राजन मुकारुङ : सृजनशील अराजकता अर्थात् विद्रोही चेतको सर्जक

राजन मुकारुङ : सृजनशील अराजकता अर्थात्  विद्रोही चेतको सर्जक

आशिष पौडेल  |  अन्तर्मन्थन  |  बैशाख ४, २०७८

मानिस केही हुन वा बन्नका लागि राम्रो, ठुलो सम्मानित परिवारको हुनुपर्छ भन्ने रहेनछ भन्नका लागि राजन मुकारुङको नामै काफी छ । सामान्य किसान परिवारमा जन्मेर साहित्यमा जमेको नाम हो राजन मुकारुङ । उहाँको नाम लिइरहँदा साहित्यमा एउटा विद्रोही चेत अथवा सृजनशील अराजकताको नाम लिइएन भने त्यो अपुरो नै हुन्छ । 

सृजनशील अराजकताको सर्जकको सन्दर्भ पढ्नका लागि यो आलेख उपयुक्त हुनेछ । 

पारिवारिक अवस्था

अन्तर्राष्ट्रिय रुपमा किसान भन्दा निकै राम्रो मानिन्छ । तर, नेपालको सन्दर्भमा किसान भन्दा जे बुझिन्छ त्यही नै मेरा बुवा आमा भन्नुहुन्छ, उहाँ । 

जन्म र बाल्यकाल  

२०३१ सालमा भोजपुरको दिल्पा । तर, नागरिकताले उहाँलाई तन्नेरी बनाएको छ त्यो पनि तीन वर्ष । अर्थात्  नागरिकतामा २०३४ साल उल्लेख छ अर्थात् अभिलेखले  २०३४ सालको भनेर चिन्छ  ।  उहाँको दुई जना आमा । उहाँ जेठी आमा तर्फको । उहाँको आमाको तर्फबाट तीन छोरा । जेठो प्रसिद्ध कवि श्रवण मुकारुङ । उहाँ भने कान्छो । 

हिँड्न सक्ने, लट्ठी समाउन सक्ने र वस्तु धपाउन सक्ने भएपछि जाने भनेको गोठालो नै हो, गाउँको बाल्यकालका बारेमा उहाँ भन्नुहुन्छ । अन्य बाहिरी व्यवहार आमाले धेरै हेर्नुपर्ने हुँदा घरभित्रका पिन्ने, छिन्किने अनि भान्छाका काम र ढिकी जाँतो धेरै गरियो उहाँ भन्नुहुन्छ । 

प्रारम्भिक शिक्षा

उहाँको प्रारम्भिक शिक्षा मावली खोटाङस्थित  निर्मलीडाँडामा रहेको मनोकामना माविबाट भएको हो । त्यहाँ कक्षा २ सम्म अध्ययन गर्नु भयाे । त्यसपछि भने बाँकी कक्षा ३ देखि १० सम्म भने आफ्नै जन्म घरमा रहेको अन्नपूर्ण माविमा भएको हो । 

बस्नलाई डेस्क बेन्च राम्रै थिए, कक्षामा झन्डै असी नब्बे जना हुन्थे । यो भने उहाँको माध्यमिक कक्षाको भोगाई हो । महिलाहरूको उपस्थिति पनि ६०/४० मा हुन्थ्यो । शुल्क पनि मासिक अन्दाजी ४०/५० तिरियो होला उहाँ भन्नुहुन्छ । 

विद्यार्थीको कुरा गर्दा उहाँ भन्नुहुन्छ, म विद्यार्थी नै होइन । दुई पटक कक्षा आठको वार्षिक परीक्षा नै नदिएको बताउनुहुन्छ उहाँ । तेस्रो वर्ष परीक्षा दिएर उहाँले पढाई नियमित गर्नुभएको हो । कक्षा कोठाको बेन्च पनि अघिल्लो नै रोज्ने  गर्नु हुन्थ्यो उहाँ।  पढाइको सन्दर्भमा कुरा गर्दा उहाँ भन्नुहुन्छ, सातसम्म राम्रो विद्यार्थी थिएँ, त्यसपछि केही किशोरावस्था सुरु भयो त्यसले प्रभावित गर्‍यो अनि पछि फेरी राम्रो विद्यार्थी भएँ ।

उहाँले २०४९ सालमा एसएलसी दिनुभएको हो । दोस्रो डिभिजनमा पास गर्नुभयो एसएलसी । त्यसपछि उहाँ भोजपुर बहुमुखी क्याम्पसमा भर्ना हुनुभयो । एक वर्ष त्यहाँ पढेपछि उहाँ फेरी  मावली खोटाङस्थित निर्मलीडाँडा तर्फ लाग्नु भयाे  

