेपाल राष्ट्रिय क्षयरोग निवारणमा स्थायी नायब सुब्बा पदमा छानिएँ । तर सर्त थियो । एक वर्षसम्ममा टाइप गर्न निपुण हुनुपर्ने छ । मेरो लागि अङ्ग्रेजी र नेपाली दुवै गर्न सक्ने भएँ तर कार्यालयको लागि फिट हुन सकिनँ ।  २०३८ सालमा लोकसेवा आयोग पास गरेँ । मेरो उत्तर मिलेन छ  फेल भएँ । अन्तर्वार्तामा सोधेको प्रश्नले अझ पनि मेरो मन मान्दैन । ‘तिमी हिमाल किन चढ्न नगएर यता जागिर खान आएको ?'  यो घटनापछि मैले आयोग 'फेस' गर्ने कहिले कल्पना गरिनँ । मेरो संसार झन् सहरमा हराउँदै गयो ।  मैले लगातार कोलाहल सहरभित्र खोजिरहेँ । 

समय धेरै भोग्दै गएँ । पछि एमएमा मानवशास्त्र पढाउँन थालेपछि थाहा भयो । त्यो प्रश्न त सांस्कृतिक दादावाद, जातिवाद, हैकमवाद रहेछ । फलस्वरूप मैले कल्पना नगरेको समस्याहरु प्रत्यक्ष अप्रत्यक्षरुपले भोग्दै हिंड्न पर्‍यो । 

मेरो प्रिय मित्र डालबिक्रम कडेल र म जागिरको तलासमा थियौं । भोकाएको स्याल जस्तो । उनले चिनेको पावरफुल मान्छे उनकै जिल्लाबासी नेता थिए ।  उनी फरासिला राम्रा थिए । काठमाडौँ नगर विकास समितिमा नायव सुब्बा लगाइदिनु भयो । चार वर्ष खाएँ । यही मौकामा बिए त्रिचन्द्रमा, एम कीर्तिपुरमा सिध्याएँ । त्यसपछि संसार फेरिए जस्तो भयो । आज आफैलाई सम्झदा आनन्द अनुभव भै रहेछ । त्यो समय काठमाडौँ आएर पढनु भनेको चानचुने कुरा थिएन । चिनेको कोही थिएन । जिल्लाभरि कै साथीहरु औंलामा गन्न सकिन्थ्यो । गोजीको पैसा सकिनसाथ भोकै बस्न पर्ने अवस्था प्राय सबैको थियो । चवालिस वर्ष अगाडि अहिले जस्तो सहरको समय थिएन । अहिले प्रत्येक घरको सदस्य यो सहरमा भेटिन्छ ।रमाइलो पनि हुन्छ ।

Friedrich.Engel भन्छन् 'dialectical ideology is interrelated with natural phenomena and opposite of the metaphysic' यो जीवन जगत्  सत्य हो अलौकिक कल्पना होइन । कुनै पनि प्राणी वास्तविक वातावरण भन्दा फरक हुनसक्दैन । जीवन आध्यात्मिक भौतिक कल्पनाबाट फरक हुन्छ । थाहै नपाई वास्तविक जीवनको गीत लेखेछु । विगतलाई वर्तमानमा लेखिरहेछु । जीवन मेटाफिजिक भन्दा फरक छ । आफ्नै जीवनको लडाईमा भोगेको पलहरु गीत मार्फत प्रिय स्रोताहरुलाई उपहार दिन सकेछु । यो मेरो संघर्षको एक सपना हुनसक्छ । चार्ल्स डार्बिनको भनाइमा दुःख र संघर्ष फरक कुराहरु हुन् ।जतिबेला जीवनको लामो समय अफ्रिकाको कलाहरी जंगलमा प्रकृतिको छनोट के हो ? भन्ने विषयलाई 'फिंच' चराको अध्ययनमा संघर्ष गर्दै थिए ।

जीवन भोगाइको समवेदना सबैको एकै हुदैन ।

गीतको सात हरफले सबै कुरा भन्न सक्दैन । अधुरो हुन्छ । त्यो अपुरोभित्र काव्यिक भाव लुकेको हुन्छ । सुन्न मिठो मधुर हुन्छ । हलुका गीतले मन छुन्छ तर बतास जस्तो विलीन हुन्छ । यस्ता गीतले जीवनमा अर्थ खासै नराख्न सक्छ ।  गम्भीर गीतले चेतनाभित्र नयाँ कुरा प्रभाव गर्न सक्छ । यस्तै मोडमा हतास कुदेर अथवा समयलाई देखेर पनि समात्न नसकिरहेको मोडमा यो गीतको बिउ ह्रदयमा उम्रेछ ।  थाहै नपाई यो गीतको शव्द  कुन समय र दिनमा मनबाट झिकेर कागजको अमुक पानामा कोरेछु । मलाई पनि थाहा थिएन  ।

