भारतमा तेस्रो चरणको निर्वाचन, कैयन दिग्गजको प्रतिष्ठा दाउमा

भारतमा तेस्रो चरणको निर्वाचन, कैयन दिग्गजको प्रतिष्ठा दाउमा
भारतीय जनता पार्टी (भाजपा)का राष्ट्रिय अध्यक्ष अमित शाह ।

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १०, २०७६

भारतमा जारी लोकसभा निर्वाचनअन्तर्गत आज १५ राज्यका ११६ सिटमा निर्वाचन भइरहेको छ । आजको निर्वाचन कैयन दिग्गज भारतीय नेताको भाग्य इविएममा कैद हुँदैछ । 

काठमाडौं । जीवनमा पहिलो पटक संसद् निर्वाचन लडिरहेका भाजपा अध्यक्ष अमित शाहको भाग्य परीक्षण आज हुँदैछ । शाह गुजरात राज्यको गान्धीनगर संसदीय क्षेत्रबाट चुनावी मैदानमा छन् । 

यसैगरी कांग्रेस अध्यक्ष राहुल गान्धीले प्रतिष्पर्धा गरिरहेको केरलको वायनाड सिटमा पनि आज मतदान भइरहेको छ । गान्धी यस पटक दुई सिटबाट चुनावी मैदानमा ओर्लेका छन् । यस्तै, समाजवादी पार्टीका मुलायम सिंह यादव (मैनपुरी–उत्तरप्रदेश), पिडिपी नेता महबुबा मुफ्ती (अनन्तनाग–काश्मिर), दिग्गज नेता शरद यादव (मधेपुरा–विहार), पूर्वराष्ट्रपति प्रणव मुखर्जीका छोरा अभिजित मुखर्जी (जंगीपुर–पश्चिम बंगाल), भाजपाका प्रवक्ता डा. संवित पात्रा (भुवनेश्वर–उडिसा), एनसिपी अध्यक्ष शरद पवारकी छोरी सुप्रिया सुले (बारामती–महाराष्ट्र)को आज भाग्य फैसला हुँदैछ । यस्तै, जयाप्रदा (रामपुर–उत्तर प्रदेश), वरुण गान्धी (पीलीभीत–उत्तर प्रदेश), केन्द्रीय मन्त्री सन्तोष गंगवार (बरेली–उत्तर प्रदेश)को पनि आजै भाग्य फैसला हुँदैछ । 

लोकसभा निर्वाचनअन्तर्गत आज तेस्रो चरणको निर्वाचन हुँदैछ, जसअन्तर्गत उत्तर प्रदेशका १०, विहारका ५, जम्मू काश्मिरको १, पश्चिम बंगालका ५, उडिसाका ६, छत्तिसगढका ७, महाराष्ट्रका १४, आसामका ४, दादर नागर हवेलीको १, दमनद्वीपको १, गोवाका २, गुजरातका २६, केरलका २० र कर्नाटकका १४ सिटमा निर्वाचन हुँदैछ । 

सन् २०१४ को निर्वाचनमा यी ११६ सिटमा भाजपा गठबन्धनले ६७ सिट जितेको थियो । कांग्रेस गठबन्धन भने २६ सिटमा मात्रै विजयी भएको थियो ।