उहाँ दसैँमा मावली  जानुभएको थियो । तिहारमा देउसी निकाल्दा यसो एक दुईवटा गीत नाच सिकाइदिनुस् भन्ने प्रस्ताव आयो । बिहान बेलुका त यस्तैमा अलमल भयो । अब दिउँसो के गर्ने भन्दा स्कुलमा अलमलिने कुरा भयो । त्यहाँ एक जना सेवारो तामाङ भन्ने नेपाली शिक्षक हुनुहुन्थ्यो । उहाँले कक्षा लिइदिन आग्रह गर्नुभयो, करिब पन्ध्र दिन । अनि उहाँको माग गरे विद्यार्थीले नेपाली विषय पढाउन । विद्यार्थीले अभिभावकसँग कुरा गरे । अनि उहाँ रुचि विना नै यत्तिकै तीन वर्ष शिक्षक हुनुभयो । 

स्कुलमा त्यस बेला गाविस स्रोतबाट तलब खाने शिक्षक अरु पनि थिए । अनि उहाँलाई पनि यसै स्रोतबाट तलब ख्वाउने गरी शिक्षक नियुक्त गरियो । तलब थियो सत्ताइस सय । अनि उहाँले बुझ्नुभयो एकै पटक चौमासिक तलब गरेर झन्डै दश हजार हुन्थ्यो । त्यो पैसा भने आमाले घर व्यवहार गर्दा लागेको ऋण तिर्नमा खर्च भएको बताउनुहुन्छ उहाँ । साथै सिरक पनि किनियो कि ! उहाँ थप्नुहुन्छ । 

काठमाडौँको यात्रा

अनि सुरु भो उहाँको काठमाडौँको यात्रा । हुन त त्यसभन्दा अघि पनि एक पटक उहाँ काठमाडौँ आउनुभएको थियो । तर, त्यो थोरै दिनको लागि थियो । झन्डै दश पन्ध्र दिन । पहिलो पटक भने चतरासम्म झरेर गाडीमा काठमाडौँ आउनु भएको हो उहाँ । दोस्रो पटक भने प्लेनबाट आउनु भयो । किनकि गाडी थिएन, उहाँ भन्नुहुन्छ । 

पहिलो पटक आउँदा बालाजु बसपार्कमा ओर्लनुभएको हो । होलीको दिन परेछ । लोला हान्दै होली खेल्दै रहेछन् काठमाडौँमा । उहाँलाई भने अनौठो लाग्यो । कुनै पनि आफ्नो 'ड्रीम' का रुपमा  काठमाडौँको यात्रा नरहेकोले खासै त्यस्तो केही लागेन। उहाँ भन्नुहुन्छ । 

अहिले पनि कसैले जानाजान हियाएर के गर्‍यो त सृजनशील अराजकताले भन्यो भने त केही हिंस्रक हुनुपर्ला । सुरुसुरुमा त्यस्तो भएको पनि हुनसक्छ ।  अहिले पनि कसैले आदिवासी जनजाति भनेको के हो ? अनि यो आन्दोलन के हो ? भन्यो भने केही प्रतिक्रिया त देखाउनै पर्ला ! अनि देखिन्छ अराजकता उहाँ भन्नुहुन्छ । 

दोस्रो पटक आउँदा भने उहाँले एउटा सपना पनि बोकेर ल्याउनु भएको थियो । उपन्यास निकाल्ने । अनि उहाँ सिधै लाग्नुभयो जेठो दाइ श्रवण मुकारुङको कोठा मैतीदेवी तर्फ । माइला दाइ पनि सँगै बस्नुहुन्थ्यो । 

दोस्रो पटक आउँदा भने उहाँसँग पैसा पनि केही थियो शिक्षक भएर कमाएको । झन्डै तीस पैँतिस हजार । उपन्यासको पाण्डुलिपि पनि लेखेर लिएर आउनु भएको थियो । नाम भने राखिसक्नु भएको थिएन । त्यसलाई साफी पनि गर्दै हुनुहुन्थ्यो । तर यत्तिकैमा गाउँ जानुपर्ने भयो ।  गाउँ गएर फर्केर आउँदा पाण्डुलिपि थिएन । दाइहरूले पुरानो कागज ठानेर फोहोरवालालाई दिइपठाएछन्, उहाँ भन्नुहुन्छ । 

पैसाका कुरा गर्दा पैसा पनि सकियो, उहाँ भन्नुहुन्छ । दाइहरूको पनि जागिर थिएन, कोठा भाडा केही थियो, अन्यत्र केही थियो होला, यसो गर्दैमा सकिएछ, उहाँ भन्नुहुन्छ । पाण्डुलिपि हराइसकेपछि उहाँ केही ठाउँमा जागिर खोज्न जानुभयो । तर, कतै पनि आफ्नो अनुहार भेटिएन, उहाँ भन्नुहुन्छ । त्यसपछि सुरु भयो अलिकति विद्रोही चेत । 

