मोक्षधामका चार धाममा कलात्मक मन्दिर बनाइँदै

मोक्षधामका चार धाममा कलात्मक मन्दिर बनाइँदै

लोकसंवाद संवाददाता  |  समाज  |  बैशाख ५, २०७८

रुपन्देही । तिलोत्तमा नगरपालिका–६ पश्चिम पहुनीमा रहेको मोक्षधाममा चारधामका कलात्मक नमूना मन्दिर निर्माण गरिने भएको छ । पुराणमा उल्लेख भएअनुसार भारतका बद्रीनाथ, जगन्नाथ, रामेश्वरम र द्वारिका गरी चार धाम तथा नेपालका रामजानकी मन्दिर र लुम्बिनी बौद्ध स्तूप त्यहाँ बन्न लागेको हो । 

पृथ्वीमा स्वर्गको आभास हुने परिकल्पना गरिएको मोक्षधाममा ती धामसहित विभिन्न देवीदेवताका मूर्ति राखिने मोक्षधाम सेवा आश्रमका अध्यक्ष रोमणीप्रसाद पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार  जिल्लाको धार्मिक पर्यटनलाई केन्द्रमा राखेर मोक्षधामको परिकल्पना गरिएको हो । ती ६ धाम निर्माणका लागि करीब  एक अर्ब लागत लाग्ने अनुमान गरिएको छ । 

मोक्षधामको यही वैशाख ११ गते शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ । आयोजना निर्माणस्थलमा ती धाम, मन्दिर र स्तूपका सन्तमहन्त, जनप्रतिनिधि, राजनीतिज्ञ, समाजसेवी लब्धप्रतिष्ठित व्यक्ति, व्यापारी, उद्योगी तथा भक्तजनबाट सामूहिक रुपमा शिलान्यास गर्ने कार्यक्रम तय गरिएको धामका कोषाध्यक्ष नारायण बञ्जाडेले जानकारी दिनुभयोे ।

यसैगरी निर्माण सम्पन्न मुक्तिनाथ मन्दिर, एक हजार १०८ शिवलिङ्ग द्वादश ज्योर्तिलिङ्गसहित विश्वनाथ, पशुपतिनाथ मन्दिर, सन्त निवास ९सत्सङ्ग कक्ष० भवन, वृद्धा तथा बाल आश्रम र सभागृहको उद्घाटन गर्ने कार्यक्रमसमेत तय गरिएको छ । 
    
सनातन वैदिक धर्मावलम्बीको पवित्र तीर्थस्थल निर्माण गर्ने उद्देश्यले २०६८ सालमा मोक्षधामको परिकल्पना गरी २०७२ सालदेखि पूर्वाधार निर्माण शुरु गरिएको थियो । मोक्षधाम सेवा आश्रमले हालसम्म राधाकृष्ण मन्दिर, सत्सङ्गगृह, द्वादश ज्योतिर्लिङ्ग तथा एक हजार १०८ शिवलिङ्गसहितको विश्वनाथ मन्दिर, हवनकुण्ड, अमृत कुण्ड, बाल तथा वृद्धाश्रम, मुक्तिनाथ मन्दिर तथा सभागृह निर्माण गरेको छ । यसमा भौतिक पूर्वाधार निर्माणमा मात्रै करीब  ६ करोड खर्च भएको जनाइएको छ ।