छोरा विवेकले मेरो नोट बुकको पानाबाट मेरो जीवनको अभिव्यक्ति बोकेर अमेरिका लागेका रहेछन्। सम्झनाको लागि लैजान यो गीतको पाना उपयुक्त जस्तो लाग्यो होला । मलाई थाहा थिएन । उनले आफ्नो सङ्गीत र आवाजमा रेकर्ड गरेर युट्युब गीत घन्किए पछि म त  छक्क परेँ ।  उनको प्रयास भनूँ या बुबाप्रतिको अगाध मायाको समर्पण सङ्गीतभित्र थियो । गीत सुनेर हर्ष विभोर भएँ । सायद मैले लामो समय यो सहरमा खोजेको अमूर्त खुसी थियो । अपरिचित अमेरिकाको सहरभित्र कति हर्ष बिस्मातले विवेक बाँचेको  होला ? जीवन खोज्ने क्रममा थाकेर परिवार सम्झँदै आहत भएको साँझ यो गीत गाउँदै मायाको समुद्रभित्र डुब्दो हुन ? जसरी म घर सम्झेर पहिले यो अपरिचित सहरमा डुब्थेँ । एकान्तमा यो गीत बेहोसी वा होसमा गिटार बजाउँदै आफ्नो सारा दर्दलाई बिर्सँदो हुन् । म यहाँ कसरी भन्न सक्छु र उनको संसार ।  साहित्य कला सङ्गीत जीवनको सहारा हो । जसले मानिसलाई सकारात्मकतर्फ अग्रसर बनाउँछ ।  

गीतभित्र बेजोड काव्यिक दर्द हुन्छ । स्रष्टा जब पीडाभित्र मूर्छित भएर गीत संगीतको सहारा खोज्छ । थाहै नपाई हामीले सानो आफ्नो इतिहास कोरेछौँ ।  विवेकले गाएको गीत प्रत्येक पल्ट मैले सुने । उनको भिज्युयल हेरें । स्वरमा दर्दको कहाली लाग्दो चिच्याहट सुनें । जीवनको रोदन देखें ।  संगीतसंगै उसको समवेघ  आवाज छ । फेरि कतै शान्त आवाजभित्र भोगिरहेको समय छ । म गीतको आवेगलाई छामेर आहत मूर्छित हुन्छु । केही समयको मौनतापछि आफैं कोठाको शान्त तलाउबाट सुस्तरी सास फेर्दै किनारमा निस्कन्छु । केही  पलपछि सामान्य परिस्थितिमा फर्कन्छु । 

काठमाडौँ सहरमा हुर्केर, अमेरिका पढ्न जानेक्रममा पहिलो पल्ट २०६५ साल मङ्सिरमा आफ्नो परिवार, प्रिय साथीहरूलाई छोडेर गएको थियो । दोस्रो पल्ट यहाँ आएर तीन महिनापछि जाने बेलास 'मलाई अमेरिका जान मन पटक्कै लागेको छैन । म कसरी जानू'  उसले बोझिलो अनुहारमा त्यसो भन्दा मेरो मनको तार अचानक सयौँ पल्ट चुँडिएको थियो । उनले टौरो युनिभर्सिटी न्युयोर्कमा इन्फर्मेसन मेनेज्मेंट विषयमा मास्टर्स गर्दै थिए । आफ्नै देशमा छोरालाई राम्रो मान्छे बनाउने धोको थियो ।  उनको भाग्य अर्कैको देशमा रहेछ । अहिले एक प्रखर बुद्धिजीवी वरिष्ठ योजना प्रमुख भएर लोकसेवा मार्फत न्ययोर्क सहरमा काम गरिरहेछन् । यता यस्तै राम्रा कयौँ युवाहरू विदेशलाई बिक्री गरेर सिंहदरबार नाफाको भाषण गरिरहेछ ।  पुँजीवाद समाजवादको एक हिस्सा भएको गफ छाँटेर केही हैकमवादी नेता दाँत कोट्याउँदै यता हाँसिरहेछ । यही क्रममा प्रधानमन्त्रीले सौताको रिसले पोइको काखमा के गर्नु भन्ने उखान संसद् भङ्ग गरेका छन् ।  यो घटनाले पनि नागरिक हुनुको अर्थ समय खर्च भइरहेछ ।