पहिलो कविता सङ्ग्रह  

त्यसपछि २०५६ सालमा उहाँको पहिलो कविता सङ्ग्रह आयो, सेतो आरोहण। अनि उहाँलाई त्यसपछि गोर्खा भूतपूर्व सैनिक सङ्घ (गेसो) को सैनिक आवाज मासिक पत्रिकामा सम्पादकका रुपमा काम गर्ने प्रस्ताव आयो । त्यो जिम्मेवारी उहाँले चार वर्षसम्म निभाउनुभयो । 

त्यहाँ चार वर्ष काम गर्दा तलबी भइयो, हाम्रा मान्छेसँग चिनजान उठबस भयो अनि हामीले जसरी लाहुरे भनेर बाहिरबाट हेर्छौँ त्यस्तो नहुने रहेछ र उनीहरूभित्र पनि अनन्त पीडा, अनन्त आन्दोलन रहेछ भन्ने थाहा भयो, उहाँ भन्नुहुन्छ । अनि हामी पनि आन्तरिक रुपमा उत्तिकै उपनिवेशमा छौँ भन्ने बोध भएपछि त्यसले आयाम नै अर्को बनायो, उहाँ भन्नुहुन्छ । 

त्यसले साहित्यमा पनि अर्कै आयाम बनायो । अनि त्यसपछि उहाँहरूले सृजनशील अराजकता भन्ने अर्कै आन्दोलन थाल्नुपर्ने महसुस गरेर सुरु भो सृजनशील अराजकताको आन्दोलन । 

सृजनशील अराजकता

सृजनशील अराजकता २०५६ को अन्तिम तिर उहाँहरूले सामान्य लेख लेख्दै सुरु भएको आन्दोलन हो । २०५७ भदौ १३ गते उहाँले रूपरेखामा एउटा लेख लेख्नुभयो र जुन आधिकारिक आन्दोलनको रुपमा दर्ज पनि भयो । यसमा अन्य लेख लेख्दै र बहसका रुपमा आन्दोलन अघि बढ्दै गयो । २०५९ सालमा भने यसलाई कार्यपत्रको रुपमा नै पेस गरियो । 

पहिले सृजनशील अराजकता र शालीन विद्रोह भन्ने चल्दै थियो । त्यसमा पहिले पद्म गौतम, शशी लुमुम्बु, अच्युतम भट्टराई (ज्ञानमित्र) हुनुहुन्थ्यो । पछि हाङयुङजी जोडिनु भयो । उहाँले अलि बढी चासो र यसलाई आन्दोलनको रुपमा लिएर अघि  बढ्नुपर्छ भनेर लिन थाल्नु भयो । पछि पदमजी, शशीजी अनि अच्युतजी निष्क्रिय हुनुभयो । 

पछि उहाँ र हाङयुङजीले छलफल गर्दागर्दै उपेन्द्र सुब्बाजी कस्सिएर आउनु भयो, उहाँ भन्नुहुन्छ । पछि उहाँहरूको आन्दोलनको बारेमा कुरो र 'इथिक्स' मिल्यो अनि आन्दोलन अघि बढ्यो । आन्दोलन भनेको यस्तै हो, उहाँ भन्नुहुन्छ । 

यसका बारेमा कार्यक्रम भए, लेखिन थाले, टिका टिप्पणी भयो । अनि देशमा राजनीतिक आन्दोलन पनि सुरु भयो । यसमा उहाँहरू सहभागी हुन थाल्नु भयो । यसरी दुवै आन्दोलनले एउटा नयाँ उचाइ लिंदै गयाे  । 

अराजक तथा विद्रोही चेत युक्त

व्यक्तिगत रुपमा उहाँसँग जसको उठबस र संङ्गत छ उनीहरूले भने उहाँलाई  अराजक मान्दैनन् । राजक भनेको राज्यसत्ताले निर्माण गरिदिएको मानक हो । यो त्यस्तो मानक हो जसले हाम्रो समाजलाई बाँधेर राख्छ । त्यसलाई नभत्काई अगाडि जान सकिँदैन । त्यो भत्काउनका लागि अराजक हुनै पर्छ।, उहाँ भन्नुहुन्छ । 

अहिले पनि कसैले जानाजान हियाएर के गर्‍यो त सृजनशील अराजकताले भन्यो भने त केही हिंस्रक हुनुपर्ला । सुरुसुरुमा त्यस्तो भएको पनि हुनसक्छ ।  अहिले पनि कसैले आदिवासी जनजाति भनेको के हो ? अनि यो आन्दोलन के हो ? भन्यो भने केही प्रतिक्रिया त देखाउनै पर्ला ! अनि देखिन्छ अराजकता उहाँ भन्नुहुन्छ । 