छोरा पढ्न नजाने हुन कि  ? कता कता बिस्मात अनुभव भयो । बेलुकी घरमा बसेर देशको वर्तमान विसङ्गति, नातावाद ,जातिवाद,दादावाद, आर्थिक राजनीति विषयमा लामो छलफल भयो । कसैलाई देशको वातावरण बिग्रेको छ । कसैलाई पुर्खादेखि सप्रेकै छ । कसैलाई लुट्न स्वर्ग छ । सविस्तार विश्लेषण गरेर पुनः विवेकलाई अध्ययन पूरा गर्न अमेरिका पठायौँ । भविष्य खोज्न अर्काको देशतर्फ ।  देशसँग मेरो भन्नु धेरै छ । कहिले त खुकुरी बोकेर निष्कु जस्तो हुन्छु । मेरो खोक्रो राष्ट्रवादसँग ।  सडकमा निर्मम भाषण ठोकौँ जस्तो हुन्छु  ।  दाइने बान्या हात ठडाएर दलाल राजनीति विरुद्ध निस्कूँ जस्तो हुन्छु ।  

भविष्य खोज्न सहर प्रवेश गर्दा भर्खर मेरो जुँगाको रेखी बस्दै थियो । अहिले जुँगा फुलेको छ । केस झरेर निधार खाली छ । खोजेको संसार अझ हराइरहेछ । काठमाडौँ सहर 'इन्सेक्टोभोरस'  हो ।  सुस्तरी मान्छेलाई फकाएर उसको बैँस चुसेर चम्कन्छ । मान्छे सहरको भिडमा सपना खोज्दै विलीन हुन्छ । बाहिर निस्कन असमर्थ हुन्छ । त्यसरी नै को हो ठुलो मान्छे ?? यो सहरको कोलाजभित्र  खोजिरहेछु ।  प्रसिद्ध मानव शास्त्री स्कुफिनले भनेका छन् -मान्छे वास्तवमा पूर्ण मान्छे भएको छैन । कहिलेकहीँ एपको आचरण देखाउँछ । होला पनि, मान्छे कसैको प्रगति देख्न सक्दैन । विरोध निरन्तर गरिरहन्छ । यस्तै गज्यांग मज्यांगमा जीवन फसिरहेछ । गीतको रचना गर्भले जीवनका लामो भोगाइहरू भन्न पाएँ ।  औधी खुसी लागिरहेछ । 

यो पनि एउटा कृति हुनेछ । मेरो लागि सानो पर्वत भएछ । एकपल्ट महात्मा गान्धीलाई अफ्रिकामा हेपेर गोराले ट्रेनबाट निकालेको बायोग्राफी छ । त्यतिबेला गान्धी चर्चामा आएका थिएन । समाजमा जेलस गर्ने मूर्खहरू छन् । एक अङ्ग्रेजीका प्रोफेसर विद्धान मित्रले भनेका थिए, ‘थाहा छ ? सामाजिक सञ्जालमा देखा पर्न मन लाग्दैन । मेरै आफन्तहरूले डाह गर्छन् ।' कहिलेकाहीँ मेरो प्रिय मित्र र स्कुफिनले भनेको कुराबाट झस्कन्छु । हरेक मान्छेको सङ्घर्षबाट जिउन सिक्न पर्ने हो तर मान्छेमा समवेदना हुँदैन । हिगलले भनेको ठिकै हो भौतिक द्वन्द्व अलौकिक आध्यात्मविधा तत्वज्ञानको कल्पना जस्तो होइन । 

त्यसो हो भने के बाबुआमाले सन्तानलाई सजिलै भन्न सक्छ ?  आफ्नो देशमा तिम्रो भविष्य छैन विदेश जाऊ भनेर ? यसको जवाफ कसले दिने ? कहिलेकाहीँ आफ्नै माटोमा उभिएर धेरै कुरा भन्न मन लाग्छ । म आफैँ  देशभित्र अपरिचित छु । संसार नभेटेर आफ्नै सहरभित्र भौँतारी रहेछु । मलाई आशा छ, बबडानालले जस्तो गीत रचेर विवेक तिमी पनि गाउन सक्छौ । जसको स्वर ,शब्दले नयाँ क्रान्तिको हुङ्कार मात्र गरेन विश्व नोबेल पुरस्कार पनि प्राप्त गर्‍यो ।

अन्त्यमा ! गीतको रचना गर्भभित्र लुकेका भावनाहरू सज्जन पाठक तथा श्रोताहरूलाई सुनाउन आज पाएँ । खुसी मलाई लागेको छ । 

धन्यवाद ।
यो गीत युट्युबमा अथवा यहाँ क्लिक गरेर पनि सुन्न र देख्न र सन्न सक्नुहुनेछ ।