अहिलेको एक्काइसौँ शताब्दीमा सबैको हातमा विश्व छ, अनि आदिवासीको सामाजिक आन्दोलन चलिरहेको छ, जुन पहिचानको आन्दोलन पनि हो अनि यस्तो समयमा आदिवासी आन्दोलन भनेको के हो  ? भनेर कसैले सोध्छ भने त्यो 'वेवकुफी' प्रश्न हो, उहाँ भन्नुहुन्छ । यसै सन्दर्भमा प्रतिक्रिया व्यक्त गर्दा व्यवहार पनि अराजक छ भन्ने कुरा पनि उठे होला, उहाँ भन्नुहुन्छ । 

कति आन्दोलन सृजनाका माध्यमबाट, कतिपय कोठामा बहस गरेर अनि कतिपय मैदानमा ओर्लेर गर्नुपर्ने हुन्छ । साथीभाइले उहाँलाई अलि अराजक, अलि क्षुद्र छ भनेर भन्लान् तर, त्यस्तो होइन उहाँ भन्नुहुन्छ । 

एउटा कवि हृदय भएको मान्छे सृजनाको हिसाबले पक्कै पनि प्रतिरोधी चेत भएको मान्छे हो, उसले प्रतिरोध त गरी नै हाल्छ । कति उसँग भावना हुन्छ, भावत्व हुन्छ भन्ने कुरा त नजिकमा सङ्गत गर्नेलाई मात्र थाहा हुन्छ, उहाँ भन्नुहुन्छ । 

प्रकाशन

हालसम्म उहाँको नौ वटा कृति प्रकाशित छन् । पाँच वटा कविता सङ्ग्रह, एकवटा संस्कार संस्कृति, दुईवटा उपन्यास अनि एक वटा निबन्ध । 

दमिनी भिरको सन्दर्भ   

दमिनी भिर उहाँको मदन पुरस्कार प्राप्त कृतिका बारेमा बजारमा एक प्रकारको भिन्न मत पाइन्छ । खासमा त्यति बेला अरु कुनै कृतिलाई मदन पुरस्कार दिने भन्ने चर्चा चलिरहेको पनि बजारु हल्ला थिए । 

अनि आदिवासी आन्दोलन तथा सृजनशील अराजकताका कारण र फरक मतको पनि कदर गर्नुपर्छ भन्ने सन्दर्भमा दमिनी भिरलाई पुरस्कार दिइएको भन्ने हल्ला पनि नचलेको होइन । तर, उहाँ भने कुनै पनि कृति पुरस्कारका लागि भनेर नलेखिने तथा र यो लेखकले पुरस्कार दिने संस्थामा बुझाउने नभई प्रकाशन संस्थाले बुझाउने कारणले यस्तो नभएको पनि बताउनुहुन्छ । 

सङ्घसंस्थामा संलग्नता 

मुकारुङ हाल आदिवासी लेखक साहित्यकार महासङ्घको केन्द्रीय अध्यक्ष हुनुहुन्छ । किराँत लेखक सङ्घ, किराँत राई लेखक सङ्घ, किराँत राई यायोक्खा लगायतका सङ्गठनमा रहेर काम गरिसक्नु भएको छ । 

२०६२/०६३ को लोकतान्त्रिक स्रष्टा आन्दोलनमा बसेर पनि काम गर्नु भएको छ । लोकतान्त्रिक स्रष्टा आन्दोलन २०७७ को पनि नेतृत्व नै गर्नुभएको छ  भने अनि खुवालुङ आन्दोलनमा पनि भर्खरै संलग्न भएर आउनु भएको छ । 

सम्मान तथा पुरस्कार 

यायोक्खासँग सम्बन्धित ३,४ वटा पुरस्कार प्राप्त गरिसक्नु भएको छ उहाँले । दमिनी भिरले पाएको मदन पुरस्कार, फेरिँदो सौन्दर्य निबन्धले पाएको पहिचान पुरस्कार र यो पुरस्कार पाउने उहाँ नै पहिलो व्यक्ति हो ।  चार पटकसम्म कृतिलाई दिने अनि पाँचौँ पटक व्यक्तिलाई पहिचान पुरस्कार दिने निर्णय भएकोमा यस पटक उक्त पुरस्कार खगेन्द्र सङ्ग्रौलाले प्राप्त गर्नुहुने भएको छ । 

'हेत्छाकुप्पा' उपन्यासको लागि अन्तर्राष्ट्रिय चेली सम्मान लगायत थुप्रै पुरस्कार र सम्मान प्राप्त गर्नुभएको छ, उहाँले । 

अन्त्यमा 

साहित्यको एउटा भावना बोकेको भावयुक्त मानिस आखिर समाजमा रहेको विभेद र अन्यायका कारण एउटा विद्रोही चेतको सर्जक हुन पुग्यो भन्ने कुरा यो आलेखको अध्ययनबाट जानकारी पाउन सकिन्छ ।